s

ठगिएको रकम फिर्ता लिन चार वर्षदेखि भौतारिँदै

Year of Publication: 16 December 2019 | Nagarik

Published by: CESLAM

कतारमा चिनजान भएका साथी चन्द्रमणि राईले सापटी मागेपछि खोटाङ केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका नरभक्त राईले सहजै पैसा दिए। तर प्रवासमै दुई महिनाका लागि सामान्य कागज गरेर साथीलाई दिएको चार हजार चार सय कतारी रियाल नरभक्तले पाँच वर्ष पुग्न लाग्दासमेत फिर्ता पाउन सकेका छैनन्। पत्नी र छोरी सिकिस्त बिरामी भएर अस्पतालमा छट्पटाइरहेको भन्दै सहयोगका लागि बेडमा सुतिरहेको तस्बिर देखाएर २०१५ फेब्रुअरी १४ का दिन नरभक्तबाट पैसा सापटी लिएका चन्द्रमणि हाल सम्पर्कविहीन छन्।

हालको नेपाली रुपैयाँ करिब एक लाख ३० हजार सापटी लिएपछि सम्पर्कविहीन बनेका चन्द्रमणिबाट पैसा फिर्ता लिन सकस परिरहेको नरभक्तले गुनासो गरे। ‘बिरामी महिला र बच्चाको फोटो देखाएपछि समस्या परेको होला भन्ठानेर सहयोग गरें,’ नरभक्तले भने, ‘अप्ठेरो पर्दा सहयोग गरेको थिएँ। भाका पुगेपछि माग्न थालेको पाँच वर्ष भयो, तर पैसा फिर्ता पाएको छैन।’

वैदेसिक रोजगारीका सिलसिलामा नरभक्त जिएसएस सेक्युरिटी कम्पनीमार्फत सन् २०१३ मा कतार पुगेका थिए। उनीभन्दा केही वर्षअगाडि नै कतार पुगेका चन्द्रमणि र नरभक्तबीच कतारमै चिनजान भएको थियो। परिचयका क्रममा चन्द्रमणिले पनि आफ्नो घर खार्ताम्छा भएको बताएपछि उनीहरूबीच ‘गाउँले’ को सम्बन्ध गाँसिएको थियो। त्यही चिनजानको आधारमा विश्वास गरेर चन्द्रमणिलाई पैसा सापटी दिएको नरभक्तले बताए। तर दुई महिनाका लागि दिएको सापटी पैसा फिर्ता लिने उनको प्रयास पाँच वर्ष पुग्दासमेत पूरा हुन सकेको छैन। गत असोजमा घर फर्किएका उनी हाल पैसा सापटी दिने क्रममा गरिएको कागज बोकेर चन्द्रमणिको खोजीमा हिँडिरहेका छन्।

भाका पुगेपछि पटक–पटक पैसा फिर्ता माग्दा पनि झुलाएपछि नरभक्तले उसबेलै चन्द्रमणिविरुद्ध कतारकै सुप्रिम कोर्ट (सर्वोच्च अदालत) मा मुद्दा हालेका थिए। मुद्दा परेपछि अदालतले चन्द्रमणिलाई खोज्न थाल्यो। अदालतले खोज्न थालेपछि चन्द्रमणि सुटुक्क नेपाल फर्किए। ‘भाका पूरा भएपछि पैसा लिनका लागि धेरैपल्ट भेट गरें। तर जहिल्यै ढाँटछल मात्र गरे। अरू साथीहरुलाई पनि त्यसरी नै दुःख दिएको रहेछन्,’ नरभक्तले भने, ‘कोर्टले खोज्न थालेपछि सुटुक्क नेपाल फर्किएछन्। त्यसयता भेट हुन सकेको छैन।’

सन् २०१५ मा पहिलो छुट्टीमा नेपाल आएका नरभक्तले चन्द्रमणिकै खोजीमा महिना दिन बिताएका थिए। परिचयका क्रममा बताएअनुसार उनी चन्द्रमणिको ससुराली घर कानेपोखरी पनि पुगे। खार्ताम्छाको चोखानेस्थित घर पुगे। कानेपोखरी पुग्दा ससुरालीसँग सम्बन्ध तोडिएको चार/पाँच वर्ष बितिसकेको पत्ता लाग्यो। घरमा बुझ्दा पथरी (कीर्तिपुर) मा आमा र भाइसँग बसिरहेको बताइयो। तर आमा र भाइले धादिङको नौबिसेमा बंगुर फर्म सञ्चालन गरिरहेको जानकारी दिए। नौबिसेमा १५ दिनसम्म खोजी गर्दा पनि चन्द्रमणिको अत्तोपत्तो लागेन। त्यसपछि निराश भएर नरभक्त पुनः कतार फर्किए। ‘पहिलोचोटिको छुट्टी चन्द्रमणिलाई खोज्दैमा बित्यो,’ उनले भने, ‘अहिले घर फर्किएको बेला फेरि चन्द्रमणिको खोजीमा लागेको छु। अहिले पनि नौबिसेभन्दा माथि बंगुर फर्म चलाएर बसिरहेको जानकारी पाएको छु।’परिवारले बताए अनुसार चन्द्रमणि नौबिसेमा बसिरहेका वा अन्यत्र छन् भन्ने टुंगो लागेको छैन।

Published on: 16 December 2019 | Nagarik

Link

Back to list

;