s

शव मलेसियामा बेपत्ता, चार वर्षपछि किरिया

Year of Publication: 9 September 2019 | Nagarik

Published by: CESLAM

मलेसियामा मृत्यु भएको चार वर्ष बित्दा समेत शवको अत्तोपत्तो नभएपछि जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ भदौरेका दिलबहादुर मुग्रातीको काजकिरिया गरिएको छ। २०७० पुसमा मलेसिया गएका दिलबहादुरले २०७२ भदौ ३० गते ज्यान गुमाएका थिए। हालसम्म जीवित नरहेको र शव नै हराएको निश्चित भएपछि परिवारले पाँचदिने काजकिरिया गरेको लफ्याङका वडा सदस्य अनुप राईले बताए। दिलबहादुरका तीन छोरा जातीय परम्पराअनुसार किरियापुत्री बसेका थिए। मलेसिया पुगेलगत्तै सम्झौताअनुसारको काम र दाम नपाएपछि उनी अवैध कामदार भएर त्यहाँ बस्न थालेको र सोही क्रममा मृत्यु भएपछि साथमा परिचय खुल्ने आवश्यक कागजात नभएकाले शव स्वदेश ल्याउन अप्ठ्यारो परेको जानकारी पाइएको सुरक्षित वैदेशिक रोजगारका क्षेत्रमा काम गरिरहेको आप्रवासी स्रोत केन्द्र दिक्तेलका परामर्शकर्ता सहरमान राईले बताए। मुग्रातीको शव मलेसियामै ‘सद्गत गरियो वा कुनै अस्पतालमा राखिएको छ’ भन्नेबारे परिवार तथा आफन्त हालसम्म बेखबर छन्। मृतकको शव लामो समयसम्म स्वदेश फर्काउने पहल नहुँदा र शवको अत्तोपत्तो नहुँदा मुग्राती परिवार पीडामा पर्दै आएका छन्।

मृतकको शव स्वदेश फर्काउने पहलका लागि मृतकका आफन्तले २०७२ असोज ११ गते तत्कालीन सुरक्षित आप्रवासन परियोजनाको सूचना केन्द्र (हालको आप्रवासी स्रोत केन्द्र) मा निवेदन दिएका थिए। केन्द्रले सक्दो पहल गर्दा पनि शव स्वदेश ल्याउन नसकिएको परामर्शकर्ता राईले बताए। ‘दिलबहादुरका साथमा कुनै डकुमेन्ट रहेनछ, शव अस्पतालमा पु¥याइए पनि कुन कम्पनीमा काम गर्थे भन्ने खुलेनछ,’ उनले भने, ‘अस्पतालले दूतावासलाई खबर गरेपछि परिवारसम्म खबर त आइपुग्यो तर शव अहिलेसम्म आइपुगेको छैन।’ आफन्तका अनुसार शव नेपाल फर्काउन धेरै रकम चाहिने र पठाउने जोहो गर्न भन्दै परिवारलाई खबर आएको थियो। कमजोर आर्थिक अवस्था भएकाले परिवारबाट शव निकाल्ने रकम पठाउन सम्भव भएन। केही समयपछि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले नै दिलबहादुरसहित चार नेपालीको शव ल्याउन खर्च लगाइदिने खबर मुग्राती परिवारलाई प्राप्त भयो। तर शव नआउँदा आशा निराशामा परिणत भएको मुग्राती परिवारको गुनासो छ। लामो समयसम्म शव नल्याइएपछि पुनः दूतावाससमक्ष सोधखोज गर्दा परिवारको अनुमतिमा शव मलेसियामै सत्गद गरिसकिएको जवाफ आएको आफन्तको भनाइ छ।

परिवारका अनुसार सुरुमा दिलबहादुर किङ हवा कम्पनीमा गएका थिए। उनको मृत्यु भएको केही समयपछि पत्नीले दोस्रो विवाह गरेपछि तीन छोराको बिचल्ली भएको वडा सदस्य राईले बताए। बाबुआमाविहीन तीन छोरा हाल हजुरबा÷हजुरआमाको आश्रयमा बसिरहेका छन्। उनीहरूको लालनपालन र शिक्षादीक्षामा समस्या परिरहेको मुग्राती परिवारले जनाएको छ।

Published on: 9 September 2019 | Nagarik

Back to list

;