s

तिब्बती शरणार्थीको भिसामा अमेरिका उड्न लागेका एक नेपाली दिल्ली एयरपोर्टमा पक्राउ

Year of Publication: 19 January 2017 | Kantipur 

Publication Type: NEWS

Published by: CESLAM

कमलदेव भट्टराई

एक तिब्बती शरणार्थीको ट्राभल डकुमेन्ट, पासपोर्ट लगायतका कागजातको सहयोग लिएर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उड्न लागेका एक नेपाली नागरिक पक्राउ परेका छन् । 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार तिव्वती शरणार्थी वाङयाल पेमाले नेपाली नागरिक राजेन्द्र गुरुङलाई अमेरिका पठाउन आफ्नो बोर्डिङ पास लगायतका कागजात उपलब्ध गराएका थिए । त्यस वापत गुरुङले तिव्वती शरणार्थीलाई ४० लाख रुपयाँ दिने प्रतिबद्धता गरेका थिए । दुवैलाई प्रहरीले गिरफ्तार गरी सोधपुछ गरिरहेको छ ।

दिल्लीस्थित नेपाली दुतावासले भने यस विषयमा आफूलाई अहिलेसम्म कुनै औपचारिक जानकारी नगराइएको वताएको छ । गुरुङको नेपाली घर कहाँ हो, के गर्थे भन्ने विषयमा विस्तृत जानकारी आएको छैन् । दूतावासले सञ्चारमाध्यममार्फत जानकारी प्राप्त भएको र वुझ्ने काम सुरु गरिएको बताएको छ ।  

सो घट्ना गत आइतवार भएको थियो । प्रारम्भिक अध्ययन अनुसार गुरुङले नक्कली कागजात लिएर हिडिरहेका थिए तर आफूलाई तिब्वती शरणार्थी जस्तो गरी प्रस्तुत गरिरहेका थिए । युनाइटेड एयरलाइन्सका कर्मचारीले त्यसका शंका लागि त्यहाँको सुरक्षा निकायलाई खबर गरेका थिए । उनलाई विमानबाट वाहिर निकाली अध्यागमनको जिम्मा लगाइएको छ । गुरुङ एक महिना अगाडि दिल्ली आएका थिए र ती तिब्बती शरणार्थीसँग चिनजान भएको थियो । 

एयरपोर्टका प्रहरी अधिकृत संचय भटियाका अनुसार गुरुङले अमेरिका पुगेर शरणार्थीको हैसियतमा बस्ने योजना बनाएका थिए । तिव्वतीसँग वैधानिक कागजता भएकाले उनी एयरपोर्ट सजिलै प्रवेश गरेका थिए गुरुङ भने मुम्बई जाने आन्तरिक टिकटबाट त्यहाँ पुगेका थिए र उनीहरुले कागजता आदानप्रदान गरेका थिए । 

दुवै जनाले आफ्नो प्रक्रिया पूरा गरेपछि ट्वाइलेटमा पुगेर कागजात आदानप्रदान गरेका थिए । 

Published on: 19 January 2017 | Kantipur 

Back to list

;