s

सबै बिषय टुंगियो, तै पनि खुलेन मलेसिया

Year of Publication: 20 November 2018 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

मलेसियासँग श्रम समझदारी भएपछि गठन भएको दुई देशका अधिकारीहरु सम्मिलित संयुक्त कार्यदलले सबै बिषयहरु टुंगो लगाएको छ। संयुक्त कार्यदलले बैठकले गरेका निर्णयहरु श्रम मन्त्रालयसमक्ष  बुझाएको छ ।  गत कात्तिक १२ गते मलेसियासँग श्रम समझदारी भएपछि नेपालका तर्फबाट सहसचिव कृष्णप्रसाद ज्ञवाली र मलेसियाका तर्फबाट उपसचिव बेट्टी हसनको नेतृत्वमा कार्यदल गठन भएको थियो। 'हामीले मलेसियन सरकारसँग सहमति गरेर सबै विषय टुंग्याएर मन्त्रीलाई दिइसकेका छौं,' कार्यदलका एक सदस्यले भने, 'कुनै विषय बाँकी छैन्।' मलेसिया कहिले खुल्छ भन्ने सन्दर्भमा उनले त्यो विषयमा मन्त्री ज्युसँग लाई सोध्न आग्रह गरे। कार्यदलले सबै बिषय टुंग्याएपनि श्रम मन्त्रालयले भने मलेसिया खोल्नका ग्रिन सिंग्नल दिएको छैन् । अक्टोवर २९ तारिखमा नै सबै विषयहरुमा सहमति जुटाएर मलेसियन कार्यदल त्यसको भोलिपल्ट स्वदेश फर्किए पनि श्रम मन्त्रालय भने अझै कार्यदल सक्रिय रहेको बताउँदै आएको छ। कार्यदलमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वकर्ता सहसचिव ज्ञवालीको श्रम मन्त्रालय अन्यन्त्र सरुवासमेत भइसकेको छ। अक्टोवर २९ तारिखमा नै कार्यदलको बैठक बसेर अब नबस्ने गरी सकिएको छ।

श्रम मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मी कार्यदल अझै सक्रिय भएको र कार्यदलले सबै विषय टुंग्याएपछि मलेसिया खुल्ने दाबी गर्छन् । कार्यदलले श्रम समझदारीले टुंग्याउन नभ्याएको कलिङ भिसा आएर मलेसिया जान नपाएका कामदारको समस्या सुल्झाउने लगायतका अन्य जिम्मेवारी पाएको थियो । मलेसिया र नेपालका उच्च अधिकारीहरु गठित कार्यदलले कलिङ भिसा आएकाहरुलाई मलेसिया जान दिने, मेडिकल गरेर ३ महिनासम्म बसेकाले पुन मेडिकल गर्नु नपर्ने, ३ महिना नाघेको भए पुन मेडिकल जाँच गर्नुपर्ने उल्लेख छ। पुन मेडिकल जाँच गर्दा कामदारले रकम तिर्नु नपर्ने पनि सहमति भएको थियो।  त्यस्तै सेक्युरिटी स्क्रिनिङ गरेकाहरुले ६ महिना नाघेको भए फेरि गरेर मलेसिया जानुपर्ने र ६ महिना ननाघेको भए पहिले गरेकै आधारमा मलेसिया जान सक्ने सहमति कार्यदलमा भएको थियो। भिसा नाघेकाहरुको हकमा उनीहरुलाई ब्ल्याकलिष्टमा नराख्नेमा पनि मलेसियन सरकार लचक भएको थियो। स्वास्थ्य परिक्षण र भिसाका बारेमा दुई देशका अधिकारीले संस्था परिवर्तन गर्नुपर्छ भनेका छैनन् । पहिलाको भिसा लगाउने संस्था भिएलएनविरुद्ध अदालतमा विचाराधिन मुद्दा रहेकोले ती संस्थालाई पुन अनुमति दिन नहुने मनसायमा मन्त्री गोकर्ण विष्ट रहेका छन् । श्रम मन्त्रालयकै उच्च अधिकारी भने अवको एक हप्तामा मलेसिया खुलाउने गरी काम भइरहेकाे दाबी गर्छन् ।

Published on: 20 November 2018 | Setopati

Back to list

;