s

सबथोक छाडेर कोरिया

Year of Publication: 9 June 2019 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

शनिबार र आइतबार गरी ९२ हजार ३ सय ५६ ले परीक्षा दिँदै छन् । यसमध्ये १० हजार ५० जना मात्रै कोरिया जान पाउनेछन् ।

विद्या राई

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्घाटनका बेला प्रधानमन्त्री केपी ओलीले शुक्रबार भक्तपुरमा भनेका थिए, ‘काम नपाएर अब कोही नेपाली बिदेसिनुपर्दैन ।’ प्रधानमन्त्रीको आसलाग्दो भाषण सुनेकै भोलिपल्ट संखुवासभा, चेवाका २१ वर्षीय कर्णबहादुर अधिकारीले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षा दिए । तीनकुनेस्थित भीएस निकेतन परीक्षा केन्द्रमा कोरियाली भाषा परीक्षा दिन आएका परीक्षार्थी । तीनकुनेस्थित भीएस निकेतन केन्द्रबाट परीक्षा दिएका उनले भने, ‘दक्षिण कोरिया जाने पहिलो खुडकिलो भनेकै भाषा पास गर्नु रहेछ । त्यसैले परीक्षा दिएको हुँ ।’ अधिकारी शंकरदेव क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तेस्रो वर्षका विद्यार्थी हुन् । तीन वर्षअघि गाउँ छाडेर उच्चशिक्षाका लागि काठमाडौं छिरेका उनलाई आर्थिक समस्याले गर्दा कोरिया जाने योजनामा पुर्‍यायो ।

एसएलसी पहिलो र प्लस टु दोस्रो श्रेणीमा पास गरेका थिए । पढाइ सरासर सक्ने र स्वदेशमै स्वरोजगार बन्ने सपना बुनेर उनी काठमाडौं आएका थिए ।‘काठमाडौंमा पढाइ राम्रो हुन्छ भनेर गाउँबाट आएको थिएँ, कोरिया जान होइन,’ उनी भन्छन्, ‘तर सजिलो रहेनछ, यहाँ बसेर पढ्न र गरिखान पहिला खर्चको जोहो गर्नुपर्ने रहेछ ।’ बूढानीलकण्ठमा साथीसँग मिलेर बस्ने उनले मासिक ३ हजार रुपैयाँ भाडा तिनुपर्छ । बढदो महँगी र आर्थिक अभावकै कारण केही समयदेखि वैदेशिक रोजगारीको प्रयासमा उनी जुटेका हुन् । केही महिनाअघि जापान जाने प्रक्रियामा लागेर असफल भएपछि कोरियन भाषा सिकेका हुन् ।आमाबुवाका ६ सन्तानमध्ये कान्छा उनलाई आर्थिक जोहो गर्नुपर्ने बाध्यता रहेछ । उनका बुवा साउदी अरबमा मजदुरी गर्छन् । भन्छन्, ‘पढाइ छाडेर रोजगारीमा जुट्नैपर्ने मेरो बाध्यता हो ।’

हेटौंडाकी १९ वर्षीया सुनिता तामाङले पनि बीएड पहिलो वर्ष पढ्दापढ्दै कोरियाली भाषा परीक्षा दिइन् । हेराल्ड इन्टरनेसनल कलेजमा अध्ययनरत उनले कोरियन भाषा सिक्ने समय छुट्याउनुपर्दा बीएडको परीक्षा दिन पाइनन् । गाउँभरका प्रायः अग्रजले कोरियन भाषा सिकेका छन् । घरैपिच्छे रोजगारीका लागि कोरिया पुगेका छन् । उनका दाजु पनि रोजगारीका लागि कोरिया पुगेको दुई वर्ष भयो । ‘जति पढेलेखे पनि यता जागिर नपाइने रैछ, कमाउन विदेश जानैपर्ने रैछ, अहिल्यैदेखि कोसिस गरौं भन्ने लाग्यो । दाजुले पनि रहर भए परीक्षा दिनू भन्नुभो,’ उनले सुनाइन् । कर्णबहादुर र सुनिता मात्र होइन, ईपीएसको परीक्षा दिने धेरैको कथाव्यवथा उस्तैउस्तै छ ।

वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाका अनुसार शनिबार र आइतबार गरेर ९२ हजार ३ सय ५६ युवायुवतीले परीक्षा दिँदै छन् । यसमध्ये १० हजार ५० जना मात्रै कोरिया जान सक्ने ईपीएस शाखाका प्रवक्ता शोभाकर पराजुलीले जानकारी दिए । काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् । कोरिया जाने सीमित कोटाका लागि भाषा परीक्षा दिनेहरू बर्सेनि बढिरहेका छन् । सन् २०१८ मा ८२ हजार २ सय ३५ ले परीक्षा दिएका थिए । त्यसमा ७ हजार ९ सय ९६ मात्रै पास भएका थिए । प्रतिस्पर्धा गरेरै पनि कमाउन कोरिया पुग्ने चाहना नेपालीको ‘पहिलो सपना’ बन्दै गएको छ ।

