s

श्रमसहचारी नियुक्ति प्रक्रिया सुरु

Year of Publication: 14 December 2019 | Kantipur

Published by: CESLAM

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदारको प्रमुख गन्तव्य देशमा नयाँ श्रम काउन्सिलर र श्रमसहचारी नियुक्ति प्रक्रिया अगाडि बढाएको छ ।

खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारको श्रम मामिलामा सहजीकरण गर्न सरकारले नियुक्त गरेर पठाएका श्रमसहचारीको सेवा अवधि पुस पहिलो साता सकिँदै छ । मन्त्रालयले पदावधि सकिन लागेका श्रम काउन्सिलर तथा सहचारीको म्याद दुई महिना थप गरेको छ । ‘नयाँ श्रमसहचारी छान्ने प्रक्रिया बिहीबारदेखि सुरु भएको छ,’ श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले भने ।

श्रमले ०७४ माघ २५ भित्र श्रमसहचारी नियुक्तिका लागि आवेदन दिएकालाई पुन: विषयवस्तुको ज्ञान तथा प्रस्तुतीकरणको मौका दिएको छ । त्यतिखेरदेखि नै श्रमसहचारीको नियुक्ति प्रक्रिया रोकिएको थियो । सरकारले कतार, साउदी अरब, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) मा श्रम काउन्सिलर तथा कुवेत, ओमन र बहराइनमा सहचारी छनोट गर्न लागेको हो ।

यूएई, साउदी अरब (रियाद) र यूएईमा दुई वर्षअघि श्रम काउन्सिलरको पदावधि सकिए पनि नयाँ पठाइएको छैन । मन्त्रालयले नयाँ श्रमसहचारी दुई महिनाभित्र पठाइसक्ने जनाएको छ । वैदेशिक रोजगार ऐनअनुसार ५ हजारभन्दा बढी महिला कामदार भएका मुलुकमा श्रमसहचारी पठाउने नियम छ । उनीहरूलाई नेपाली कामदार कार्यरत मुलुकको श्रम तथा रोजगारको स्थिति, अध्यागमनसम्बन्धी तथ्यगत जानकारी तथा त्यस देशले श्रम, अन्तर्राष्ट्रिय मानवअधिकार र कामदारको हित संरक्षणार्थ चालेका कदमबारे नेपाल सरकारलाई जानकारी गराउनेलगायत जिम्मेवारी तोकिएको छ ।

Published on: 14 December 2019 | Kantipur

Link

Back to list

;