s

शून्य लागतमा रोजगारी

Year of Publication: 19 December 2019 | Annapurna Post

Published by: CESLAM

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले शून्य लागतमै वैदेशिक रोजगारीमा पठाउने बताएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा अन्तर्राष्ट्रिय श्रम संगठनले आयोजना गरेको नेपालका आप्रवासी कामदारसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री यादवले सबै देशमा शून्य लागतमै नेपाली कामदार पठाउने गरी श्रम सम्झौतामा प्राथमिकता दिइएको बताए। श्रम सम्झौताका लागि आधा दर्जनभन्दा बढी देशसँग प्रक्रिया अघि बढेको छ। ‘रोजगारदाताले नै सम्पूर्ण खर्च बेहोर्ने गरी शून्य लागतमै सम्झौता भइरहेका छन्’, उनले भने,‘आगामी दिनमा पनि उक्त अभियान अघि बढ्नेछ।’

मन्त्री यादवले सीप सिकाएर दक्ष कामदार उत्पादन गर्ने सरकारको रणनीति भएको बताए। ‘दक्ष जनशक्ति उत्पादन गर्न सीपमूलक तालिममा प्राथमिकता दिएका छौं’, उनले भने। फर्किएका कामदारको सीप प्रयोग गरेर आर्थिक उत्पादनमा लगाउने उनले बताए। राष्ट्रिय योजना आयोगका सदस्य डा.रामेश्वर फुयाँलले रेमिट्यान्स आर्थिक विकासको मेरुदण्ड भएको बताए। रेमिट्यान्सको सही सदुपयोगले अर्थतन्त्रले छिट्टै फड्को मार्ने उनको भनाइ थियो।

श्रमविज्ञ डा.गणेश गुरुङले कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा महत्वपूर्ण भएको बताए। घरेलु कामदारको नीति परिवर्तन भइरहदा अन्योल बढेको उनको भनाइ छ। यूएन नेपाल प्रतिनिधि भ्यालरी जोलियनले सानो उमेरमै वैदेशिक रोजगारीमा जाने क्रम बढेको भन्दै चुनौती बढेको बताए। रेमिट्यान्स आर्थिक इन्जिनको रूपमा रहे पनि कामदारमाथि न्याय प्रदान गर्न नसकेको उनले बताए। सीप नसिकेर वैदेशिक रोजगारीमा जा नहुने उनको भनाइ छ। ‘स्वदेशमै उद्यम गर्ने वातावरण बनाउनुपर्छ’, उनले भने। अन्तर्राष्ट्रिय आप्रवासी संगठन नेपालका प्रमुख लोडिसा न्यान्डेले आप्रवासी नेपाली कामदारको हितका लागि रणनीति बनाएर अघि बढ्नुपर्ने बताइन्। आर्थिक विकासको प्रमुख अंग रेमिट्यान्स भए पनि उपभोगमै सीमित भएको उनको भनाइ छ।

Published on: 19 December 2019 | Annapurna Post

Link

Back to list

;