s

स्वदेश फर्कन पैसा तिर्दै, जेल पस्दै

Year of Publication: 24 September 2011 | Kantipur 

Publication Type: NEWS

Published by: CESLAM

होम कार्की

राम्रो रोजगारको आशामा साउदी अरब पुगेका कामदारले भनेजस्तो काम नपाएपछि स्वदेश र्फकन आफैं रकम खर्चेर मात्र पुग्दैन रहेछ, पैसा तिरेरै जेलसमेत जानुपर्दो रहेछ । मोरङ, विराटचोकका २८ वर्षीय कुमार तामाङजस्ता धेरैले यस्तो नियति बेहोर्दै आएका छन् । 

उनले आफैंलाई जेल हाल्न स्थानीय दलाललाई १४ सय रियाल (२६ हजार रुपैयाँ) बुझाए । साउदी प्रहरीबाट पक्राउ पर्ने बन्दोबस्त मिलाउन उनले दलाललाई 'सम्झौता' बमोजिम पहिलो किस्ता बुझाएका थिए ।
 
'त्यति पैसा बुझाएपछि दमामको निर्धारित समयमा तोकिएको चोकमा बसें । त्यहाँ मैलेजसरी पैसा बुझाएर पक्राउ हुन बसेका ४० जना नेपाली भेटिए,' उनले भने, 'केही बेरपछि प्रहरी आएर ट्रकमा कोच्दै लिएर गयो ।'
 
कुमारले जेल पुगेपछि सम्झौताबमोजिम थप हजार रियाल ती दलाललाई बुझाए । विद्युत् प्राविधिकको काम गर्ने भनेर साउदी गएका कुमारले ग्यास प्लान्टमा कैंची बेल्चा चलाउने, खाल्डो खन्नेजस्ता काम गर्नुपर्यो  । 'मासिक एक हजार रियाल कतै जाँदैन भनेर म्यानपावरले उडाएको थियो तर त्यहाँ पुगेपछि त खाल्डो खन्नुपर्योह,' उनले भने, 'त्यो काममा दुई महिना टिक्नै मुस्किल पर्योह ।' दुःखबाट उम्कने क्रममा उनी अर्को अप्ठ्यारोमा फसे । अर्थात् कानुनी कामदारबाट गैरकानुनी हैसियतमा पुगे । अनि स्वदेश र्फकन पक्राउ पर्न जरुरी भयो, जसका कारण उनले त्यहाँको जेलमा तीन महिना बिताउनुपर्योप । 'भागेर एक वर्षजति बाहिर काम गरेँ । साहूले चार महिनाको तलब पनि दिएन,' काठमाडौं फर्केपछि उनले भने, 'चक्रपथको म्यानपावर कम्पनीलाई एक लाख पाँच हजार बुझाएर गएको थिएँ । न त्यो लगानी उठ्यो, न त श्रमकै ज्याला पाएँ । मेरा लागि वैदेशिक रोजगारी हातमा लाग्यो शून्य भयो ।' 
 
जेल पठाउन दलालको खेल
रियादस्थित नेपाली दूतावासका अनुसार साउदीमा भगौडा नेपाली कामदारको संख्या ८० हजारदेखि एक लाखसम्म पुगिसकेको छ । रोजगारदाता वा 'स्पोन्सर' लाई छाडेर अन्यत्र गएमा कामदारको कानुनी हैसियत सकिन्छ र ती भगौडामा गनिन्छन् । दूतावासका उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेका अनुसार त्यस्ता हैसियतका कामदार स्वदेश र्फकने बेला अनिवार्य जेल जानुपर्छ । 'स्वदेश फिर्न चाहेमा कामदारलाई प्रहरीले सजिलै पक्राउ गर्दैन,' गैरआवासीय नेपाली संघ, साउदी अरबका अध्यक्ष धरम केसीले भने, 'जेल जान पनि लिंक चाहिन्छ ।' पक्राउ पर्ने आशामा साउदीको जेद्दा सहरको पुलमा कैयौं रात कटाएर बसेका नेपाली कामदार पनि छन् । प्रहरीले त्यस्ता पुलबाट पक्रने हुँदा दमाम, रियादबाट समेत जेद्दाको पुलमुनि बस्न जान्छन् । 
 
