s

सुजन र बिनुबाट ठगिएकाहरू चार महिनादेखि काठमाडौंमा बन्धक

Year of Publication: 8 June 2023 | Nagarik

Published by: CESLAM

वैदेशिक रोजगारीका सन्दर्भमा नेपालीले नेपालीलाई नै ठग्ने प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ। कामका लागि बिदेसिनुपर्ने नेपाली युवाको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाएका छन्। सिंगापुर पुर्याउने सपना बाँडेर आफूलाई पत्रकार भनेर चिनाउने सुजन आचार्यले ३९ जना बाट १० करोड रूपैयाँ ठगी गरेको पाइएको छ।

तिनै ३९ जनामध्येका चार जना करिब चार महिनादेखि काठमाडौंको एक होटलमा बन्धकको अवस्थामा छन्। काठमाडौंको कोटेश्वरस्थित ओल्ड दरबार होटलमा अछामका मीन अधिकारी र प्रेम साउद, बाजुराका झरेन्द्र सिंह र कैलालीका सुरेन्द्र शाह बन्धक बनेर रहेका हुन्। रोजगारीका लागि आचार्यको प्रतीक्षामा बस्दाबस्दै होटलको बिल बढ्दै जाँदा पैसा तिर्न नसक्दा उनीहरू बन्धक बन्नुपर्ने अवस्थामा पुगेका हुन्।

सिंगापुर पठाइदिने बताउँदै पैसा असुलेका आचार्य सम्पर्कविहीन छन्। ‘ऋण खोजेर ल्याएको पैसा लिएर सुजन आचार्य पनि सम्पर्कमा छैनन्,’प्रेम साउदले भने, ‘ऋण खोजेको पैसा, होटलमा बस्दा खाएको पैसा तिर्न नसक्दा साहुले पनि बन्धक बनाएको छ। हामी चारजना चार महिनादेखि होटलमै बस्न बाध्य छौं।’ चार जनाले होटलमा बसेको र खाएको मात्र साढे ४ लाखजति भइसकेको छ। होटल साहुले उनीहरूका पासपोर्ट, नागरिकता लगायत सबै कागजात लिएका छन्।

‘साहुले भाग्छ भनी बाहिर निस्कन पनि दिएको छैन,’उनले भने, ‘सिंगापुर सपना देखाउने आचार्य पनि सम्पर्कविहीन छन्। १२ लाख ऋणको किस्तासमेत नबुझाएको हुँदा घरपरिवारलाई टर्चर दिइएको छ। एक महिनादेखि म परिवारको सम्पर्कमा पनि छैन।’

उदयपुरको त्रियुगा नगरपालिका–१० मा स्थायी घर भई हाल सिंगापुर बस्दै आएको भनिएका सुजन आचार्यसँग अछामका प्रेम साउदको भेट छिमेकी अनिल अधिकारीमार्फत हुन्छ। वर्षौंदेखि भारतस्थित होटलमा काम गरेर गुजारा चलाउँदै आएका साउदलाई सिंगापुर सपनाले लोभ्याउँछ। सिंगापुरमा आचार्यको आफ्नै होटल कम्पनीमा आकर्षक तलबसुविधासहितको रोजगारी दिने आश्वासनले घर न घाटको भएको साउदले बताए। आचार्यले स्वयं सम्पर्कमा आई सिंगापुरमा मासिक ३ हजारदेखि ४८ सय सिंगापुर डलरसम्म कमाइ हुने भनी साउदलगायत पीडितहरूले थाहा पाएका ३९ जना युवालाई प्रलोभनमा पारेका थिए।

‘ट्राभल हिस्ट्री’ बनाउने भन्दै आचार्यद्वारा भिजिट भिसामा सिंगापुरमा बोलाइएका सातजनामध्ये साउद पनि एक थिए। सिंगापुर पुगेको एक साता नपुग्दै फर्किनुपरेको साउदले दुखेसो पोखे। भारतमा उनको कमाइ राम्रै थियो। सिंगापुरको सपनाले उनको १२ लाख डुबेको छ। १२ लाखमा ४ लाख किस्ताबाट, ६ लाख जग्गा धितोबाट र २ लाख ऋण गरेर आचार्यसहित भक्तपुर घर भएकी आचार्यकै प्रेमिका भनिने बिनु शाक्यलाई पनि पैसा बुझाएको उनी बताउँछन्। आचार्यको भनाइ उद्धृत गर्दै साउदले भने, ‘१०–१५ दिन ओल्ड दरबार होटलमा बस्दै गर्नू, खानबस्न म सिंगापुरबाटै होटलको साहुलाई पैसा पठाएदिन्छु। त्यसपछि सिंगापुरका उडान हुन्छ। अनि त यहाँ रातारात पैसा कमाउने हो।’ यसरी आचार्यको कुरा मान्दै गर्दा केही दिनपछि ढुक्कले सिंगापुरको उडान हुन्छ भने पनि चार महिनादेखि होटलमा बन्धक रहेको साउद गुनासो पोख्छन्। पहिले केही दिनमा नै सिंगापुरको उडान हुन्छ भन्दै पैसा बुझाएका ३९ जनामध्ये चारजनालाई होटलमा बन्धक बनाइराखिएको उनी बताउँछन्।

