s

सीप सिक्नै चाहँदैनन् बिदेसिने कामदार

Year of Publication: 26 January 2018 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

रुद्र खड्का

४० जनालाई निःशुल्क गार्मेन्ट तालिम लिन पटकपटक प्रयास गर्दा आवश्यक संख्या नजुटेपछि ललितपुरमा रहेको सुवर्ण मल्टिपल ट्रेनिङ सेन्टरले २६ जनाबाटै केही दिनअघि उक्त तालिम सुरु गर्यो ।

काम गर्न बिदेसिनेलाई दक्ष बनाउन सुरक्षित आप्रवासन (सामी) परियोजनाको सहयोगमा उक्त ट्रेनिङ सेन्टरले गार्मेन्टसम्बन्धी सीप निःशुल्क सिकाउने मात्र नभई बस्ने, खाने व्यवस्था गरेको सूचना पटकपटक सार्वजनिक सञ्चार माध्यमबाट जारी गर्दा पनि आवश्यक संख्या पुगेन । ‘निःशुल्क सीप सिकाउनुको साथै खाने, बस्नेसहित ४० जनालाई सहयोग गर्ने अवस्थामा थियौं,’ ट्रेनिङ सेन्टरकी संयोजक सोनाली ताम्राकारले भनिन्, ‘प्रशिक्षार्थी जुटाउन विभिन्न सञ्चार माध्यममा सूचना जारी गर्नेदेखि लिएर सामीले कार्यक्रम सञ्चालन गरिरहेका १६ जिल्लाका सूचना केन्द्रमा समेत बस्ने, खानेसहित निःशुल्क तालिमबारे खबर पुर्यायौं । तैपनि आवश्यक संख्या जुटेन ।’
 
वैदेशिक रोजगारीमा जाने कामदारले आवश्यक सीप नसिक्दा एकातिर राम्रो पारिश्रमिक पाउन नसकेको र अर्कोतर्फ जोखिमका घटना बढेको गुनासोबीच कामदारलाई दक्ष बनाउन सुरु गरिएका तालिममा सरोकारवालाकै आकर्षण देखिएन । वैदेशिक रोजगारीमा जान मरिहत्ते गर्ने युवायुवतीलाई निःशुल्क सीप सिकाउन खोज्दा इच्छुक व्यक्ति फेला नपरेपछि तिनलाई कसरी दक्ष बनाउने भन्नेमा चुनौती थपिएको सम्बद्ध अधिकारी बताउँछन् ।
 
श्रम विज्ञहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सम्बन्धित कामको सीप अनिवार्य हुनुपर्ने आवश्यकतामा जोड दिइरहेको बेला खाने, बस्नेसहित निःशुल्क तालिम दिन खोज्दा त्यस्ता तालिममा सीप सिक्न न्यून संख्याको आकर्षण भइरहेको पाइएको हो । सुवर्ण मल्टिपल ट्रेनिङ सेन्टरकी संयोजक ताम्राकार सामीको सहयोगमा गार्मेन्टको तालिम निःशुल्क हुने मात्र नभई रोजगारीका लागि जोर्डन जाने महिलाको लागत खर्चसमेत शून्य हुने व्यवस्था मिलाइएको बताउँछिन् । ‘रोजगारीका लागि जोर्डन जाने महिलालाई तालिम निःशुल्क हुने मात्र नभई जोर्डन जाँदासम्म एक रुपैयाँ खर्च हुँदैन भनिरहेका छौं,’ सामी परियोजनाकी व्यवसायिक सीप विकास अधिकृत सुनिला बनियाँ भन्छिन्, ‘बढी भन्दा बढी महिलाको वैदेशिक रोजगारी सुरक्षित र उपलब्धिमूलक होस् भनेर गरिएका प्रयासमा समेत उनीहरूको खासै चासो देखिएको छैन ।’
 
बस्ने, खानेसहितको निःशुल्क तालिममा सहभागी नभएका महिला भने दलालको प्रलोभनमा परेर वैदेशिक रोजगारीमा जाने क्रम जारी रहेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो समयमा वर्षमा १८ हजारभन्दा बढी महिला रोजगारीका लागि विभिन्न गन्तव्यमा जाने गरेका छन् । तीमध्ये अधिकांश सीप नसिकी जाने गरेको पाइएको छ । चालु आर्थिक वर्षको ६ महिनामा (साउन–पुससम्म) श्रम स्वीकृति लिएर ११ हजार पाँच सय महिला बिदेसिएका छन् ।
 
