s

सोमबारदेखि पुनः उद्धार

Year of Publication: 16 August 2020 | Nagarik

Published by: CESLAM

मिनराज भण्डारी

सरकारले भोलि (सोमबार) देखि पाँचौं चरणको उद्धार उडान सुरु गर्दैछ। कोभिड–१९ महामारीले विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउन सरकारले दुई स्वदेशीसहित विदेशी विमान कम्पनीलाई दैनिक पाँच सय यात्रु बोक्न पाउने गरी उडान अनुमति दिएको हो।

भदौ १५ सम्म उडान भर्ने गरी नेपाल वायुसेवा निगमले १७ र हिमालय एयरलाइन्सले १५ उडानको अनुमति पाएको छ। 

त्यस्तै, युरोप र अमेरिकामा अलपत्र नेपालीलाई स्वदेश फर्काउन सिल्क, मालिन्दो, कतार, फ्लाई दुबई, जजिरा, इतिहाद, कोरियन र एयर अरेबियाले ११ उडानको अनुमति पाएका छन्।

स्वदेशी विमान कम्पनीले सार्वजनिक गरेको तालिका अनुसार नेपाल एयरलाइन्सले भदौ १ गते दुबई, २ गते दोहा, ३ गते मलेसिया उडान भर्नेछ। त्यस्तै, ४ गते दमाम, ६ गते कुवेत र ७ गते जेद्दा उड्ने तालिका छ। 

त्यस्तै, ८ गते दोहा, ९ गते दुबई र १० गते १२ गते रियाद उडान हुने निगमले जनाएको छ। ११ र १३ गते दुबई, १४ गते नारिता र दोहाको उडान छ। १५ गते दुबई र १२ गते रियादको उडान हुनेछ। 

हिमायल एयरलाइन्स साउन ३२, भदौ २ र ४ गते मलेसिया उड्नेछ। भदौ १, ७ र १३ गते दोहा तथा भदौ ३, ६, ९, ११ गते दमाम उडान हुनेछ। हिमालयले भदौ ५ गते कुवेत र भदौ ८, १०, १२, १४ गते अबुधाबी उडान गर्नेछ। 

सरकारले यसअघि भदौ १ देखि व्यावसायिक उडान खोल्ने तयारी गरे पनि कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै हाललाई भदौ १६ सम्म सारेको छ। 

पर्यटन मन्त्रालयका अनुसार अब हुने उद्धार उडानबाट स्वदेश फर्कनेले अनिवार्य रुपमा न्यूनतम सात दिन क्वारेन्टिन बस्नुपर्ने छ। क्यारेन्टिनको खर्च र स्वदेशमा हुने यात्रा खर्च स्वयंले बेहोर्नुपर्ने छ। स्वदेशमा पिसिआर परीक्षण भने सरकारले गराउने मन्त्रालयले जनाएको छ। 

जेठ अन्तिमदेखि सुरु भएको उद्धार उडानमार्फत हालसम्म साढे ५१ हजार नेपाली स्वदेश फर्केका छन्। छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का अनुसार साउन ३० गतेसमम्म ५१ हजार चार सय ४१ जनाको उद्धार गरिएको छ।

Published on: 16 August 2020 | Nagarik

Link

Back to list

;