यसरी नै सिगांपुरे सपनाले बन्धकमा परेका अछामका मीन अधिकारीको समस्या पनि उस्तै छ। उनले पनि सिंगापुर जाने चाहनाले १२ लाख आचार्यलाई बुझाएका थिए। आचार्यले सिंगापुरस्थित एस ग्रुप ग्लोबल कम्पनीको मालिक हुँ भनी विश्वास दिलाएकै कारण अधिकारी फसेका हुन्। अधिकारीले भने, ‘नक्कली र फोटोसप गरिएका कागजपत्र देखाएका रहेछन्। विश्वासमा पर्यौं। कम्पनीले हस्पिटालिटी बिजनेसमा ठुलै लगानी गर्न लागेको र सिंगापुरको पाँच तारे भिलान्द्रो होटलमा पनि आफ्नो सेयर रहेको आचार्यले दाबी गरे,’ उनले थपे, ‘हामीलाई भ्रममा राख्न आचार्यले कुनै छलकपट गर्न बाँकी राखेन। उसले सकेको बुद्धि प्रयोग गरी नराम्रोसँग फसायो। गोरखा, एभरेस्ट र हिमालयनजस्ता नेपाली रेस्टुरेन्ट किन्ने करोडौंको डिल भइसकेको बताउँथे।’

एकपल्ट सिंगापुर पुगेर फर्किंदा ‘ट्राभल हिस्ट्री’ बन्ने, त्यसपछि नेपालमा दुई महिना बस्नुपर्ने, यता बस्दा महिनाको हजार सिंगापुर डलरका दरले दुई महिनाको दुई हजार डलर पाइने, त्यसपछि फेरि सिंगापुर गएर आरामले काम गर्न पाइने आश्वासन आचार्यले दिएको पीडितहरूको भनाइ छ। ‘चाहे जति बाठो मान्छे होस् ! उसले के गरीगरी आफ्नो जालमा पारेरै छाड्थ्यो।

३९ जनामध्ये कोही बाठो थिएनन् होला र? कसले जानी–जानी आफ्नो टाउकोमा बन्चरो हान्छन् र?’ गुनासो गर्दै अधिकारीले भने। दिनकै होटलको बिल बढेर आकाश छोइसकेको छ। प्रायः मानिसलाई दिनको दुई छाक खानुपर्छ। तर यहाँ दिनको एक छाक खाना माग्दा होटल साहुको दैनिक किचलो सुन्नुपर्ने बन्धकमा परेकाहरू बताउँछन्। अधिकारी भन्छन्, ‘न मर्न सकिएको छ न त बाँचेर नै कुनै उपलब्धि भएको छ। कहीँ काम गर्दै ऋण गरेको ब्याज मात्र तिरौं भने कागजात होटल साहुसँगै छ। होटलको कोठाबाट ताल्चा लगाएर बाहिर कतै जान नपाउने। कमसेकम कोठामा कोही हुनैपर्ने।’ तीन जना बाहिर कतै गयो भने होटल साहुसँग १० चोटि होटल बाहिर जानुको उद्देश्य बताउँदै बिन्ती बिसाएर मात्र बाहिर जानुपर्ने। यस्तो नारकीय जीवन बिताइरहेको पीडितहरूको गुनासो छ।

उक्त ओल्ड दरबारको होटल कोठामा बन्धकमा परेका चारजनामध्ये कैलालीका सुरेन्द्र शाह पनि बिचल्ली अवस्थामा साउद र अधिकारीको व्यथासँग मिल्दो छ। यो चक्करमा उनले पनि १२ लाख डुबाएका छन्। ‘आकर्षक कमाइ हुने लोभमा जग्गा धितो राखेर ऋण निकाल्यौं, गरगहना बेच्यौं, कतिपयले त जग्गा नै बेच्नुपर्योे, कसैले सहकारीबाट ऋण काढ्यौं,’शाह भन्छन्, ‘पैसा बुझाएको एक सातामा सिंगापुर उडाइदिने भनेकोमा एक वर्ष भइसक्दा पनि हुन्छहुन्छ भन्नेबाहेक कुनै काम भएन।’ उनीहरूमध्ये केहीले बिनु शाक्यको नेपालस्थित इन्भेस्टमेन्ट बैंकको खातामा रकम राखिदिएको बताए। ठगीमा संलग्न उनी पनि लुकेर प्रेमी आचार्यसँगै सिंगापुरमै बसेको बन्धकमा परेका पीडितहरूको दाबी छ। २०७९ सालयता विभिन्न समयमा आचार्यले ३९ जनाबाट जनही ७ लाखदेखि २० लाखसम्म उठाई १० करोड रूपैयाँ असुलेको पीडितहरूको दाबी छ।

