s

रुससँग उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

Year of Publication: 25 July 2024 | Kantipur

Published by: CESLAM

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा रुसी सरकारसँग उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा बुधबार मन्त्री राणाले भनिन्,‘रुससँग उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको छ ।’

यसअघिका दुई परराष्ट्रमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र एनपी साउदले पटक–पटक आग्रह गर्दासमेत रुसले नेपाली पक्षको चासोलाई सम्बोधन गरेको भने छैन ।

मन्त्री राणाका अनुसार रुस–युक्रेन युद्ध भएदेखि हालसम्म रुसी सेनामा भर्ती भई युद्धमा मर्ने नेपालीको संख्या ३४ पुगेको छ । साथै, २२ जनाको डीएनए फरीक्षणका लागि दिइएको छ । यस्तै, हालसम्म युक्रेनमा युद्धबन्दी रहेका ६ जना रहेका छन् ।

मन्त्री राणाका अनुसार घाइते भई उपचारमा रहेका व्यक्तिको संख्या ५ छ । मस्कोस्थित नेपाली दूतावासले समन्वय गरी रुसी सेनाबाट नेपाल फर्केकाको संख्या १५० छ ।

हालसम्म उद्धारका लागि ३२३ जनाको आवेदन परेको छ भने सम्पर्क मै नरहेका भनी खोजी र फिर्ताका लागि निवेदन दिएको संख्या ११६ रहेको छ । घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको १६१ रहेका छ ।

साथै, मन्त्री राणाले प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका नेपाली विपिन जोशीको उद्धारका लागि नेपाल सरकारले सुरुदेखि नै उच्च तहमा द्विपक्षीय र बहुपक्षीयस्तरमा कूटनीतिक पहल निरन्तर रुपमा गर्दै आइरहेको बताइन् । गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको पनि मृत्यु भएको थियो भने जोशीलाई कब्जा गरेर लगेका छन् ।

Published on: 25 July 2024 | Kantipur

Link

Back to list

;