'मलाई घर आउन मन लागेको छ, म गैरकानुनी भएको भन्दै प्रहरी स्टेसन सीधै गएमा प्रहरीले बेल्ट खोलेर हानिदिन्छ,' भागेर काम गर्दै आएका झापाका केशव घिमिरेले भने, 'प्रहरीले उल्टै पिटेर लखेट्छ ।' यसबाट दलालले राम्रै फाइदा लिने गरेका छन् । प्रहरीसँग राम्रो सम्बन्ध भएका दलालका निम्ति 'जेल हालिदिएबापत कामदारसँग पैसा लिने' कमाउ धन्दा बनेको छ । अझ साहूले उजुरी हालिदिएको भन्दै त्यसलाई फिर्ता लिइदिने निहुँमा थप पैसा माग्छन् । त्यसबारे यथार्थ बुझ्न सक्ने स्थितिमा कामदार हुँदैनन् । 'त्यस्ता दलालले बढीमा १५ दिनभित्र नेपाल उडाइदिन्छु भनेर पैसा लिन्छन्,' तीन महिना जेल परेका कुमारले भने, 'तर भित्र छिरिसकेपछि बाहिर निस्किहाल्ने स्थिति हुँदैन रैछ ।' 
 
दमाममा नेपाली दूतावासलाई सघाउँदै आएका हरिप्रसाद घिमिरेले कामदारले पक्राउ गर्ने निकाय नचिन्दा अनावश्यक रकम तिर्नुपरेको बताए । 'कामदारमा दलालमार्फत पक्राउ परिए छिट्टै घर जान पाउने भ्रम छ,' उनले भने, 'अर्कोतिर गैरकानुनी कामदारलाई पक्राउ गर्ने खास प्रहरी छन्, जसलाई उनीहरू पहिचान गर्न सक्तैनन् ।' 
 
जेलभित्र आ-आफ्नै कथा
पक्राउ परेका अधिकांश नेपाली कामदारलाई रियादस्थित सेन्टर जेल, अलहायर, दमामको एकानम्बे र जेद्दाको विमान जेलमा राखिएको छ । त्यहाँ बस्ने नेपालीको संख्या घटबढ भइरहन्छ । नेपाली दूतावासले पाँच सय कामदारका नाममा टा्रभल डकुमेन्ट जारी गरिसकेको छ । 'हामी बसेको कोठामा मात्रै ३ सय ५० जति थिए,' एकानम्बे जेलमा बसेका रोल्पाका धनबहादुर ओलीले भने, 'सबैगरी नौ सयजति होलान् ।' जेल छिरिसकेपछि बाहिर निस्कने टुंगो हुँदैन । 'स्पोन्सरले उजुरी हाले/नहालेका सबैको छानबिन गर्छ । प्रक्रिया पुर्याेएर अन्तिम टुंगो लगाउन समय लाग्दोरहेछ,' उपनियोग प्रमुख घिमिरेले भने, 'स्पोन्सरले मुद्दा हालिदिएको रहेछ भने त समय झन् लम्बिन्छ ।'
 
साउदीमा औंठाछाप र फोटोसहितको पहिचान व्यवस्था -फिङ्गर सिस्टम) छ । फिङ्गर नमिले स्वदेश आउने भिसा लाग्दैन । कहिलेकाहीं एकजनाको फिङ्गरमा अर्कैको फोटो पनि राखिदिएको हुन्छ । त्यसरी फिङ्गर र फोटो नमिले निकै समस्या खेप्नुपर्छ । जेल छुटेर विमानस्थलमा आइपुगेका रुकुमका नरबहादुर बुढाको फिङ्गरमा अर्काको फोटो भेटिएपछि उनी पुनः जेल जानुपर्योु । 'गल्ती त्यहाँका कर्मचारीबाट भयो, बिनासित्ती सजाय मैले पाएँ,' उनले भने ।
 
