s

ठगीका शृंखला : विदेश जाने सपनाले डुबायो

Year of Publication: 2 April 2015 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

शिव शर्मा

'मकाउ जान भनेर छँदाखाँदा काम छाडें', ल्वाङघलेल कास्कीका मनिराम अधिकारीले भने, 'दलालले सबै पैसा खायो । यता जागिर पनि गुम्यो ।' उनीसहित स्याङ्जाका कमलप्रसाद सुवेदी, पर्वतका विक्रम जिसी, धरानका विकास श्रेष्ठ, लेखनाथका विकास लामासहितले १५ लाख रुपैयाँ बुझाए । सोलुखुम्बु पाङ्ग्रेपानीका ३७ वर्षीय राजबहादुर खत्रीले ठगेको भन्दै उनीहरू गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतमा गुहार माग्न गए । तर, निसाफ पाएनन् । छुट्टीमा मकाउबाट आएको र सँगै एउटै जहाजमा लैजान्छु भन्दै उनले प्रतिव्यक्ति २ लाख ५० हजारका दरले रकम उठाएर भागेको पीडितको आरोप छ ।

'सानोतिनो जागिर अब किन गर्छौ मकाउ जाने भएपछि भन्दै जागिर छुटायो,' अधिकारीले भने, 'अहिले यता न उताको भइयो । हामीलाई न्याय कसले देला ?' आफूलाई दलालसँग भेट गराइदिने ओमप्रकाश दाहाल पनि सम्पर्कविहीन भएको उनीहरूले बताए ।

ठगिएका उनीहरू पाँच जना पैसा फिर्ता कसरी पाउने भन्दै धेरैतिर धाइरहेका छन् । तर, उपाय ननिस्कँदा तनावमा छन् । ऋण खोजेर दिएको पैसाको ब्याज बढेपछि परिवारबाट खप्की खानुपरेको छ । सुरक्षित आप्रवासन परियोजना कास्कीमा उनीहरूले ठगीविरुद्ध कारबाही माग गर्दै उजुरी दिएका छन् । 

क्यानाडामा पनि

नवलपरासीमा राम्रै जागिरे जीवन बिताउँदै आएका एक दम्पतीलाई क्यानाडा लैजान्छौं भन्ने गिरोहले ठगेको छ । जाने लोभमा श्रीमान्ले शिक्षक र श्रीमतीले बैंकको जागिर छाडेका थिए ।

पोखरा बस्दै आएका विक्रम भन्ने लक्ष्मीबहादुर क्षेत्रीले उनीहरूसहित आठ जनालाई झूठो कागज बनाएर लाखांै ठगेको उजुरी परेको छ । मानव अधिकार तथा शान्ति प्रतिष्ठानको लेटरप्याड प्रयोग गरी किर्ते अधिकारकर्मीको किर्ते परिचयपत्र बनाई उनीलाई क्यानाडा लैजाने प्रलोभन दिइएको थियो । 'क्यानाडा जानका लागि अनिवार्य रुपमा संस्थाको टोपी र ज्याकेट लगाएर जानुपर्छ भनेका थिए,' पीडितमध्येका एकले भने, 'पछि पो थाहा भयो, सबै किर्ते रहेछ ।' मानव अधिकारको क्षेत्रमा काम गर्ने उक्त संस्थाले नै किर्ते काम भएको भन्दै राष्ट्रिय पत्रिकामा सूचनासमेत जारी गरेको थियो । परिचयपत्र बनाउनका लागि आठजनाबाट १०/१० हजार उठाएको थियो । लगतै प्रक्रियाका लागि भन्दै प्रतिव्यक्ति ७० हजार रुपैयाँ पनि उठाएको उनीहरूले बताए । प्रतिव्यक्ति १४ लाख रुपैयाँ लाग्ने बताउँदै किस्तामा रकम बुझाउने सर्तअनुरूप १५ लाख रुपैयाँभन्दा बढी रकम उठाएपछि क्षेत्री फरार भएको पीडितले बताए । 'भिसा प्रक्रियाका लागि भन्दै हामी सबैबाट लाखांै रुपैयाँ उठायो तर, नक्कली भिसाको कपी हाम्रो इमेलमा पठायो', पीडितले भने । यस अघि पनि क्यानडा लैजाने भन्दै धेरैलाई फसाएको थाहा पाएपछि उनीहरू सबै छाँगाबाट खसे जस्तो भए । तीन महिनाअघि सबैलाई उड्न पाइने भयो भने मख्ख परेका उनीहरूले ठग सम्पर्कविहीन भएपछि मात्रै आफूहरू ठगिएको चाल पाए ।

