s

सम्झौताअनुसार पहिलो पटक ८५० नेपाली जापान पठाइँदै

Year of Publication: 4 August 2022 | Setopati

Published by: CESLAM

जापानिज भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका युवाहरू छिट्टै जापान जान पाउने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भाषा तथा सीप उत्तीर्ण गरेका ८५० जना युवाहरू पठाउने प्रकृया अन्तिम चरणमा रहेको बताएको छ।

नेपालबाट निर्दिष्ट सीपयुक्त कामदार (स्पेसिफाइड स्किल्ड वर्कर) जापान पठाउने तयारी गरिएको हो।यसअघि सन् २०१९ मार्चमा स्पेसिफाइड स्किल्ड वर्कर जापान पठाउने गरी नेपाल र जापानबीच समझदारी भएको थियो।

जसअनुसार जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा युवाहरू पठाउने सहमती भएको थियो।

नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक प्रतिनिधिमण्डल कार्य समिति समेत बनेको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य छन्।

त्यस्तै, जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा एक प्रतिनिधिमण्डल समिति बनेको छ।

संयुक्त समितिको बैठक बिहीबार बस्ने मन्त्रालयले बताएको छ। बैठकले रोजगारीका लागि बृहत छलफल गर्नेछ। छिटो कामदार पठाउने विषयमा मन्त्रालयललाई सिफारिस गर्ने बताइएको छ।

नेपाल जापानबीच सरकार (जिटुजी) संयन्त्रमार्फत कामदार पठाउने गरी समझदारी भएको थियो। तर अझै भर्ना प्रकृयाका बारेमा स्पष्ट व्यवस्था गरिएको छैन।

कामदार कुन मोडालिटीमा पठाउने? कति समयको अन्तरालमा पठाउने? आतेजाते खर्च कसले बेहोर्ने? कामदारको मागपत्र कसरी ल्याउने? लगायतका विषय प्रष्ट पारिएको छैन।

Published on: 4 August 2022 | Setopati

Link

Back to list

;