सामी परियोजनाकी टिम लिडर सीता घिमिरे महिलालाई वैदेशिक रोजगारीमा समस्या नहोस् भनेर निःशुल्क तालिममा बढीभन्दा बढीलाई सहभागी गराउन खोजे पनि आवयश्क संख्या भेट्न सधैं गाह्रो हुने गरको बताउँछिन् । उक्त परियोजनाले सन् २०१४ यता गार्मेन्ट, मेसन, सटरिङ लगायतका क्षेत्रमा एक हजार दुई सयलाई निःशुल्क तालिम दिइसकेको जनाएको छ । घिमिरेले निःशुल्क तालिम लिन खोज्नेको चाप बढ्ने हो भने केही संख्या वृद्धि गर्न गाह्रो नभएको बताइन् । जोर्डनमा गार्मेन्टको काम गर्न जाने महिलालाई थप प्रतिस्पर्धी बनाउन परियोजनाको सहयोगमा ट्रेनिङ सेन्टरले विदेशबाट प्रशिक्षक बोलाएर तालिमलाई थप सशक्त बनाएको उनले बताइन् । तालिममा गार्मेन्ट बनाउनेदेखि लिएर अंग्रेजी, हिन्दी भाषासमेत सिकाउने गरिएको छ ।
 
कुनै सीप नसिकी घरेलु कामदारमा जाने महिलालाई सीप सिकाएर पठाउन खोज्दा निकै कमले चासो दिएपछि महिला कसरी मेनपावर र दलालको फन्दामा परेका रहेछन् भन्ने पुष्टि भएको तालिम सञ्चालक बताउँछन् । ‘बरु महिला ५०–६० हजार रुपैयाँ मेनपावर र दलाललाई दिन तयार हुन्छन् । एक महिनाको निःशुल्क तालिम दिन खोज्दा वास्ता गर्दैनन्,’ बनियाँले भनिन्, ‘हामीले मात्र सीप सिकाउनुपर्छ भनेर केही नहुने रहेछ ।’
 
जोर्डनमा गार्मेन्टको काम गर्न जाने महिलाले निःशुल्क तालिम लिन ५ कक्षासम्म अध्ययन गरेको भए पुग्छ । केही महिनाअघि नेपालले जोर्डनसँग द्विपक्षीय श्रम सम्झौता गरेकाले त्यहाँको रोजगारी सुरक्षित मानिन्छ । निःशुल्क तालिम सञ्चालन गर्न सहयोग पु¥याइरहेको सामीकी टिम लिडर घिमिरेले काठमाडौंमा पाँचवटा ट्रेनिङ सेन्टरमा निःशुल्क तालिमको व्यवस्था मिलाइएको र जोर्डन जानेले एक रुपैयाँ पनि लगानी गर्नु नपर्ने बताइन् । एक महिनाको निःशुल्क तालिम लिएका महिलाले जोर्डनमा खाने र बस्नेबाहेक महिनामा करिब ३५ हजार रुपैयाँ पारिश्रमिक पाउने गरेको बताइएको छ ।
 
सोही तालिम केन्द्रमा गार्मेन्टको सीप सिकाउँदै आएकी प्रशिक्षक पनिसा गुरुङले तालिम नलिईभन्दा लिएर जाँदा निकै प्रभावकारी हुने बताइन् । ‘म पनि रोजगारीका लागि दुई वर्ष जोर्डनमा बसेर फर्केकी हुँ,’ उनले भनिन्, ‘मेरो अनुभवमा सीप सिकेर जाँदा काममा निकै सहज हुन्छ । तर, नेपालमा सीपको महŒव नबुझेको देख्दा अचम्म लाग्छ ।’
 
तालिममा सहभागी महिलाले तालिम लिन पाएपछि थुपै्र नयाँ कुरा सिकेको बताए । आमा बिरामी परेकाले वैदेशिक रोजगारीमा जान खोजेको बताउने मकवानपुर, फापरबारीकी रितु मोक्तानले गार्मेन्ट तालिमले मेसिनमा बस्दा अपनाउनुपर्ने सुरक्षादेखि छिटोछरितो काम गर्ने तरिकासम्म जानेको बताइन् ।
 
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले तालिमबारे एकथरि युवा जमातले आवश्यकता महसुस गर्ने र अर्कोथरिले चासो नदिँदा समस्या भइरहेको बताउँछन् । निःशुल्क तालिम उपलब्ध गराउँदासमेत चासो नभएपछि सरकारले वैदेशिक रोजगारीमा जाने जतिलाई सम्बन्धित कामको सीप अनिवार्य गर्नुुपर्ने उनको भनाइ छ । ‘वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप आवश्यक छ भनेरै बोर्डले विदेश जाने कामदारले अनिवार्य सीप सिक्नुपर्ने व्यवस्था गरी कार्यविधि तयार गरेका छौं,’ काफ्लेले भने, ‘जुन कार्यविधि मन्त्रालयमा पुगेको छ । स्वीकृत हुनेबित्तिकै कार्यान्वयनमा ल्याउँछौं ।’
 
Published on: 26 January 2018 | Nagarik

Back to list

;