s

शिक्षित युवाको रोजाइ कोरिया

Year of Publication: 11 June 2017 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

उत्तम काप्री
 
अर्थशास्त्रबाट स्नातकोत्तर गरेका गोरखाका निरञ्जन ढकाल शनिबार कोरियन भाषा परीक्षा दिने भीडमा भेटिए । आठ महिनादेखि कोरियन भाषा पढिरहेका उनी रोजगारीका लागि कोरिया जाने तयारीमा छन् । उनले स्वदेशमै रोजगारी खोज्ने प्रयास नगरेका होइनन् तर स्नातकोत्तर गरे पनि भनेजस्तो जागिर पाइएन । अधिकृतका लागि दुई पटकसम्म लोकसेवाको परीक्षा दिँदा पनि सफल हुन नसकेपछि उनले कोरिया जाने मनस्थिती बनाएका हुन् ।
 
झापाका लक्ष्मण निरौलाले पनि कोरिया जान भाषा परीक्षा दिएका छन् । दुई वर्षदेखि कोरियन भाषा पढिरहेका उनले कोरियालाई नै रोजगारीको गन्तव्य रोजेका छन् । उनी भन्छन्, ‘नेपालमै जागिर गरेर बस्ने रहर थियो, प्लस टुमात्र पढेको मैले जागिर नै पाउन सकिन ।' कोरियाबाट नेपाल फर्किएर व्यापार गर्ने उनको लक्ष्य छ ।
 
धादिङकी रिना तामाङ दोस्रो पटक कोरियन भाषा परीक्षामा सहभागी भएकी छन् । पहिलो परीक्षामा असफल भए पनि उनको कोरियामा काम गर्न जाने सपना अझै मरेको छैन । स्नातक पढेकी उनी परिवारले खाडी जान स्वीकृति नदिएपछि तीन वर्षदेखि कोरिया जान संघर्षरत छन् । शनिबारदेखि सुरु भएको कोरियन भाषा परीक्षामा निरञ्जन, लक्ष्मण र रिनाजस्ता देशभरबाट पौने लाख युवा सहभागी भएका छन् । स्वदेशमा भनेजस्तो रोजगारी पाउन नसकेपछि उनीहरू कोरिया जान तम्सिएका हुन् । नेपाली कामदारका लागि दक्षिण कोरिया आकर्षक गन्तव्य बन्दै आइरहेको छ । करिब एक लाख रुपैयाँ खर्च गरेर मासिक डेढ लाखसम्म कमाइ हुने भएपछि कोरिया आकर्षण बनेको हो । कोरियाको रोजगारी खाडी मुलुकको तुलनामा सुरक्षित र सहजसमेत रहेको छ । 
 
गुल्मी वाग्लाका प्रकाश पन्थी परिवारकै सल्लाहमा कोरिया जान राजी भएका छन् । ‘नेपालमा भनेजस्तो रोजगारी पाइँदैन, खाडी मुलुकमा पनि जान सकिदैन', उनले भने, ‘मेहेनत बढी भए पनि कमाइ आकर्षक हुने भएकाले भाषा परीक्षा दिन आएको हुँ ।' यसअघिका दुई परीक्षामा असफल भए पनि पन्थीको आत्मविश्वास मरेको छैन । यसपटक नाम निस्कनेमा उनी ढुक्क छन् ।
 
कोरियन भाषा पास गरेर कोरिया पुग्न त्यति सहज छैन । एक त भाषा पढ्नै गाह्रो छ, यसमाथि लोकसेवाको परीक्षामा जस्तै कडा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । कोरियाले सीमित कोटामा नेपाली लैजाने गर्छ । त्यही कोटाभित्र पर्न नेपाली मेहनेत गरिरहेका छन् । यसपटक कोरियाले १० हजार दुई सय नेपाली लैजाँदैछ । यसका लागि मुलुकभरबाट ७५ हजार पाँच सय ८० युवाले कोरियन परीक्षा दिँदैछन् । कोरिया जाने सपना पूरा गर्न लागि एक जना युवाले सात जनासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
 
जग्गा भाडामा लिएर कृषि पेसा गरे पनि परिवार पाल्न नसकेपछि नवलपरासीका रमेश विश्वकर्मा कोरिया जान कस्सिएका छन् । ‘वर्षदिन कृषि गर्‍यो, सात÷आठ महिना पनि खान पुग्दैन, महँगी उकालो लागिरहेको छ, बालबच्चा पढाउन झन नसकिने भयो', उनले भने, ‘परिवारकै भविष्यका लागि कोरियाको सपना देखेको हुँ ।' नारायणगढमा भाषा सिकेका उनले काठमाडौंबाट परीक्षा दिएका छन्।
 