आफूहरूलाई फँसे पनि अरुलाई जोगाउन आफूहरू नवलपरासीदेखि पोखरा आएर परियोजनामा लिखित उजुरी दिएको पीडितले बताएका छन् । उनीहरूजस्तै अर्को २० जनाभन्दा बढीको समूह पनि यस्तै क्यानाडा लैजाने भन्नेबाट ठगिएको खुलेको छ । गत भदौमा छिमेकीले उनीहरू सबैलाई ती व्यक्तिसँग भेट गराइदिएका थिए ।

यहाँस्थित सुरक्षित आप्रवासन सामी परियोजनामा यो महिनाभर समूहलाई क्यानाडा, अमेरिका र मकाउ लैजाने भन्दै लाखांै ठगेको पीडितका निवेदनको चाङ छ । अमेरिका लैजाने भन्दै ओखलढुंगा घर भई पोखरा बस्दै आएका विकास क्षेत्री दम्पतीलाई पोखराकै आठ जनाले ठगी गरेको उजुरी छ । सबैबाट गरेर उक्त समूहले कुल ६० लाख रुपैयाँ उठाएको प्रमाण छ । उनीहरूसँग कागजमा दस्तखत गरेर गत असोजभित्र अमेरिका पठाउने र नपठाए रकम फिर्ता गर्ने सर्त राखेका थिए ।

उजुरीको चाङ

इलाका प्रहरी इटहरीमा यस वर्ष ६३ वटा वैदेशिक रोजगारीमा ठगीका उजुरी परेका छन् । रकम लिएर नपठाएको, पासपोर्ट जफत गरेको र खाडी मुलुकमा बिचल्ली बनाएकोजस्ता उजुरी रहेको प्रहरीले जनाएको छ । ठगिएको भन्दै विभागमा गत आर्थिक वर्ष २ हजार ५ सय ५१ उजुरी परेका थिए ।

तीमध्ये प्रारम्भिक अनुसन्धानपछि १ सय २८ व्यक्तिगत तथा ५ संस्थागत गरी १ सय ३३ विरुद्ध विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको थियो । ती मुद्दामा १ अर्ब ३ करोड रकम ठगी भएको दाबी गरिएको थियो । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिनुपर्छ ।

आर्थिक वर्ष २०७०/७१ सम्म १ हजार ३२ संस्थालाई अनुमति दिइएको विभागले जनाएको छ । तीमध्ये ७ सय ५२ संस्था मात्र सञ्चालनमा रहेको जनाइएको छ । गत आर्थिक वर्षमा ५ लाख २७ हजार ८ सय १४ जना रोजगारीका लागि विदेश गएको विभागको तथ्यांक छ । २०७० देखि ०७२ असारसम्म ११ लाख २५ हजार १ सय ३८ जनाका लागि 'पूर्वस्वीकृति' दिएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

विभागको टोलीले वैदेशिक रोजगारीमा जानेका लागि तालिम दिने संस्थामध्ये ९० वटाको अनुगमन गरी अनियमित गर्ने ६५ लाई स्पष्टीकरण सोधेको अनि ५२ लाई निलम्बन गरेको जनाएको छ ।

गत वर्ष वैदेशिक रोजगार विभागको अनुगमन टोलीले इटहरीका म्यानपावर कम्पनी अनुगमन गर्‍यो । टोलीले अनुमति नलिई शाखा सञ्चालन गर्दै आएको कोमल इन्टरनेसनल सर्भिस, हाइट हर्स र मुनालमा तालाबन्दी गर्‍यो । अनुगमन टोलीमा वैदेशिक रोजगार विभागका सूचना अधिकारी बद्रीकुमार कार्कीलगायत संलग्न थिए ।

कोमल र हाइट हर्सले अनुमति नलिई शाखा कार्यालय सञ्चालन गरेको र मुनालले भने फरक एजेन्टको नाममा अर्कै व्यक्तिले कार्यालय सञ्चालन गरेको पाइएकाले गर्दा तालाबन्दी गरिएको कार्कीले अनुमगनका क्रममा बताएका थिए ।

Published on: 2 April 2015 | Kantipur

Back to list

;