s

श्रम आप्रवासीप्रति नकारात्मक भाष्य र व्यवहार

Year of Publication: 6 November 2023 | Kantipur

Published by: CESLAM

कतारमा के काम गर्छौ ?’

‘यस्तै सामान लोड–अनलोड गर्ने काम गर्ने भनेको छ, सर !’

‘विदेश जानुअघि गाउँमा के गर्थ्यौ नि ?’

‘साहुको पसलमा सामान बेच्ने काम, सर !’

‘ए, पसलको काम छाडी कुल्ली हुन कतार जान ला’को ?’

यो संवाद हाम्रो वैदेशिक रोजगारीको मुख्य द्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको लाइनमा अन्दाजी चालीस वर्ष काटेका अध्यागमन मुखिया (अधिकृत) र मेरा अगाडिका यात्रुबीचको हो, यही असोजको । म आप्रवासन सृजित विभेद र समानताका सन्दर्भमा भैरहेको विश्वस्तरको, आफैं संलग्न अनुसन्धानको, एउटा बैठकका लागि ब्राजिलतर्फ जाने क्रममा अध्यागमनको सोही लाइनमा पालो कुरिरहेकी थिएँ । मेरा अगाडि केही युवायुवती अरबका विभिन्न मुलुकमा रोजगारीका लागि जाने क्रममा थिए । हामी सबै जना कतार एयरवेजका यात्रु थियौं ।

अध्यागमनका ती मुखियाले ‘ल जाऊ’ भन्दै छाप लगाई पासपोर्ट ती युवातिर सारिदिए, हातमा दिएनन् । ती युवाले पासपोर्ट समात्न नपाउँदै भुइँमा खस्यो । पासपोर्ट र त्यससँगै भुइँमा खसेको बोर्डिङ पास अनि एउटा पन्ना (सायद रोजगारीसम्बन्धी कागज हुन सक्छ) बटुलेर ती युवा पछाडिका अरू श्रमिकलाई पुलुक्क हेर्दै अगाडि बढे । अनि बाटैमा उभिएर आफ्नो पासपोर्ट ओल्टाई–पल्टाई हेरे, सायद अध्यागमनको छापको पानो खोजेका होलान् । अध्यागमनका प्रहरीले अर्कोतिरबाट आएर ‘ए त्यहाँ उभिने होइन, उता गएर बस’ भन्दै झर्किंदै यात्रु प्रतीक्षालयतिर जान निर्देशन दिए ।

अब मेरो पालो थियो ती अध्यागमन मुखियासँग आमनेसामने हुने । तर मलाई चाहिँ ‘मेडमको यात्रा शुभ रहोस्’ भन्दै पासपोर्ट हातमै दिए । आफूप्रतिको त्यो अमानवीय व्यवहारले ती युवाको मनमा के खेल्दै थियो, त्यो त म अनुमान मात्र गर्न सकुँला, मेरो मनमा चाहिँ लागेको थियो ती अध्यागमन मुखियालाई राम्ररी सबक सिकाऊँ, ताकि उनले अन्य श्रम आप्रवासी यात्रुलाई त्यस्तो अमानवीय व्यवहार र विषाक्त भाष्य प्रयोग नगरून् । मेरो पछाडि पनि श्रमिक यात्रुहरूको लाइन लामै थियो । अनि फेरि लाग्यो— मैले गर्दा ती श्रमिक यात्रुहरूलाई नकारात्मक असर पर्न सक्छ । किनकि मलाई राम्ररी थाहा छ, वैदेशिक रोजगारी प्रक्रियाका जालझेलको सेटिङको लहरो जताततै जेलिएको हुन्छ अनि अध्यागमन त झन् जालोको केन्द्रमै हुन्छ ।

विमान चढेपछि पनि भेटें ती युवालाई, जो मेरो सिटभन्दा अलिक अगाडिको सिटमा बसेका थिए । भलाकुसारीमा थाहा भयो— उनी पश्चिम तराईका रहेछन् र पहिलो पटक वैदेशिक रोजगारीमा निस्केका रहेछन् । काठमाडौंको एउटा वैदेशिक रोजगार व्यवसायीलाई २ लाख ५० हजार रुपैयाँ तिरेर कतारको विमानस्थलमा कार्गो सेवाप्रदायक कम्पनीमा सामान मिलाउने काम गर्ने भनेर आश्वासन दिइएको रहेछ । उनलाई खास कामको निधो भइसकेको रहेनछ । गाउँको विद्यालयमा १२ सकेपछि आमाबुवा र ८ कक्षा पढ्दै गरेकी एक्ली बहिनीको खर्च थेग्न ती १९ वर्षे किशोर पुस्तक थन्क्याएर, भएको थोरै घरबासको लालपुर्जा स्थानीय सहकारीलाई बुझाई खाडीतिर हिँडेका रहेछन् ।

