s

रोगी भन्दै दैनिक १२ जना कामदार मलेसियाबाट फिर्ता

Year of Publication: 5 February 2014 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

मलेसियाले दैनिक औसतमा १२ जना नेपाली कामदारलाई रोगी भन्दै फिर्ता गर्न थालेको छ। नेपालमा गरिएको स्वास्थ्य परीक्षण भरपर्दो नभएको दाबीसहित मलेसियाले नेपाली कामदारलाई धमाधम फिर्ता पठाउन थालेको हो।

गइसकेका कामदार फिर्ता आउँदा म्यानपवार, कम्पनी, स्वास्थ्य परीक्षण गर्ने संस्था र कामदारले ठूलो आर्थिक भार बेहोर्नुपरेको छ। हाल दैनिक ६ सय जनाभन्दा बढी नेपाली काम गर्न मलेसिया जाने गरेका छन्। सरदरमा एक सयजनामा दुईदेखि तीनजना कामदार रोगी भनेर फिर्ता हुने गरेका छन्।

एक सयमा दुईजनामात्र फिर्ता पठाएको मान्ने हो भने पनि दैनिक रोगी भनेर फिर्ता हुनेको संख्या १२ जना पुग्छ। यहाँबाट गएका कामदारले मलेसिया पुगेको एक महिनाभित्र अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने नियम छ।

मलेसियाले रोगी भनेर फिर्ता पठाएका अधिकांश कामदार नेपालमा आएर पुन: परीक्षण गर्दा उनीहरूमा कुनै पनि रोग नदेखिएको यहाँका स्वास्थ्य परीक्षण गर्ने संस्था र म्यानपावर व्यवसायीले बताएका छन्।

फिर्ता हुँदा सबैभन्दा बढी नोक्सान जाने कामदारलाई परेको छ। स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएका कामदार फिर्ता आउँदा करिब ६० हजार रुपैयाँमात्र फिर्ता पाउँछन्। तर, जानका लागि एकजना कामदारले न्यूनतम डेढ लाखदेखि तीन लाख रुपैयाँसम्म खर्च गरेको हुन्छ।

ग्रामीण क्षेत्रबाट विदेश जाने कामदारले सामान्यतया २४ देखि ३६ प्रतिशतसम्म ब्याज तिर्ने गरी ऋण लिएका हुन्छन्।

नेपालका म्यानपावर व्यवसायी र स्वास्थ्य परीक्षण गर्ने संस्थाले भने मलेसियाले सामान्य रुघाखोकीका बिरामीलाई समेत रोगी भनेर फिर्ता पठाउने गरेको दाबी गरेका छन्। छातीमा सामान्य दाग देखिएका, कोठी भएका वा रुघाखोकीका कारण सामान्य अस्वस्थ भएका व्यक्तिलाई समेत क्षयरोग लागेको भन्दै फिर्ता पठाउँदा चर्को समस्या उत्पन्न भएको उनीहरू बताउँछन्। मलेसियाले स्वास्थ्य परीक्षणमा असफल भनेकामध्ये ९० प्रतिशतभन्दा बढीलाई क्षयरोग लागेको उल्लेख गर्ने गरेको छ।

'कुनै दाग देखियो कि क्षयरोग लागेको भनेर फिर्ता पठाउने गरिन्छ', नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष टंकबहादुर राउत भन्छन्, 'एक रात सुत्न नपाए पनि कामदार स्वस्थ नभएको जस्तो देखिन्छ। त्यस्ताको स्वास्थ्य परीक्षण गरेर रोगी भन्ने प्रवृत्ति बढी देखिएको छ।'

नेपालमा स्वास्थ्य परीक्षण गरे पनि मलेसिया गए पनि गर्नै पर्ने र त्यहाँ परीक्षण गर्दा कुनै समस्या देखिएमा तुरुन्त फिर्ता पठाइदिने गरिएको छ। शरीरमा सामान्य दाग वा रुघाखोकी लागेकालाई समेत क्षयरोग वा अन्य प्रकारको रोग लागेको भनेर फिर्ता पठाउँदा कामदारले ठूलो मानसिक र आर्थिक क्षति बेहोर्नुपरेको छ।

मलेसिया र खाडी मुलुकमा जाने अधिकांश कामदार ग्रामीण क्षेत्रका अशिक्षित र न्यून आर्थिक अवस्थाका हुन्छन्। गाउँघरमा साहुमहाजनसँग चर्को ब्याजदरमा ऋण लिएर कमाउन गएकाहरू एक महिनामै रोगी भन्दै फर्किनुपर्दा आर्थिक एवं मानसिकरूपमा समेत चर्को मारमा पर्न बाध्य भएका छन्।

मलेसियाले फिर्ता गरेका अधिकांश कामदार वास्तविक रूपमा रोगी नहुने भए पनि केही मात्रामा भने यहाँका स्वास्थ परीक्षण गर्ने संस्थाको लापरबाही हुने गरेको व्यवसायी बताउँछन्। बिदेसिने कामदारले स्वास्थ्य परीक्षणबापत २६ सय २५ रुपैयाँ तिर्नुपर्छ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष कुमुद खनाल छातीमा सामान्य दाग देखिएका व्यक्तिलाई समेत क्षयरोग लागेको भनेर हचुवाका भरमा फिर्ता गरिँदा चर्को समस्या उत्पन्न भएको बताउँछन्। 'फिर्ता पठाइएका व्यक्तिलाई यहाँ पुन: स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै रोग देखिँदैन', उनी भन्छन्, 'टाउको दुखेर डिकोल्ड खाएका व्यक्तिलाई समेत लागूपदार्थ सेवन गरेको भनेर फिर्ता पठाइएको उदाहरण छ।'

मलेसियाका रोजगारदाताले शरीरमा कुनै पनि दाग देखिएका वा नेपालका चिकित्सकले सामान्य रोग भनेकालाई समेत काममा नलगाउने थाहा हुँदाहुँदै पनि त्यस्ता व्यक्तिलाई पठाउने क्रम नरोक्नु व्यवसायी र स्वास्थ्य परीक्षण गर्ने संस्थाको कमजोरी रहेको फर्किएका कामदारको गुनासो छ।

नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठ नेपालमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टमा खोट लगाउने ठाउँ नभएको दाबी गर्छन्। उनी भन्छन्, 'शरीरमा पोलेको दाग वा कोठी भएका व्यक्तिलाई समेत क्षयरोगको लक्ष्ण भनेर फिर्ता गर्न थालिएको छ।'

मलेसिया सबैभन्दा बढी नेपाली काम गर्न जाने मुलुक हो। दैनिक १२ सयदेखि १५ सयजना काम गर्न विदेश जाने गरेकामा यो मुलुकमा जानेको संख्यामात्रै ६ सयभन्दा बढी हुने गरेको छ। मुलुक भित्रिने कुल रेमिट्यान्समध्ये मलेसियाबाट ३० प्रतिशत आउने गरेको छ।

पछिल्लो समय यो मुलुकले गैरकानुनी रूपमा बसेका विदेशी कामदारमाथि धरपकड सुरु गरेपछि करिब ३० हजार नेपाली फिर्ता हुने क्रममा छन्। अदक्ष विदेशी कामदार घटाउने रणनीतिअनुसार मलेसियाले धरपकड र रोगी भनेर फिर्ता पठाउने क्रम बढेको अनुमान गरिएको छ।

Published on:  5 February 2014 | Annapurna Post

Back to list

;