s

साउदीमा छैनन् अब अवैध नेपाली

Year of Publication: 24 January 2014 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

 

साउदी अरबमा रहेका अवैध नेपाली कामदारलाई स्वदेश फर्काउने कार्य लगभग सकिएको साउदीस्थित दूतावासले जनाएको छ।

दूतावासका अनुसार त्यहाँस्थित 'महिला सेल्टर' मा रहेका पाँच महिला मात्रै फर्कन बाँकी छन्।

अवैध कामदारलाई आममाफी (एम्नेस्टी) दिएर स्वदेश फर्काउने साउदी सरकारको कार्यक्रम सदुपयोग गर्नबाट वञ्चित करिब २ सय पुरुष कामदार पनि अघिल्लो सातासम्म नेपाल फर्किसकेको र बाँकी महिला यही साताभित्र फर्किसक्ने दूतावासले जानकारी दिएको छ।

 'दूतावासको सेल्टरमा अहिले पाँचजना महिलामात्र बाँकी छन्। उनीहरु पनि एक साताभित्र फर्किसक्छन्,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले नागरिकसँग टेलिफोनमा भने, 'त्यसपछि सेल्टरमात्र होइन साउदीमा अवैध नेपालीको संख्या शून्य हुन्छ।'

 दूतावासका अनुसार २०७० यता अवैध रुपमा कार्यरत करिब ३० हजार पुरुष र साढे २ सय महिला स्वदेश फर्किसकेका छन्।

 रोजगारदाताको यातना, दुर्व्यवहार र कुटपिट सहन नसकी भागेर वा उद्धार गरी सेल्टरमा राखिएका पाँच नेपाली महिला कामदार मात्र सेल्टरमा रहेको उनले जनाए। 'तीनजनाको नेपाल फर्कने प्रक्रिया सकिएको छ भने बाँकी दुईजनाको पनि साताभित्रै टुंगिन्छ,' पाण्डेले भने।

 साउदीमा अब ५ लाख वैध नेपाली कामदारमात्र बाँकी रहनेछन्।

 आगामी दिनमा नेपाली कामदार अवैध रुपमा रहने सम्भावना न्यून रहेको उनले जनाए।

 अवैध पुरुष तथा महिला कामदार उद्धारमा राज्यको लाखौं रुपैयाँ मासिक खर्च हुँदै आएको थियो भने कामदारले बिनाकारण मानसिक तथा शारीरिक यातना पाउँदै आएका थिए। रोजगारदातासँग भागेर वा उद्धार गरी ल्याइएकालाई दूतावासको सेल्टरमा राखेेर खाने, बस्नेेदेखि स्वदेश फर्किनेसम्म खर्च राज्यले बेहोर्दै आएको थियो।

 यातना सहन नसकी भागेर आउने महिलाको संख्या बढेपछि दूतावासमै उनीहरुका लागि छुट्टै सेल्टर व्यवस्था गरिएको थियो। एक दिनमा ८६ जना महिलासम्म सेल्टरमा राखिएको अनुभव दूतावाससँग छ। कम्तीमा पनि ५० महिला प्रत्येक दिन दूतावासको सेल्टरमा रहँदै आएका थिए।

 साउदी सरकारले गत वैशाख २८ बाट लागू हुनेगरी छमहिने एमनेस्टी (आममाफी) कार्यक्रम घोषणा गर्दै नयाँ कानुन कार्यान्वयनमा कडाइ गरेको थियो।

 'साउदीको नयाँ कानुनअनुसार अवैध कामदारलाई काममा राखेको भेटिए कामदार र रोजगारदाता दुवैलाई दुई/दुई वर्ष जेलसजाय हुने र रोजगारदातालाई एक लाख साउदी रियाल (करिब २६ लाख रुपैयाँ) जरिवाना हुन्छ। कडा कानुन कार्यान्वयनमा आएपछि कामदार अवैध हुने र त्यस्तालाई रोजगारी दिने कार्य रोकिएको हो,' राजदूत पाण्डेले भने।

 अवैध आप्रवासी कामदारलाई बिनासजाय स्वदेश फर्काउन साउदीले गत वैशाखमा आममाफी कार्यक्रम घोषणा गरेको थियो जुन कात्तिक १७ गते सकिएको हो। आममाफी कार्यक्रममा वैध भई साउदीमै काम गर्ने र 'एक्जिट भिसा' लिई स्वदेश फर्कने दुइटा अवसर दिइएको थियो। यो कार्यक्रमअन्तर्गत साउदीमा वर्षौंदेखि अवैध भई काम गरिरहेका २८ नेपाली गत वैशाखदेखि कात्तिक महिनासम्म 'एक्जिट भिसा' लिई स्वदेश फर्केका थिए भने ७ हजार वैध बनेर त्यहीँ काम गरिरहेका छन्। आममाफी अवसरबाट वञ्चित बनेका करिब २ सय नेपालीलाई पनि दूतावासले स्वदेश फर्काइसकेको छ। उनले थप स्पष्ट पारे, 'अब साउदीमा अवैध नेपाली पुरुष कामदार छैनन्।'

 दूतावासका अनुसार २०७० वैशाखयता मात्र सेल्टरमा रहेका २ सय ५६ जना महिलालाई नेपाल फर्काइएको छ। अघिल्लो वर्ष यो संख्या ३ सय ४९ थियो। पछिल्लो ३० महिनामा करिब एक हजार महिलालाई दूतावासले शरण दिई स्वदेश फर्काएको छ।

 आममाफी कार्यक्रमअघि जाँदा वैध रुपमा गए पनि त्यहाँ पुगेपछि दलालको प्रलोभनमा नेपाली कामदार अवैध बन्ने गरेका थिए। करार सम्झौता भएको रोजगारदाताले भन्दा अरुले बढी तलब दिने लोभ देखाई दलालले आप्रवासी कामदारलाई भगाई अन्यत्र लैजाने प्रचलन व्याप्त थियो।

 साउदीमा सम्झौताअनुसारका रोजगारदातालाई छाड्नेबित्तिकै कागजात अभावमा अवैध हुने अवस्था थियो। कामदार साउदी प्रवेश गर्नासाथ राहदानी रोजगारदाताले नै राख्ने गरेकाले उनीहरु अवैध बन्थे। कागजातबिनाका यस्ता कामदारलाई अन्य रोजगारदाताले कम सेवासुविधामा काम लगाउने र यातना दिने प्रवृत्ति थियो। एमनेस्टी आह्वान र त्यसपछि ल्याइएको कानुनले यो सबै प्रवृत्तिको अन्त्य गरिदिएको बुझाइ दूतावासको छ।

 'अवैध महिला तथा पुरुष कामदारलाई अब रोजगारदाताले राख्दैनन्। एमनेस्टीको फाइदा नै हो। सधैंका लागि समस्या समाधान भएको छ,' राजदूत पाण्डेले भने।
 

Published on: 24 January 2014 | Nagarik


 

Back to list

;