विमानमा यी सहयात्रीसँग कुरा गर्दैगर्दा मैले गत वर्ष अध्ययन गरेको पश्चिम तराईको परिवेश सम्झन पुगें । गत वर्ष मेरो अनुसन्धानमा समावेश गरिएका दाङ र रूपन्देहीका अधिकांश श्रमिक महिलाहरूले, जो भारतका विभिन्न सहरमा या त घरेलु कामदारका रूपमा या लुगा सिउने गार्मेन्ट कारखानामा काम गर्ने दैनिक ज्यालादारी श्रमिक थिए, बिदामा घर आउँदा छिमेकीले यौन व्यवसाय गर्ने हुन् भनी शंका गर्ने र खासखुस गर्ने गरेको बताएका थिए । यसले गर्दा परिवारसँगको सम्बन्धमा समेत समस्या भएको कतिपय महिलाले बताएका थिए ।

यी त भए सतहमा दैनिक रूपमा सुनाइने–सुनिने, भोगिने–भोगाइने, भनिने–भनाइने केही उदाहरण, जसले श्रम आप्रवासनलक्षित भाष्य कसरी विषाक्त मात्र भएको छैन, त्यो विषाक्तता जनबोली नै हुन थालेको छ, संस्थागत हुन खोज्दै छ भन्ने संकेत र पुष्टि दुवै गर्छन् । तर विडम्बना, श्रम आप्रवासीद्वारा आर्जित विप्रेषणले मुलुकको अर्थतन्त्र थेगेको र राजनीतिक प्रक्रियालाई चलायमान राखेको दशकौं भइसक्दा पनि तिनैका बारेमा, तिनलाई सम्बोधन गर्ने भाष्य र शैली लगायत तिनीहरूको मनोविज्ञान र त्यो मनोविज्ञानले नेपाली समाजमा जेलिएका असमान सम्बन्धलाई कसरी संस्थागत गर्दै छ भन्ने यावत् पक्षमा नेपाली समाजमा सार्थक बहस अझै पनि हुन सकेको छैन, न नीतिगत बहस न त प्राज्ञिक, न मानव अधिकारको पसल चलाउनेहरूबीच नै । श्रमिकका नाममा राजनीति गर्ने मजदुर संगठनको त औचित्यमाथि नै प्रश्नहरू छन्, आप्रवासी श्रमिकका सन्दर्भमा । समग्रमा भइरहेको चाहिँ छ के त भन्दा, तिनै अध्यागमन मुखियाले र भारतमा काम गरी फर्केका महिलाहरूप्रति छिमेकीले गर्ने टिप्पणी जस्ता भाष्य निर्माण गरी श्रमिकको अपमान । केही सञ्चारमाध्यमले आक्कलझुक्कल सन्दर्भ उठान त गर्छन् तर ती न घनीभूत रूपमा अगाडि बढ्छन् न तिनका तर्क नीति–निर्माताहरूले गम्भीरताका साथ लिन्छन् । उसो त नकारात्मक भाष्य निर्माण गर्न सञ्चारमाध्यमको पनि कम भूमिका छैन, खास गरी महिला श्रमिकका सन्दर्भमा । महिला श्रमिकलाई सजिलै उनीहरूको यौनिकतासँग जोडी कथा बनाउन कतिपय सञ्चारमाध्यमको प्रतिस्पर्धा नै चलेको विगत ताजै छ । केही व्यक्ति, समूह र निकायले आफ्नो मनगढन्ते बुझाइ, आवश्यकता, परिवेश र सन्दर्भ अनुसार त्यस्तो भाष्य निर्माण गर्ने, प्रयोगमा ल्याउने र तर्कहरू प्रस्तुत गर्ने गरेको पाइन्छ ।

