s

तालिम दिने संस्था नै खाडी पठाउँछन्

Year of Publication: 20 April 2014 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

घरेलु कामदारलाई अभिमुखीकरण तालिम दिने संस्थाले नै कानुन विपरीत खाडी मुलुक पठाएको खुलेको छ।

सरकारले दुई वर्षअघि खाडीमा घरेलु महिला कामदार पठाउन म्यानपावर एजेन्सीलाई रोक लगाएपछि तालिम संस्थाले पठाउन थालेका हुन्।शारीरिक तथा मानसिक शोषण बढेको भन्दै खाडीमा संस्थागत रुपमा घरेलु महिला कामदारको पठाउन रोक लगाइए पनि व्यक्तिगत श्रम स्वीकृतिमा जान पाइन्छ। त्यसैको फाइदा तालिम दिने संस्थाले उठाएको सरकारी कर्मचारी, कामदार र वैदेशिक रोजगार व्यवसायी बताउँछन्।

प्रति कामदार दुई हजार डलर (१ लाख ९० हजार) सम्म कमिसन आउने हुँदा तालिम दिने संस्थाले गाउँगाउँमा एजेन्ट खटाएर खाडी जाने महिला बटुल्ने गरेको स्रोत बताउँछ। व्यक्तिगत श्रम स्वीकृतिमा खाडी जान महिलाले २१ दिने अभिमुखीकरण तालिम लिनुपर्छ।

खोटाङकी जमुना राई, ३१ ले तालिम लिएर विदेश जान पाइन्छ भनेपछि काठमाडौं आएको बताइन्। ‘विदेश जाने योजना थियो। काठमाडौं बस्ने गाउँकै दाइले तालिम लिएर जानुपर्छ भनेपछि यहाँ आएको,' उनले भनिन्। तालिम दिने संस्थामा विदेशमा काम गर्ने तारिका सिकाएको र कागजपत्र पनि तालिम दिने संस्थाले नै मिलाइदिन्छु भनेपछि पासपोर्ट पनि त्यहीँ बुझाएको उनले बताइन्। संस्थाको नाम कसैलाई नभन्न अह्राएको पनि उनले बताइन्।

अर्घाखाँची बलकोटकी कमला पाण्डे, ३५ ले तालिम लिइसकेको र भिसा आउने बेला भएको बताइन्। उनका अनुसार भिसाको सबै काम तालिम दिने संस्थाले नै गरिदिएको हो।

माउन्टेन मल्टिपल ट्रेनिङ सेन्टर, सामाखुसीमा तालिम लिएकी पाण्डेले पासपोर्टको फोटोकपी र कागजपत्र संस्थाले राखेको बताइन्। ‘भिसा आएपछि सबै कागजपत्र दिने भनेका छन्,' उनले भनिन्। कुवेत जाने तयारीमा रहेकी पाण्डेले आफन्त र एजेन्ट मिलेर भिसा मिलाइदिन लागेको र सबै काम संस्थाले नै गरिदिन्छु भनेको बताइन्।

‘आफूलाई कागजपत्रको काम गर्न आउँदैन संस्थाले नै गरिदिन्छु भनेको छ,' उनले भनिन्, ‘भिसा आएपछि सक्कली मलाई दिएर फोटोकपी घरमा दिने भनेको छ।' अरु धेरै साथीको पासपोर्ट संस्थाले लिएको उनले बताइन्। उनीसँगै माउन्टेनमा ५० जनाले तालिम लिएका थिए। अर्की तालिमे मोरङ मधुमल्लाकी उमा लामाले कुवेत जान तालिम लिएको बताइन्। ‘कुवेत जाने सबै प्रक्रिया संस्थाले नै मिलाइदिन्छ,' उनले भनिन्।

वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङ महिला पठाउने काममा तालिम दिने संस्था संलग्न रहेको बताउँछन्। ‘व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जाने महिलाका लागि न विज्ञापन हुन्छ न म्यानपावरले पठाउन पाउँछ कसरी जान्छन् त? सरकारले सजिलै अनुमान लगाउने कुरा हो यो,' उनले भने, ‘यसमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड पनि संलग्न छ, त्यसको सहयोगबिना यो काम हुनै सक्दैन।'