जेलभित्र शुद्ध खानेपानी, खाना, औषधि किनेर खान्छन् । 'जेलमा पानी किनेर खानुपर्छ । तीन रियाल पर्ने बिस्कुट र पानीलाई ६ रियाल तिर्नुपर्छ,' ओलीले भने, 'सात महिनामा ६ हजार रियाल सकियो ।' त्यस्तै खाँदाखाँद कैदी राखिएकाले श्वासप्रश्वासमा निकै समस्या हुन्छ । यसले उनीहरूलाई बिरामी बनाउने गरेको छ । एकानम्बेमा हालै एक नेपालीको ज्यान गयो । अर्कोतिर दूतावासले जारी गरेको ट्राभल डकुमेन्ट हात पार्न जेलमा काम गर्ने कामदारलाई अनावश्यक पैसा तिर्नुपर्छ । 'दूतावासका कर्मचारी आएर दिँदैनन्, दूतावासले जेलमा ल्याएर छाडिदिएको हुन्छ । त्यो डकुमेन्ट जेलमा काम गर्ने केरालाबाट बाँडिन्छन् । उनीहरूले २० देखि ५० रियालसम्म लिन्छन्,' तामाङले भने, 'त्यो दिएन भने च्यातेर फालिदिन्छन् ।' 
 
गैरकानुनी कामदारको बढ्दो असुरक्षा 
साउदीमा भगौडा कामदारको संख्या बढ्दो छ । साउदी सरकारले दशकयता त्यस्ता कामदारलाई आममाफी दिएको छैन । गतवर्ष सेटेम्बरमा गैरकानुनी रूपमा बस्दै आएकालाई आममाफी दिने साउदी अरेबियाको घोषणामा 'भागुवा नेपाली कामदार' परेनन् । संख्यात्मक रूपमा हाल वृद्धि भए पनि साउदी सरकारले आममाफी दिने नीति नरहेकाले उनीहरूलाई तुरुन्तै स्वदेश फर्काउने सम्भावना निकै कम छ । जुन कम्पनीमा आएका हुन्, ती कम्पनी छाडेर अर्को कम्पनीमा काम गर्छन् । आफू काम गर्न आएका कम्पनीबाट पाइने तलब तथा अन्य सुविधा, कम्पनीमा गर्नुपर्ने काम सम्झौतामा उल्लेख भएको भन्दा निकै तल्लो स्तरको हुनाले कामदारहरू अलि राम्रो तलब र सेवा सुविधा पाउनेबित्तिकै छाडेर अर्कोमा जाने गर्छन् । श्रम स्वीकृतिमा सावधानी नअपनाइएको, नक्कली एवं फर्जी मागपत्रका आधारमा श्रम स्वीकृतिमा आएका कामदारहरू आएकै दिनदेखि नै भाग्न बाध्य भएको गैरआवासीय नेपाली संघ, साउदी अरबका अध्यक्ष केसीको भनाइ छ । 
 
दूतावासको शरणमा आएका पीडितलाई ट्राभल डकुमेन्ट बनाउनेबित्तिकै पनि साउदी छोड्न अनुमति पाइँदैनन् । त्यसका लागि प्रहरीले सबै प्रकारको छानबिन गर्छन् । कामदारविरुद्ध कम्पनी वा स्पोन्सरले कम्पनीलाई हानि वा क्षति पुगेको तथा अपराध गरेको अभियोगमा मुद्दा हाल्ने गर्छन् । ती अभियोग प्रमाणित भएमा जेल जानुपर्छ ।
 
Published on: 24 September 2011 | Kantipur 

Back to list

;