जीविकोपार्जनको सम्भावना आफ्नो घरेलु श्रमबजारमा नदेखेर वा विविध कारणले सृजित बाध्यात्मक परिस्थितिको सम्बोधन गर्न जस्तोसुकै असमान सम्झौता गरी थातथलो छोडेर वैदेशिक रोजगारीमा जाने युवा हाम्रा मात्र भएका होइनन् । श्रम आप्रवासन मानव सभ्यताजति नै पुरानो छ तर विभिन्न स्वरूप, प्रवृत्ति र प्रकृतिमा । अनि यो विश्व राजनीतिक हावा जसरी बहन्छ, श्रम लगायतका आप्रवासनका स्वरूपहरू पनि त्यसरी नै बदलिँदै जान्छन्, गइरहेका छन् । आप्रवासन विधाका प्रसिद्ध लेखकहरू स्टेफन कासल र मार्क जे मिलारले एसियाकेन्द्रित आफ्नो पुस्तक ‘आप्रवासनको युग’ को पछिल्लो संस्करणमा भनेझैं, आप्रवासन मानव सभ्यतासँगै जोडिएर आएको एउटा अभिन्न आयाम हो, जीवन पद्धति हो, अर्थनीतिको टेको हो, राजनीतिक पद्धतिको पाटो हो र समाज रूपान्तरणको अभिन्न अंग हो, चाहे त्यो अल्पकालीन वा दीर्घकालीन नै किन नहोस् ।

लामो अनुसन्धानको यो निष्कर्षलाई लिएर हामीले नेपाल जस्तो विप्रेषणकेन्द्रित अर्थनीति भएको समाजको परिवेशमा श्रम आप्रवासनको अर्थ खोज्यौं भने प्रस्ट हुन्छ— श्रम आप्रवासन अहिले हाम्रो आफ्नै राजनीतिक पद्धति र अर्थनीतिले तय गरेको राज्य व्यवस्थापनको एउटा महत्त्वपूर्ण अंग भइसकेको छ । यसर्थ हामीले स्वीकार गरे पनि नगरे पनि श्रम आप्रवासन हामी बाँचिरहेको युगको एउटा अनिवार्य सामाजिक–सांस्कृतिक रूपान्तरणको माध्यम पनि हो; राजनीतिक प्रक्रियालाई चलायमान गराउने, जीवन्त राख्ने आर्थिक मेरुदण्ड त हो नै, अझै कैयौं दशकका लागि । हाम्रो जस्तै श्रम आप्रवासनमा निर्भर मुलुकहरूको अध्ययनले पनि यी कुरा पुष्टि गर्छन् । यस्तो अनिवार्य आयामलाई हामी किन वर्गीय र हेपाहा दृष्टिकोणले सम्बोधन गर्छौं ? यो नै हामीले गम्भीरताका साथ घोत्लिनुपर्ने प्रश्न होला । गत महिना विमानस्थलमा म साक्षी भएको घटना त प्रतिनिधिमूलक मात्र हो, म आफैंले थुप्रै पटक देखेकी छु यस्ता दृश्य । विमानस्थल हुँदै यात्रा गर्ने लगभग सबैले देख्ने–सुन्ने घटना हुन् यी ।

यस्ता प्रवृत्तिजन्य घटनालाई हामीले दसैंअगाडि सोल्टी होटलमा तामझामका साथ गरिएको कार्यक्रम र त्यहाँ राज्यका प्रमुख कार्यकारीसहित पूरै सिंहदरबारको उपस्थितिसँग जोडेर विश्लेषण गर्‍यौं भने प्रस्ट हुँदैन र, नेपालको आप्रवासनको बुझाइमा वर्गीय खाडल कति गहिरो छ भनेर बुझ्न ? उसो त सोल्टी होटलको एउटा सन्दर्भमा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्री र एनआरएनएका प्रतिनिधिबीच भनाभन हुँदा प्रयोग भएका भाष्य गलत छन् । रामकुमारीका तर्क बलिया र सही हुँदाहुँदै पनि श्रमसम्बन्धी प्रयोग भएका शब्द सान्दर्भिक थिएनन् । उता, पूर्वनेपाली भइसकेका व्यक्तिले रामकुमारी लगायतका नेपालीप्रति प्रयोग गरेको भाषा त कुनै पनि पक्षबाट उचित देखिन्न । तर उदेक लाग्ने पक्ष के छ भन्दा, एनआरएनएका प्रतिनिधिप्रति प्रयोग गरेको भाष्यले त नेपाली समाजलाई नराम्ररी पोल्यो तर अध्यागमन मुखियाले ‘कुल्ली’ सम्बोधन गरी पासपोर्ट हुत्त्याएका युवा— जसले दैनिक हजारौं युवायुवतीको प्रतिनिधित्व गर्छन् र मुलुकको अर्थको मियो बन्छन्— को वर्गको आप्रवासीका बारेमा भए–गरेको अपमानजनक व्यवहारका बारेमा समाजलाई कहिल्यै घोच्दैन । यही होइन त हाम्रो प्रवृत्ति ? हाम्रो सामाजिक चेत ? अनि हाम्रो मानवीय समवेदना ?

