s

श्रमिकको समस्या जस्ताको तस्तै

Year of Publication: 18 December 2019 | Gorkhapatra

Published by: CESLAM

सीता शर्मा

काठमाडौँ, पुस २ गते । वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी रूपमा कार्यक्रम गरिरहेका छन् तर वैदेशिक रोजगार विभागअन्तर्गतको ताहचलस्थित वैदेशिक रोजगार श्रम कार्यालयमा यति बेथिति छ कि एउटा व्यक्ति श्रम स्वीकृतिका लागि आठ दिनसम्म धाउनुपर्ने बाध्यता छ ।

सात दिनसम्म धाउने भुक्तभोगी हुनुहुन्छ बुटवलका हरिकृष्ण ढुङ्गाना । उहाँले श्रम स्वीकृतिका लागि एक साता निरन्तर श्रम कार्यालय धाएर मात्रै यो स्वीकृति हात पार्नुभयो । हरिकृष्ण पहिलो पटक श्रम स्वीकृति लिएर कतार जाँदै हुनुहुन्छ । समाचारमा सुने वा पढेजस्तो एक दिनमै सहज रूपमा यस्तो स्वीकृति पाउने अवस्था व्यावहारिक रूपमा कार्यान्वयनमा नभएकोमा उहाँको आक्रोश पनि थियो ।

श्रम कार्यालयमा कुन देश जाँदा के कस्ता कागजात चाहिन्छ भन्ने जानकारी दिने सूचना डेक्स वा नागरिक बडापत्र नभएकाले हरिकृष्ण जस्ता पहिलो पटक विदेश जानेले सास्ती भोग्नुपरेको छ । पछिल्लो पटकको कानुनी प्रावधानले गर्दा पुनः श्रम स्वीकृति लिएर जानेले पनि यस्तै सास्ती भोग्नुपरेको छ । अहिले त पुरानो राहदानी तथा सम्झौतापत्र पनि पेस गर्नुपर्ने व्यवस्थाले एक दिनमा हुने काममा चार दिन धाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

साउदी अरबमा १८ वर्षसम्म काम गरेको अनुभव रहेका पर्वतका विजय अधिकारीले श्रम स्वीकृति लिँदा अहिलेजस्तो सास्ती र झन्झट कहिलै नभएको गुनासो गर्नुभयो ।

गोरखापत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो, पुरानो सम्झौतापत्र बुझाउनुपर्ने रहेछ, साथमा छैन, कम्पनीबाटै मागेर वैदेशिक रोजगार विभागको इमेलमा पठाउनु पर्दोरहेछ त्यही लिनलाई धाएको तीन दिन भइसकेको पठाएको छैन ।

ताहचल श्रम कार्यालयमा ढुङ्गाना र अधिकारी जस्ता झन्डै एक हजारले श्रम स्वीकृतिका लागि यस्तै सास्ती भोग्ने गरेका छन् । वैदेशिक रोजगार विभागले श्रम कार्यालयमा देखिएको समस्या समाधान गर्न पहल गरिरहेको जनाएको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले कानुनका कारण भएको जटिल अवस्थालाई सहज बनाउने सुझाव यसअघि नै मन्त्रालयमा पठाएको जानकारी दिनुभयो ।

‘सीप र रोजगारः आर्थिक समृद्धिको आधार’ भन्ने राष्ट्र नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रूपमा कार्यक्रम भइरहेका छन् । आप्रवासी श्रमिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि र आप्रवासी श्रमिकको सेवा सुविधाका बारेमा अन्तर्राष्ट्रिय मापदण्ड बनाइएको भए पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन ।

विश्व समुदायले आप्रवासी श्रमिकको सेवा सुविधासम्बन्धी मापदण्डलाई आधार मानेर प्रवासी श्रमिकमाथि व्यवहार गर्ने गरेको छ ।सन् १९९० मा संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसङ्घले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक अन्य सेवा सुविधा, न्यूनतम मानव अधिकार विदेशी नागरिक भएका कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस मनाउने गरिएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)का अनुसार विश्वभर २३ करोडभन्दा बढी मानिस आप्रवासीका रूपमा रहेकोमा १५ करोडभन्दा बढी आप्रवासी कामदारको रूपमा रहेका छन् । तीमध्ये एक चौथाइ मानिस एसिया तथा प्रशान्त क्षेत्रमा मात्र छन् ।

दस वर्षको अवधिमा झन्डै आठ हजारको मृत्यु

पछिल्लो एक दशकको अवधिमा वैदेशिक रोजगारीमा रहेकामध्ये झन्डै साढे सात हजारभन्दा बढी आप्रवासी नेपाली कामदारले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६५÷०६६ देखि २०७५÷०७६ सम्म आइपुग्दा सात हजार ४५५ नेपाली कामदारले विभिन्न कारणबाट ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी आप्रवासी श्रमिक भारतीय

विश्वमा सबैभन्दा बढी एक करोड ७५ लाख भारतीय नागरिक आप्रवासी श्रमिकका रूपमा विश्वका विभिन्न देशमा छन् । भारतपछि मेक्सिको र चीन छन् ।

Published on: 18 December 2019 | Gorkhapatra

Link

Back to list

;