s

शून्य लागतमा खुल्यो मलेसियाको रोजगारी, के–कस्ता सुविधा पाउँछन् नेपाली कामदारले?

Year of Publication: 16 September 2019 | Setopati

Published by: CESLAM

१५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी आजदेखि खुलेको छ। अब मलेसिया जाने कामदारले कुनै पनि शुल्क तिर्नु नपर्ने भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सिद्धान्त अनुसार नेपाल र मलेसियाबीच निशुल्क कामदार लैजाने विषयमा समझदारी भएको थियो। सोही समझदारीअनुसार मलेसियाले आजबाट श्रम स्वीकृति लिन थालेको हो। नेपाल र मलेसियाबीच भदौ २४ र २५ मा मलेसियाको पुत्रजयामा सम्पन्न भएको सम्झौता अनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाइ टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्क, सुरक्षा जाँच शुल्क लगायतका खर्चहरु सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्नेछ।

सम्झौता अनुसार यसअघि नेपाली कामदारबाट उठाइँदै आएको लेभी शुल्क पनि नलाग्ने भएको छ। कामदारको पारिश्रमिक प्रत्येक महिनाको ७ गतेभित्र रोजगारदाताले बैंक खाता मार्फत भुक्तानी गर्नु पर्नेछ। मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने छन्। अतिरिक्त समयमा काम गरेवापत थप पारिश्रमिक एवं सेवा सुविधा प्राप्त हुने सहमति पत्रमा उल्लेख छ। कामदारको बस्ने खाने व्यवस्था पनि कम्पनीले आफैले गर्नेछ । नेपाली कामदार मलेसियाको विमानस्थलमा पुगेको ६ घण्टाभित्र गन्तव्य स्थलमा लैजानु पर्नेछ।यदि कामदारलाई लिन रोजगार दाता नआएमा त्यहाँ बस्दा लागेको खर्च उसैले व्यहोर्नु पर्नेछ। महिला कामदारको सम्बन्धमा विशेष ध्यान दिंदै थप सुरक्षा, संरक्षण र रेखदेख समेत गर्नुपर्नेछ।

त्यस्तै यसअघि करार अवधि ३ वर्षको रहँदै आएकोमा त्यसलाई २ वर्षको कायम गरिएको छ। सम्झौताअनुसार रोजगारदाताले कामदारका लागि उचित कार्य गर्नुपर्ने, सही वातावरण र वासस्थानको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य तथा सुरक्षाको प्रवन्ध गर्नुपर्नेछ। सहमति अनुसार कामदार र रोजगारदाताबीच श्रम सम्वन्धी कुनै विषयमा विवाद भई सम्वन्धित निकायमा मुद्दा विचारणीय रहेसम्मका लागि मलेसिया बस्न पाउने छन्। मलेसियामा कार्यरत नेपाली कामदारले आफ्नो परिवारको निकटतम सदस्यहरु ९बाबु, आमा, श्रीमान वा श्रीमती, छोरा, छोरी०को मृत्यू भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने व्यवस्था मिलाइएको छ।

कार्यस्थलमा हुने कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानूनले लागू गरेको व्यवस्था नेपाली कामदारका हकमा पनि लागू हुनेछ।रोजगारका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्वन्धित रोजगारदाता कम्पनीले ब्यहोर्नुपर्नेछ।

Published on: 16 September 2019 | Setopati

Back to list

;