s

स्थिर कोमाका बिरामी लैजाऊ : कतार

Year of Publication: 3 October 2019 | Kantipur

Published by: CESLAM

होम कार्की

कतारको हमाद मेडिकल कर्पोरेशनले स्थिर अवस्थामा रहेका कोमाका बिरामीलाई नेपाल फर्काउन पुनः नेपाली दूतावासलाई अनुरोध गरेको छ । हमादले आफ्नो अनुरोधलाई स्वीकार नगरेमा माथिल्लो तहबाट पहल थाल्ने बताएको छ । हमादमा १६ जना नेपाली स्थिर कोमामा छन् । हमाद मेडिकल कर्पोरेशनको जनसर्म्पक र बजार विभागका सहायक कार्यकारी निर्देशक साद अल दोसरी र काउन्सेलर लक्ष्मण खनालको नेतृत्वको बीचको बैठमा लामो समयसम्म हेरचाह गर्नुपर्ने बिरामीलाई राख्ने स्थान नभएको भन्दै तुरुन्तै लैजाने प्रबन्ध मिलाउन दूतावासलाई आग्रह गरेको हो। हमादको आग्रहपछि सरकारसँग छलफल गरी दूतावासले जवाफ दिने बताएको छ। ‘अस्पतालको क्षमता सिमित भएको तथा नयाँ बिरामीको चाप बढेको हुनाले स्थिर अवस्थामा रहेका नेपाली बिरामीलाई नेपाल लैजाने व्यवस्थाका लागि सहजीकरण गरिदिन दूतावासलाई पुन: अनुरोध गरेको छ,’ दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ,‘ दूतावासलाई निरन्तर अनुरोध गर्दा समेत यस विषयमा ठोस प्रगति हुन नसकेको र दूतावासबाट यस विषयमा प्रगति नभए माथिल्लो स्तरमा कुराकानी गर्नुपर्ने बाध्यता आइपर्नेछ।’ नेपाल सरकारलाई ती बिरामीलाई नेपालको उपयुक्त अस्पतालमा सिट उपलब्ध गराइदिन अनुरोध गरिएको छ।

हमादले बिरामीलाई नेपाल लैजान लाग्ने खर्च, एक हप्तासम्म लाग्ने अस्पतालको खर्च, चाहिने मेडिकल सामग्री र एक महिनासम्मको औषधीको खर्च अस्पतालले कम्पनीसँग समन्वय व्यवस्थापन गरेको छ। हमादले कोमा बिरामीका परिवारलाई सिधै सर्म्पक गरेको थियो। तर, परिवारबाट आवश्यक समन्वय र सहयोग नपाएको भन्दै दूतावासलाई दबाब बढाएको हो। हमादले बिरामीलाई तत्काल नेपाल लैजान सकिने, परिवारको अख्तियारनामा प्राप्त पश्चात नेपाल लैजान सकिने र आपांगताको अन्तिम प्रतिवेदन आइसकेपछि नेपाल लैजान सकिने भन्दै तीन तहमा वर्गीकरण गरेको छ।

तत्काल नेपाल लैजान सकिने बिरामीमा राजाराम चमार, भीमबहादुर थापा मगर, छविराज आले, अभिषेक कुमाल, दिनेश कुमार चौधरी र श्याम पसी रहेका छन। यी बिरामीको मेडिकल मुद्दा र बिमा छैन। उनीहरुका कम्पनीले उपदान, बिरामी बिदा र तलबको रकम दिन मात्रै जिम्मेवार हुने बताइएको छ। परिवारको अख्तियारनामा प्राप्त भएपछि लिलाराम सापकोटा, देवेन्द्रकुमार थापा, ओमबहादुर खुमहाल, सर्वेन्द्र घिसिङ र दिनेशकुमार राई हुन्। सापकोटा सडक दुर्घटनामा परेका हुन्। खुमहाल, घिसिङ र राई कार्यस्थलमा दुर्घटना भई गम्भीर अवस्थामा छन्। यी बिरामीको अपांगतासम्बन्धी अन्तिम स्वास्थ्य प्रतिवेदन तयार भइसकेको छ। जसको बिमाको प्रतिशत तोकिएको छ। परिवारबाट अख्तियारनामा हालसम्म प्राप्त भइसकेको छैन। अख्तियारनामा प्राप्त भएपछि बिरामीको उपस्थितिबिना नै दूतावासले बिमाको लागि प्रक्रिया अगाडि बढाउन सक्नेछ।

कार्यास्थल र सडक दुर्घटनामा परी अपांगता भएका भरतराम लावङ, सुवेन्द्र घिसिङ, मनराज डाँगी लियामत कवारी र उपेन्द्र पाश्वानको अपांगताको अन्तिम प्रतिवेदन आइसकेको छैन। यी रिपोर्टको लागि बिरामी आफैँ उपस्थिति हुर्नुपर्नेछ। बिमा दाबीका गर्नको लागि स्वास्थ्य प्रतिवेदन प्राप्त नभएसम्म कतारमै रहनुपर्ने दूतावासले जनाएको छ। १० वर्षदेखि कोमामा रहेका झापाका श्रीबहादुर नेवाङको समेत अन्तिम स्वास्थ्य रिपोर्ट प्राप्त भइसकेको छैन। उनको दुर्घटनाको प्रहरी प्रतिवेदन, मेडिकल रिपोर्ट प्राप्त नभएकोले कतारमै राखिएको हो।

Published on: 3 October 2019 | Kantipur

Link

Back to list

;