s

साउदीसँग श्रम सम्झौता हुन सकेन

Year of Publication: 13 December 2019 | Annapurna Post

Published by: CESLAM

तुलसी सुवेदी

 नेपाल र साउदी अरबबीच श्रम सम्झौता हुन सकेको छैन। ५ वर्षअघिदेखि श्रम सम्झौताको तयारी गरिए पनि अझै श्रम सम्झौता हुन नसकेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्झौताका लागि निरन्तर पत्राचार भए पनि ठोस प्रगति हुन नसकेको जनाएको छ। साउदी सरकारले घरेलु कामदारका लागि मात्रै सम्झौता गर्न सकिने भन्दै नेपालले पठाएको मस्यौदामा पुनर्विचार गर्न आग्रह गरेको छ। सरकारले २०७२ देखि घरेलु कामदारमा रोक लगाएको छ। श्रम मन्त्रालयका उपसचिव दिपक ढकालले साउदी अरबसँग सम्झौताका लागि पत्र आदानप्रदान भइरहेको बताए। ‘तर ठोस वार्ता हुन सकेको छैन्’,उनले भने,‘पत्र आदानप्रदानमै सीमित भइरहेको छ।’ पछिल्लो समय मलेसिया रोजगारी प्रभावित भएपछि साउदी दोस्रो गन्तव्य मुलुक बन्न पुगेको छ।

श्रम सम्झौता नहुँदा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को मूल्य मान्यताअनुसार कामदारले सेवासुविधा र सुरक्षा पाउन सकेका छैनन्। वैदेशिक रोजगार विभागका अनुसार साउदी अरबमा ५ लाखभन्दा कामदार कार्यरत छन्। एक दशक यता सात लाख ६५ हजार कामदार पुगेका थिए। उपसचिव ढकालका अनुसार सरकारले शून्य लागतमै श्रम सम्झौता गर्ने प्रस्ताव पठाएको छ। सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी प्रस्ताव गरिएको छ। साउदी जाने कामदारले औषधोपचार, दुईतर्फी हवाई टिकट, आवास, यातायात सुविधा कम्पनी वा रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने नेपालको प्रस्ताव छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले कुनै पनि सरकारले साउदीसँग श्रम सम्झौतामा तदारुकता देखाउन नसकेको बताए। घरेलु कामदारका कारण पनि सम्झौतामा असर परेको हुन सक्ने उनले बताए। सुरक्षितरूपमा घरेलु कामदार पठाउनुपर्ने उनले बताए। ‘सरकारसँग सहकार्य गरेर हामी अघि बढ्ने सोचमा छौं’, उनले भने,‘साउदी रोजगारी र सम्झौतामा सहजताका लागि व्यवासयीको टोलीले केही दिनमा भ्रमण गर्दै छ।’ संघका अध्यक्ष गैरेले कामदारको हित र सेवा सुविधा अरु देशका कामदारको भन्दा राम्रो हुनुपर्ने बताए।

न्यूनतम् पारि श्रमिक पाएनन्

सरकारले साउदी जाने कामदारको पारि श्रमिक घोषणा गरे पनि त्योभन्दा कम पारि श्रमिकमै कामदार जान बाध्य छन्। सरकारले गत वर्ष मन्त्रिपरिषद्मार्फत १३०० रियाल (करिब ४० हजार रुपैयाँ) भन्दा कममा कामदार नपठाउने निर्णय गरेको थियो। सरकारले साउदी अरब जाने अर्धदक्ष, दक्ष र व्यावसायिक कामदारको गत वर्ष न्यूनतम् पारि श्रमिक वृद्धि गरेको थियो। नेपालबाट क्लिनर, हेल्पर, स्विपर, अफिस व्यवसाय र वाचमेन जस्ता पेसामा काम गर्न साउदी जाने गरेका छन्।

Published on: 13 Dec 2019 | Annapurna Post

Link

Back to list

;