ओल्ड दरबार होटलका सञ्चालक राजन अधिकारी हुन्। आचार्यसँग व्यक्तिगत रूपमा चिनजान नभएको र बस्दै आएका पीडितहरूमार्फत आचार्यसँग एकाधपटक सामाजिक सञ्जालबाट संवाद भएको सञ्चालक अधिकारीको भनाइ छ। आचार्यले ‘ती केटाहरूले होटलमा खाएको–बसेको पैसा आधी घन्टामा हालिदिन्छु, भरे तपार्इंको खाता नम्बरमा पठाइदिन्छु, भोली त पक्का हाल्छु, एकैचोटि दुई चार लाख नै हालिदिन्छु भन्दै चार महिना बिताइसकेको होटल सञ्चालक अधिकारी बताउँछन्। ‘नेपालमा आर्थिक मन्दी लागेको बेला पाहुनालाई घरमा लगेर साता दिन पाल्न त सकिँदैन भने मैले आफ्नो व्यवसायलाई घाटामा राखेर चार महिना बिनापैसा पालेको छु,’ सञ्चालक अधिकारीले गुनासो गरे।

त्यस्तै आचार्यले आफ्नो क्षणिक फाइदाका लागि ३९ जनाबाहेक उनीहरूका परिवार, पीडितहरूलाई ऋण दिएका व्यक्ति, संस्थालगायत होटल साहु पनि मर्कामा परेका छन्। तर आफूलाई कान्छो पत्रकारका रूपमा परिचित गराउने आचार्य भने अहिलेसम्म फरार रहेको पीडितहरूको गुनासो छ। आचार्य पहिले पनि ठगी, हीरा काण्ड र ब्ल्याकमेलिङजस्ता आरोपमा पक्राउ परी छुटिसकेका व्यक्ति हुन्। यसअघि योजनाबद्ध तरिकाले पीडितलाई पटकपटक फोन गरी तथा प्रत्यक्ष भेटेर डर, धम्की तथा त्रास देखाई ७ करोड रूपैयाँ माग गरेको अभियोगमा गत वर्ष जेठको दोस्रो सातातिर सातजना पक्राउ परेका थिए, जसमा आचार्य पनि एक हुन्।

ठगीको आरोप लागेका आचार्यविरुद्ध इन्टरपोलद्वारा दुईपटक पक्राउ पुर्जी जारी भइसकेको छ। तर अहिलेसम्म उनी पक्राउ परेका छैनन्। गत चैत २६ गते पहिलोपटक र जेठ १२ गते दोस्रोपटक इन्टरपोलद्वारा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। आचार्यविरुद्ध वैदेशिक रोजगार विभाग तथा नेपाल प्रहरीमातहतका विभिन्न कार्यालयहरूमा पनि उजुरी परेको पीडितहरूले बताए। यति हुँदाहुँदै आचार्य किन पक्राउ परेका छैनन् भनेर पीडितहरू आश्चर्यमा परेका छन्। आचार्यलाई शक्तिशाली व्यक्तिहरूबाट संरक्षण रहेको आशंका उनीहरूको छ। आचार्यलाई तत्काल कारबाही गरी कानुनी दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ।

वैदेशिक रोजगारीका लागि ठग्ने व्यक्ति र ठगिने व्यक्ति आपसमा ठोक्किने प्रवृत्ति अत्यधिक रूपमा बढेको छ। नेपालमा रोजगारीको समस्या रहेका कारण समस्यामा परेकाहरूबाट नै फाइदा उठाउने व्यक्तिहरू झन् धेरै छन्। यसरी विदेश जाने क्रममा धेरै जना ठगिएका छन्। पीडितहरू कसैले विश्वासमा परेर कसैले प्रलोभनमा परेर पैसा दिन्छन्। लामो समय बितेपछि मात्र आफू ठगिएको उनीहरूलाई थाहा हुन्छ। नेपालीलाई स्वदेशमा बस्ने अवस्था सिर्जना नभएपछि विदेश जान पनि सहज छैन।

Published on: 8 June 2023 | Nagarik

Link

Back to list

;