सिन्धुलीका रत्नबहादुर जीसी पनि दिउँसोको चर्को काममा परीक्षा केन्द्र प्रवेशका लागि लाइनमा थिए । उनी भन्दै थिए, ‘देशमै रोजगारी पाउने भए किन अर्काको देशमा जानुपथ्र्यो ।' लागत पनि कम लाग्न र राम्रो आम्दानी हुने हल्लाको भरमा उनी साथीहरूसँगै कोरियन भाषा परीक्षा दिन काठमाडौं आएका थिए
 
कोरियमा आकर्षण नेपालबाट श्रम स्वीकृति लिँदै काममा लागि एक सय १० देशमा युवा पलायन भइरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रोजागारीका लागि दैनिक दुई हजारभन्दा बढी युवा विदेश गइरहेका छन् ।यसरी विदेश जाने नेपाली कामदारका लागि आकर्षण केन्द्र कोरिया बनेको छ । यो एक लाख रुपैयाँ खर्च गरेर डेढ लाखसम्मको आम्दानी हुने गन्तव्य हो । सरकारकी माध्यमबाटै जाँदा ठगिने सम्भावना पनि कम छ । पाँच वर्ष काम गरेर आएपछि नेपालमै सानो व्यापार व्यवसायी गर्न सकिने युवाको भनाइ छ । देशमै रोजागारीको अवसर नभएको उनीहरूको आरोप छ । निजी कम्पनीमा काम गर्दा दैनिक खर्च पूरा गनै पनि सम्भव नभएको युवाको भनाइ छ।
 
कोरियन भाषा पास गरेर कोरिया पुग्न त्यति सहज छैन । एक त भाषा पढ्नै गाह्रो छ, यसमाथि लोकसेवाको परीक्षामा जस्तै कडा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ। कोरियाका काम गरेर नेपालमा आएपछि त्यहाँको सीप पनि नेपालमा प्रयोग गर्न सकिने आत्मविश्वासले पनि कोरियामा आकर्र्षण बढ्दो छ । सरकारले अहिलेसम्म ४३ हजारभन्दा बढीलाई कोरिया पठाइसकेको छ ।
चार सय ३३ जना परीक्षा दिनबाट बञ्चित
 
ईपीएस शाखाको कमजोरी कारण शनिबार चार सय ३३ परीक्षार्थी परीक्षा दिनबाट बञ्चित भएका छन् । प्राविधिक गल्तीका कारण २६ नम्बर परीक्षा केन्द्रका पुगेको चार सय ३३ जनाले परीक्षा दिन नपाएको शाखाका निर्देशक बाबुराम खतिवडा स्वीकार गर्नु हुन्छ । शाखाको आधिकारिक पेजमा १२ घन्टाको गल्ती सूचना प्रकाशनले गर्दा समस्या आएको हो । तर, त्यसलाई १९ गते दिउँसो नै सच्चाइएको उहाँ बताउनुहन्छ ।
 
शाखाले परीक्षा दिनबाट बञ्चित भएकाका लागि पुनः परीक्षा दिने वातावण मिलाउन केन्द्रीय समन्वय तथा अनुगमन समिति र एचआरडी सर्भिस अफ कोरियासँग आवश्यक पहल गरिसकेको छ । तर, यस विषयका उनीहरूले भने केही जवाफ दिएका छैनन् । इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड मेनेजमेन्ड २६ नम्बर केन्द्रमा परीक्षा दिन गएका सिम्बोल नम्बर १००७२८३७ देखि १००७३५५८ सम्मका परीक्षार्थीमध्ये केहीको छुट भएको जनाएको छ । यस बाहेक शनिबार सञ्चालन भएका अन्य सबै ठाउँको परीक्षा शान्तिपूर्ण सम्पन्न भएको शाखाले जानकारी दिएको छ ।
 
नौ जना नक्कली परीक्षार्थी पक्राउ
ईपीएस भाषा परीक्षाअन्तर्गत पहिलो दिनको परीक्षाका नौ जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । ललिपुर प्रहरी प्रवक्ता ईश्वर कार्कीका अनुसार ललिपुरका विभिन्न परीक्षा केन्द्रमा अरुको नाममा परीक्षा दिने पाँच जना परीक्षार्थी पक्राउ परेको छन् । पक्राउ परेका परीक्षार्थीको परीक्षा सबै रद्द भएको छ । काठमाडौं प्रहरी प्रवक्ता प्रधुन कार्कीका अनुसार काठमाडौ जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट समेत चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
 
Published on: 11 June 2017 | Annapurna Post

Back to list

;