आकर्षक कमिसन भएकोले सरकारी कर्मचारीको मिलेमतोमा तालिम दिने संस्थाले महिलालाई विदेश पुर्‍याएको तामाङ दाबी गर्छन्। ‘महिला कुवेत पठाउँदा ४ सय ५० कुवेती दिनार कमिसन आउँछ,' उनले भने।

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जान इच्छुक महिलाले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा सूचीकृत १७ मध्ये कुनै संस्थाबाट तालिम लिएको प्रमाणपत्र पेस गर्नुपर्छ। त्यसैका आधारमा वैदेशिक रोजगार विभागले अन्तिम श्रम स्वीकृति दिन्छ।

सम्बन्धित मुलुकको रोजगारदाताबाट आएको मागका आधारमा त्यहाँ रहेको दूतावासले प्रमाणित गरेपछि कामदार विदेश जान पाउँछन्। यो प्रक्रियामा नदेखिने गरी एजेन्ट प्रयोग हुने हुँदा महिला कामदार विदेशमा अलपत्र पर्दा कसलाई कारबाही गर्ने भन्नेमा सरकार अन्योलमै छ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले पनि सरकारले महिला कामदारलाई खाडी पठाउन तालिम दिन लगाउने, भिसा प्रमाणित गर्ने, अन्तिम श्रम स्वीकृति दिने हुँदा उसकै सहयोगमा तालिम दिने संस्थाले कामदार पठाइरहेको बताउँछन्। सरकारले म्यानपावरलाई प्रतिबन्ध लगाएर तालिम दिने संस्थालाई नियमन र अनुगमन नगरी छाडा छाडेकाले महिला कामदार विदेशमा अलपत्र परेको उनले बताए।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका सदस्यसमेत रहेका वाग्लेका अनुसार बोर्डमा ४ सय कामदार विभिन्न मुलुकमा अलपत्र परेको जानकारी आएको छ। केही महिनाअघि साउदीको रोजगारदाता नेपाल आउँदा घरेलु कामदार पठाए दुई हजार डलरसम्म कमिसन दिने आश्वासन दिएका थिए। ‘हामीले नेपालमा प्रतिबन्ध छ भनेर पठाउन सकिँदैन भन्यौं,' वाग्ले भन्छन्, ‘अहिले कमिसनकै लागि संस्थाले गैरकानुनी रुपमा कामदार पठाइरहेका छन्। सरकारको नियमन र अनुगमन छैन।'

१७ वटा तालिम दिने संस्थाले अहिले ८ सय ५० महिला कामदारको तालिम सकिएको र सिकाइको मूल्यांकन हुन नपाउँदा कामदार विदेश जानबाट बन्चित रहेको भन्दै विभाग र मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्।

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुस्करले तालिम दिने संस्थाहरु घरेलु कामदारलाई अझ व्यवस्थित र उनीहरुका समस्या पहिचान गर्नुपर्ने तथा अन्तिम श्रम स्वीकृति खुलाई दिनुपर्ने मागसहित विभागमा आएको बताए।

तालिम दिने संस्थाले श्रम स्वीकृति बन्द हुँदा टाउको दुखाउनु पर्दैन भनेर नकारात्मक जवाफ दिएको उनले बताए। ‘प्रवर्द्धन बोर्डको बैठकमा घरेलु महिला कामदारमा अनेक समस्या देखिएपछि अध्ययन समिति बनाउने र अन्तिम श्रम स्वीकृति बन्द गर्ने निर्णय भएकाले तत्काल बन्द भएको हो। अध्ययन समितिको रिपोर्ट आएपछि नयाँ निर्णय हुन्छ,' उनले भने।