मोरङ, बेलबारीका ३७ वर्षीय कुलबहादुर रोकाले यसअघि दुई पटक ईपीएस परीक्षा दिइसके । तेस्रो पटक परीक्षा दिनकै लागि काठमाडौं आएका उनले भने, ‘राजनीतिक अस्थिरताका कारण देशमा रोजगारी छैन, काम गाह्रो भए पनि कोरियामा तलब राम्रो छ । आफ्नो परिवार र संस्कार बिर्सेरै भए पनि कोरिया जाने सपना छ, त्यसैको कोसिस गरिरहेको छु ।’ खाडी देशको तुलनामा राम्रो सेवा, सुविधा, सम्मान र काम गर्ने वातावरण पाइने भएकैले नेपाली युवामा कोरिया मोह बढेको पहिलोपल्ट परीक्षा दिन लागेका ३० वर्षीय मिन्सो सुब्बा बताउँछन् । झापा, दमकका १८ वर्षीय वाङगेल तामाङ पनि सुब्बाको भनाइमा सहमत छन् । ‘निश्चित समय पढेपछि कमाउनैपर्ने हुन्छ, तत्कालका लागि घरबाट फोर्स नभए पनि आफ्नै सोचले भाषा सिकेर परीक्षा दिन काठमाडौं आएको हुँ,’ उनले भने ।

सन् २००८ देखि सरकारले कोरियाली भाषा परीक्षा लिएर काम गर्न जान पाउने बाटो खोलेको प्रवक्ता पराजुलीले जानकारी दिए । त्यसअघि म्यानपावर र व्यक्तिगत पहलमा न्यून संख्यामा कोरिया पुग्थे । ईपीएसमार्फत ६१ हजार ७ सय ४७ जना नेपाली रोजगारीका लागि कोरिया पुगिसकेका छन् । यस अवधिमा ५ लाख ८९ हजार ६ सय १८ जनाले परीक्षा दिएका छन् । तर ७० हजार ४ सय ६९ जना मात्रै उत्तीर्ण भए । ३९ वर्ष ननाघेका अदक्ष कामदारलाई कृषि तथा उत्पादनमूलक (उद्योग) समूहमा आकर्षक तलब दिएर कोरियाले आफ्नो देश लगिरहेको छ । अहिले नेपाली कामदारको न्यूनतम तलब मासिक एक लाख ७० हजार रुपैयाँ तोकिएको छ । कोरियाका हकमा सरकार आफैं कामदार पठाउने प्रक्रियामा संलग्न छ । खाडी देशमा जस्तो श्रम शोषण र ठगी हुने जोखिम कोरियामा निकै कम छ । कोरियाले यस वर्षदेखि सीपमा जाँच दिन भाषा परीक्षामा पास हुनैपर्ने प्रणाली लागू गरेको छ । हाल उत्तरपुस्तिका रेजा लगाएर ‘म्यानुअल’ रूपमा दिनुपर्ने परीक्षा आगामी वर्षबाट कम्प्युटर आधारित हुनेछ ।

एक पटक भाषा परीक्षा उत्तीर्ण गरेपछि नेपालीले दुई पटक गरी नौ वर्ष आठ महिना कोरिया बस्न पाउँछन् । पहिलो ४ वर्ष १० महिना नकटदै कामदारले श्रम सम्झौता नवीकरण गर्नुपर्छ ।त्यसपछि थप ४ वर्ष १० महिना समय थपिन्छ । यसले गर्दा कोरिया नेपाली युवाको रोजगारीका लागि आकर्षक गन्तव्य बन्दै गएको प्रवक्ता पराजुलीले बताए । सरकारले चालु आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यमा रोजगारीका अवसर सिर्जना गरी पाँच वर्षभित्र कुनै पनि नेपाली नागरिक बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ ।

नेपाली युवालाई स्वदेशमै रोजगारी दिने भनिरहे पनि कोरियन भाषा सिकाउँदै युवालाई विदेश पठाउने काममा सरकारले आफै संलग्न छ । ईपीएस शाखाका अनुसार शनिबार बिहान र दिउँसो गरी ४६ हजार १ सय ९६ जनाको परीक्षा तोकिएको थियो । परीक्षामा ४ हजार ३७ जना अनुपस्थित थिए । ४७ जना नक्कली परीक्षार्थी पनि पक्राउ परे । परीक्षाको नतिजा १९ दिनमा प्रकाशित हुने जानकारी दिइएको छ । ‘पास हुँदैमा कोरिया जान पाइन्छ भन्ने ग्यारेन्टी हुँदैन,’ पराजुलीले भने । एक पटक पास गरेको नतिजा दुई वर्षका लागि मात्रै मान्य हुने भएकाले परीक्षा पास गरेका कति नेपाली कामको पर्खाइमा छन् भन्ने यकिन तथ्यांक नरहेको उनको भनाइ छ ।

Published on: 9 June 2019 | Kantipur

Back to list

;