s

सर्भर नबनेपछि पोखराको श्रम कार्यालयमा वैकल्पिक व्यवस्था

Year of Publication: 14 August 2019 | Onlinekhabar

Published by: CESLAM

सर्भरमा समस्या आएका कारण गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयमा ३ दिनदेखि रोकिएको सेवा मंगलबारदेखि सञ्चालनमा आएको छ । समस्या आएको सर्भरको वैकल्पिक व्यवस्था गरेर सेवा सुरु गरिएको कार्यालयले जनाएको छ । कार्यालयको आँखा स्क्यान गर्ने मेसिन ‘माइक्रो टिट डिभाइस’मा समस्या आएपछि आइतबारदेखि सबै सेवा ठप्प भएको थियो । डिभाइसमा समस्या आएका कारण सेवाग्राही मर्कामा परेका थिए । जसको प्रत्यक्ष कार्यालयमा श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई परेको थियो । डिभाइस कहिले बन्छ भन्नेबारे कर्मचारी नै अनभिज्ञ हुँदा दिनहुँ सेवाग्राहीले कार्यालयमै दिन बिताउन बाध्य थिए ।

श्रम तथा वैदेशिक रोजगार कार्यालयका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले ‘माइक्रो टिट डिभाइस’ विभागसँगै जोडिएको हुनाले त्यसमा खराबी आउँदा तत्काल मर्मत गर्न नसकिने भएकाले वैकल्पिक उपाय अपनाइएको प्रष्ट्याए । ‘यो डिभाइस विभागसँगै लिंक हुन्छ । साधारण नेटले सेफ नहुने भएकाले यो प्रयोगमा ल्याएका हौं,’ उनले भने, ‘यसले बायोमेट्रिक आँखा चेक गर्छ । जुन यहाँको कम्प्युटर र विभागसँग सीधै जोडिएको हुन्छ ।’सूचना अधिकारी श्रेष्ठले डिभाइसकै कारण कार्यालयका अन्य सेवा पनि प्रभावित भएकाले सोमबारदेखि वैकल्पिक डिभाइसको व्यवस्था गरी काम सुरु गरिएको जानकारी दिए । ‘माइक्रो टिट डिभाइस जोड्न केही समय लाग्ने देखियो । त्यसको प्रभाव सीधै सेवाग्राहीलाई पर्ने देखियो,’ उनले भने, ‘त्यही भएर अर्को साधारण नेट जोडेरै आँखाको स्क्यान गर्ने काम गरिरहेका छौं ।’ विभागसँग जोडिएको माइक्रो टिट डिभाइसको सर्भर समस्या समाधान गर्न पनि आफूहरु लागिरहेको श्रेष्ठले जानकारी दिए । उनले भने, ‘माथि (विभाग)देखि टेक्निसियन आउनुभएको छ । माथिसँग डिभाइस लिंक गर्ने काम भइरहेको छ । हामी प्रयासमै छौं ।’

Published on: 14 August 2019 | Onlinekhabar

Back to list

;