१७ वटा तालिम संस्थाले नयाँ कार्यविधि अनुसार अनुमति लिनुपर्ने भए पनि लिएका छैनन्। ‘घरेलु कामदार अभिमुखीकरण तालिम सम्बन्धी कार्यविधि २०७०' गत माघदेखि लागू भएर त्यस अनुसार इजाजत लिनुपर्ने प्रावधान भए पनि तालिम संस्थाले इजाजत लिएका छैनन्। त्यसअघि निर्देशिकाको आधारमा नियमन हुँदै आएको थियो।

समीक्षा ओरियन्टेसन सेन्टर प्रालि जोरपाटीकी सञ्चालकका सीता देवकोटाले बोर्ड बैठक नै नबसेर संस्था नयाँ कार्यविधि मातहत नआएको बताइन्। ‘हामीले सबै मापदण्ड पूरा गरेर प्रत्येकमा १० लाखभन्दा बढी लगानी गरेका छौं, अहिले अचानक बन्द गर्दा हाम्रो लगानी डुब्छ,' उनले भनिन्।

विदेशमा महिला कामदार अलपत्र पर्दा सरकार उदासीन हुने र अहिले तालिम समेत बन्द हुने हुनाले व्यवसायीलाई असर गरेको उनले बताइन्। ‘हामीले कुनै पनि हालतमा कामदार विदेश पठाउदैनौं। हामीले तालिममात्र दिने हो। त्यसै गरेका छौं,' उनले भनिन्।

माउन्टेन मल्टिपल ट्रेनिङ सेन्टर, सामाखुसीका सञ्चालक खिम भण्डारीले सरकारले नेपालबाट अनुमती रोके पनि कामदार भारतको बाटो हुँदै जाने हुनाले रोक्नुभन्दा पनि नियमन र व्यवस्थित गर्नुपर्ने बताए। सरकारी सहयोग र अवैध बाटो हुँदै नेपाली महिला कामदार घरेलु कामदारको रुपमा कुवेत, लेबनान, बहराइन, कतार, दुबई पुग्ने गरेका छन्। घरेलु कामदारको रुपमा खाडी मुलुक पुगेका महिलाले समयमा र सम्झौता अनुसार तलब नपाएको, शारीरिक र मानसिक यातना सहनु परेको, घरमा सम्पर्क गर्न नपाएको, फर्कन खोज्दा नदिने लगायत समस्या रहेको बताएका छन्।

२१ दिने तालिम दिने संस्था नेसनल इम्प्लोयमेन्ट ट्रेनिङ सेन्टर, चुच्चेपाटी

टपहिल मल्टिपल ट्रेनिङ सेन्टर, सामाखुसी

संगम म्यानेजमेन्ट सर्भिस प्रालि, तीनकुने

ली ट्रेनिङ स्कुल, सिनामंगल

साकुरा एसोसिएट प्रालि, धुम्बाराही

माउन्टेन मल्टिपल ट्रेनिङ सेन्टर, सामाखुसी

आरएन ट्रेनिङ सेन्टर, बसुन्धरा

ओरियन्ट टेक्निकल इन्स्टिच्युट कन्सल्टेन्सी प्रालि, सिनामंगल

मेरापिक मल्टिपल प्रालि, चाबहिल

काठमाडौं इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट, कुपण्डोल

एभिन्युज ट्रेनिङ रिसर्च प्रालि, चुच्चेपाटी

जब ओरिएन्टेड ट्रेनिङ इन्स्टिच्युट, सामाखुसी

इम्प्लोयमेन्ट ट्रेनिङ एन्ड ओरियन्टेसन प्रालि, सामाखुसी

अलराउन्ड वर्ल्ड ट्रेनिङ सेन्टर, सिनामंगल

गोल्डेन म्यानेजमेन्ट सर्भिस प्रालि, सामाखुसी

फारवेस्ट मल्टी स्कुल प्रालि, तीनकुने

समीक्षा ओरियन्टेसन सेन्टर प्रालि, जोरपाटी

Published on: 20 April 2014 | Nagarik

Back to list

;