विमानस्थलमै राज्यले ‘कुल्ली’ बनाएका ती युवा यस्ता पात्र हुन् जसले हवाई मात्र होइन, भुइँबाट समेत सीमा पार गर्ने र गराइने श्रमिकको प्रतिनिधित्व गर्छन् किनकि भारत जाने श्रमिकलाई पनि सीमाचौकीमा ओहोरदोहोर गर्दा गरिने व्यवहार यस्तै हो । त्यति मात्र होइन, विमानस्थल हुँदै फर्केर आउँदा यी आप्रवासीले भोग्ने अपमानको शृंखला पनि उस्तै छ । अनि उता भुइँ सीमामा पनि हालत त्यही हो । कतिका त अझ झोलै खोसिन्छन् । नाना थरी शब्द प्रयोग गरी गाली गरिन्छ । यतिसम्म कि, लाइन बस्दासमेत बीचैबाट अरूलाई छिराएर अध्यागमन औपचारिकता पूरा गरेको देखी यी फर्केका आप्रवासीले ‘मेरो पालो मिचियो’ भन्दा अध्यागमन अधिकारीहरूले गाली गरेको त विदेशयात्राबाट फर्कंदा मैले नै कति पटक सुनेकी छु । तिनका परिवारलाई भनेर ल्याइएका कोसेली पनि पासपोर्ट हुत्त्याएजसरी नै हुत्त्याइन्छन् । यही हैन त आप्रवासी श्रमिकप्रति तिनै आप्रवासी श्रमिकको विप्रेषणबाट जीविका चलाउने विमानस्थलमा र भुइँ अध्यागमनमा कार्यरत राष्ट्रसेवक भनिनेहरूको समग्र व्यवहार ?

हाम्रोभन्दा अलिक फरक परिवेशमा तर उस्तै प्रकृतिका आप्रवासीप्रति प्रयोग गरिने भाष्यका बारेमा भए–गरेका अनुसन्धानले के देखाउँछन् भने श्रम आप्रवासीप्रतिका यस्ता नकारात्मक अर्थ र पहिचान रच्ने भाष्यको निर्माण मूल रूपमा दुई कोणबाट हुन्छन् । एउटा हो— समाजमा श्रमका बारेमा व्याप्त संकुचित/साँघुरो सोच; र अर्को— आप्रवासीलाई उनीहरूको सामाजिक–सांस्कृतिक, वर्गीय र लैंगिक पहिचानका आधारमा गरिने हेपाइ । यसै सन्दर्भसँग मेल खाने आप्रवासनको अवधारणा, निरन्तरता र विरोधाभासका बारेमा गरिएको अनुसन्धानलाई आधार मान्दै ग्रासिया लिउ र वृन्दा येओह लगायतका अनुसन्धानकर्ता भन्छन्— आप्रवासन आफैंमा बहुआयामिक वर्गीय मुद्दा हो जसका सामाजिक–सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धहरू हुन्छन् एवं ती सम्बन्धका आयामहरू एकअर्कासँग जटिल तरिकाले जेलिएका हुन्छन् । अनि तिनै जेलिएका धर्साले बेरेर बनाइएको साँघुरो सामाजिक मनोविज्ञानले तय गर्छ कुन प्रकृति, वर्ग, सामाजिक–सांस्कृतिक र लैंगिक पहिचान भएको आप्रवासीलाई सम्बोधन गर्दा कस्तो भाष्य निर्माण गर्ने भनेर ।

