s

तलब दिन साउदी अदालतको आदेश

Year of Publication: 15 June 2017 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

साउदी अरबको कार्यकारी अदालतले साउदी ओजेर लिमिटेडलाई कामदारको तलब भुक्तान गर्न आदेश दिएको छ । त्यस कम्पनीविरुद्ध तलब माग्दै नेपालीसहित ३१ हजार कामदारले श्रम कार्यालयमा उजुरी दर्ता गराएका थिए । लेबनानका प्रधानमन्त्री साद अल–हैरिरीको पारिवारिक कम्पनी ओजेरविरुद्ध तलब नपाएको भन्दै श्रम कार्यालयमा उजुरी परेपछि साउदी सरकारले यसअघि नै कम्पनीको भुक्तानी रोकेको थियो । 
 
मुलुकका महत्त्वपूर्ण आयोजना निर्माण जिम्मेवारी पाएको उक्त कम्पनी सरकारले रकम भुक्तानी रोकिएपछि संकटमा परेको थियो । कम्पनीले १३ विलियन रियाल तलबभत्ता भुक्तानी गर्न बाँकी छ । ७ महिनासम्म तलब नपाएपछि कामदारले साउदीको रियाद, जेद्दा, मदिनाह, जिजान, हाली र पश्चिम क्षेत्रमा रहेका कार्यालयमा उजुरी गरेका थिए । रियादस्थित नेपाली दूतावासका अनुसार त्यस कम्पनीमा कार्यरत नेपालीको संख्या यकिन छैन । ‘रियाद र जेद्दा क्षेत्रबाट सय जना नेपाली कामदार सम्पर्कमा आएका थिए,’ उपनियोग प्रमुख आनन्दराज शर्माले भने, ‘अन्य क्षेत्रमा रहेका नेपाली सम्पर्कमा आएनन् ।’ 
 
शर्माका अनुसार कामदारहरू व्यक्तिगत रूपमा आफैं वकिललाई मुद्दा लड्ने अख्तियार दिएर स्वदेश फिरेका थिए । ‘यो कम्पनी संकटमा परेपछि ठूलो श्रम समस्या आइपर्‍यो । तुलनात्मक रूपमा अरू देशका भन्दा नेपाली कम थिए,’ उनले भने, ‘हामीले आफ्ना कामदारका विषयमा साउदीको श्रममन्त्रीसमक्ष कुरा राख्यौं । मन्त्रीले कम्पनीको सम्पत्ति बेचेर ऋण भुक्तानी गरेपछि मात्रै तलब भुक्तानी हुने विषय राखेका थिए ।’ 
 
त्यस कम्पनीमा साउदी अरबका सहित ५८ हजार कामदार कार्यरत थिए । ‘निकै कठिन अवस्था आएपछि नेपाली फर्के । केही मात्रै कम्पनी परिवर्तन गरी साउदीमा काम गर्न थाले,’ उनले भने ।
 
यसैबीच, साउदीले बुधबारबाट दिउँसो १२ देखि ३ बजेसम्म बाहिर क्षेत्रमा काम गर्न रोक लगाएको छ । साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले सेप्टेम्बर १५ सम्म दिउँसो काममा लगाउन नपाइने जनाएको हो । साउदीमा झन्डै ५ लाख नेपाली कार्यरत छन् ।
 
Published on: 15 June 2017 | Kantipur

Back to list

;