यी अध्ययनहरूलाई अध्यागमन मुखियाको व्यवहार, भारतबाट फर्केका महिलाहरूले मेरो अनुसन्धानका क्रममा व्यक्त गरेको अनुभव र केही साताअघि काठमाडौंमा गरिएको एनआरएनएको भेलामा उठेका सन्दर्भलाई जोडेर विश्लेषण गर्ने हो भने प्रस्ट हुन्छ— श्रम आप्रवासनमा भाष्य निर्माण कसरी भइरहेको छ । यसलाई अझ प्रस्ट गरी भन्दा भएको जायजेथा कुम्ल्याएर सम्पन्नताको बोट र सभ्य नागरिकको पहिचान किन्न हिँडेका एनआरएनए वर्गलाई गरिने व्यवहार र विकृत राजनीतिले गर्दा खुम्चिएको घरेलु श्रम बजारमा परिवार धान्ने सम्भावना गुमेपछि रोजीरोटीका लागि भौंतारिने हैरान युवा श्रमिक वर्गलाई राज्यका निकाय, समाज र श्रम बजारले गर्ने व्यवहारमा असीमित विभेद भएको छर्लंगै छ । अनि तिनै विभेदी त्यान्द्राहरूको आडमा नकारात्मक भाष्य निर्माण गरी सार्वजनिक अपमान, हेला, घृणा र महिलाका सन्दर्भमा सामाजिक बहिष्करणसम्म पुग्छन् हाम्रा सामाजिक, सांस्कृतिक, राजनीतिक, कानुनी र आर्थिक निकायहरू ।

आप्रवासनसम्बन्धी समाजशास्त्रीय अध्ययनहरू अन्य मुलुकमा भएका छन् र तिनको निष्कर्ष के निकालिएको छ भने यस्तो भाष्य निकै नकारात्मक छ र श्रमिकप्रति समाजको या त दयनीय मनोभावना पैदा गर्छ या श्रम आप्रवासनलाई जीवनकै उत्कृष्ट निर्णय र सम्पन्नताको निर्विकल्प सपनाका रूपमा बुझिदिन्छ । अध्येताहरूका अनुसार, वास्तवमा श्रम आप्रवासन यो दुवै स्वरूप र दायराभित्र पर्ने आयाम होइन । समाजको दयनीय मनोविज्ञानलाई स्थापित गर्ने भाष्यले श्रमिकको निर्णय गर्ने परिवेश, क्षमता र कारणलाई नजरअन्दाज गर्छ किनकि जुनसुकै परिवेशमा होस्, एउटा व्यक्तिले गर्ने निर्णयले उसको वर्तमानलाई संकेत गर्छ र सम्बोधन गर्न प्रयत्न गर्छ । अनि जीवनकै उत्कृष्ट र निर्विकल्प सपना भन्ने अर्को पक्ष झन् नकारात्मक अर्थ बोक्ने भाष्य ठानिन्छ, आप्रवासनको बहसमा । किनकि कुनै पनि कुरा निर्विकल्प हुँदैन, तुलनात्मक रूपले फरक महत्त्वको चाहिँ हुन सक्छ । हामी भाष्य निर्माण गर्नेले के बुझ्नु जरुरी छ भने व्यक्तिको निर्णय निरपेक्ष हुँदैन, परिवेशले निर्धारण गरेको परिस्थितिमा भर पर्छ ।

यस्ता अध्ययनहरू पढ्दा आप्रवासी श्रमिकसँग अनुसन्धान गर्दा र नेपाली सामाजिक मनोविज्ञान बुझ्दा–भोग्दा मलाई के लाग्छ भने नेपाली समाजलाई श्रम आप्रवासनप्रतिको बुझाइ र श्रमिकप्रति प्रयोग गरिने भाष्यलाई वर्तमान विषाक्तताबाट सकारात्मकतातर्फ रूपान्तरण गर्न अझै निकै समय लाग्नेछ । किनकि हामी अझै पनि श्रम आप्रवासन भनेको खालि विप्रेषणको रुपैयाँ गन्ने, कति जनाले श्रम स्वीकृत लिएर विमान चढे, कति वटा शव फर्के, कति घरबार बिग्रे लगायत भन्नेमै रुमलिइरहेका छौं । चिन्तित छौं गाउँटोल खाली भयो भनेर, देश रित्तिने भो भनेर रोजगारीमा जानेप्रति पूर्वाग्राही छौं, अनि नाना थरी अपमानजनक भाष्य प्रयोग गरी नकारात्मक व्यवहार गर्छौं । यस्तो नकारात्मकतालाई प्रतिस्थापन गर्ने गरी समयसापेक्ष र सन्तुलित भाष्य निर्माणको सुरुआत कसले, कसरी र कहिले गर्ने ? हामी पूर्वाग्रही निद्राबाट कहिले बिउँझिने ?

Published on: 6 November 2023 | Kantipur

Link

Back to list

;