s

रेमिट्यान्सको टेकोमा दशैं ! वैदेशिक रोजगारीमा गएकालाई दबाव

Year of Publication: 24 September 2019 | Onlinekhabar

Published by: CESLAM

रवीन्द्र घिमिरे

७ असोज, काठमाडौं । दशैं आउन लाग्दा वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरुमा पनि आर्थिक दवाब बढ्न थाल्छ । उनीहरुले नेपालमा आफ्नो परिवारलाई जसरी पनि खर्च पठाउनैपर्ने बेला हो, यो ।

रोजगारीका सिलसिलामा लाखौं युवाहरु विदेशमा छन् । उनीहरुमध्ये केही छुट्टी लिएर दशैं मनाउन नेपाल आउँछन् । तर, अधिकांश विदेशी भूमिमै परिवार सम्झेर बस्न बाध्य छन् । आफूले दशैं मनाउन नपाए पनि नेपालमा परिवारलाई दशैं खर्च पठाउने दायित्व उनीहरुको काँधमा हुन्छ ।

मलेसियाको एक होटलमा काम गर्दै आएका चितवनका राकेश रिजालले भर्खरै दशैंका लागि घरमा खर्च पठाए । घरको दुःख हटाउने सपना बोकेर विदेश भासिएका उनलाई जसोतसो जोरजाम गरेर पैसा पठाउन सकिएकोमा आत्मन्तुष्टि मिलेको छ ।

‘घरमा ऊ बेला दशैं मान्न खर्च नभएर बुवाआमा छट्पटिएको देख्दा पिरोलिन्थेँ,’ फेसबुक म्यासेन्जरमा उनले भने, ‘अहिले आफूले दशैं मान्न नपाए पनि परिवार मनाएको तस्वीरहरु हेरेर चित्त बुझाउँछु ।’

विगतमा निम्न आयका नेपालीहरुले दशैं खर्चका लागि स्थानीय साहु महाजनकहाँ हात पसानुपथ्र्यो । यसरी साहुसँग चर्को ब्याजमा लिएको ऋणले दशैं मनाउने क्रम वैदेशिक रोजगारीले घटाइदिएको छ । विदेशबाट आउने रेमिट्यान्सले धेरै परिवारको दशैं उक्सिन्छ । त्यही भएर हरेक वर्ष दशैंमा रेमिट्यान्स आप्रवाह बढेको हुन्छ ।

गत आर्थिक वर्ष ०७५/७६ मा ८ खर्ब ७९ अर्ब २७ करोड रेमिट्यान्स नेपाल भित्रियो । यसअनुसार महिनामा औसत ७३.२५ अर्ब रमिट्यान्स नेपाल आउने गरेको देखिन्छ । तर, गत वर्ष असोज महिनामा मात्रै झण्डै ८९ अर्ब रेमिट्यान्स भित्रिएको थियो । अर्थात्, सामान्यभन्दा करिब १५ अर्ब बढी रेमिट्यान्स दशैंको सिजनमा भित्रिन्छ ।

चाडबाडको मुख्य सिजन असोज, कात्तिक र मंसिरमा मात्रै २२ प्रतिशत रेमिट्यान्स आउँछ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको थियो । दशैंतिहारको सिजन असोज र कात्तिकमा मात्रै १ खर्ब ५८ अर्ब रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यो नियमित रेमिट्यान्स आप्रवाहभन्दा उच्च हो ।

यो समयमा रेमिट्यान्स बढी आउने भएकाले आफ्नै कम्पनीमार्फत ल्याउन रेमिट कम्पनीले पनि अफरहरु ल्याउने छन् । दशैंमा आईएमई, सिटी एक्सप्रेस मनी ट्रान्सफर, प्रुभ मनी ट्रान्सफरलगायतले अफरहरु ल्याएका छन् । पैसा पठाउँदा विभिन्न आकर्षक उपहार र बम्पर उपहारहरु अफर गरिएको छ ।

सरकारी तथ्यांकहरुलाई आधार मान्दा पनि गाउँघर र शहर बजारका धेरै घरधुरीबाट विदेशमा काम या अध्ययनका लागि पुगेका छन् । विदेशमा हुनेले जोगाएर होस् या साथीभाइसँग ऋण मागेर भए पनि घरमा दशैं खर्च पठाउने गर्छन् । त्यसैले परिवारले खुलेर दशैं मनाउन सक्छन् ।

अर्थविदहरुको भनाइमा दशैं खर्चालु चाड हो । नयाँ कपडा किन्ने, मीठो मसिनो खाने र घरपरिवारसँग बसेर रमाउने मौका भएकाले पनि दशैं आर्थिक हिसावले महँगो पर्व मानिन्छ । उपभोगमा आधारित दशैं पर्वमा खानपिन र रमााइलो मात्रै हैन, कोसेली किनमेल, यात्रा र दान–दक्षिणा तथा पूजा–आजामा पनि उत्तिकै खर्च हुन्छ । यो महँगो पर्वलाई सजिलो गरी मनाउन सकिने अवस्था विदेशमा पुगेका युवाले सिर्जना गरेका छन् ।

‘कुनै बेला मासुभात खान दशैं नै पर्खिनुपथ्र्यो, नयाँ कपडा किन्न दशैं नै कुर्नुपथ्र्यो, यो अवस्था रेमिट्यान्सकै बलमा अन्त्य हुने चरणमा छ,’ अर्थविद तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘अब दशैं हिजोभन्दा झन् महंगो हुन थालेको छ ।’

उनी थप्छन्, ‘गाउँघरका करेसामा खुर्सानी पनि फलाइँदैन, मासु मात्रै हैन साग पनि बजारबाटै किनिन्छ । सकेसम्म पाकिस्तानी बासमती चामल खाएर दशैं मनाउने प्रचलन बस्न लागिसक्यो ।’

अर्का अर्थविद् नरबहादुर थापा रेमिट्यान्सबाट आउने रकमको ठूलो हिस्सा उपभोगमा नै खर्च हुने गरेको बताउँछन् । रेमिट्यान्स मुख्य रुपमा दैनिक उपभोगमा खर्च हुने गरेकाले त्यसले नागरिकको जीवनस्तर सुधार्न भूमिका खेलेको उनको भनाइ छ ।

‘दैनिक उपभोगपछि शिक्षा, स्वास्थ्यमा खर्च भइरहेको छ । बाँकी पैसा बैंकमा बचत गर्ने गरेका छन्,’ उनी भन्छन्, ‘त्यसरी बचत गर्नुको प्रमुख उद्देश्य भनेको घडेरी खरिद, घर बनाउन र खेती गर्ने जग्गा किन्नका लागि हो । र, यो विल्कुल स्वभाविक हो ।’

दशैंमा गरिने रेमिट्यान्सको उपभोगले अर्थतन्त्रलाई चलायमान गराउन ठूलो भूमिका खेल्ने गरेको अर्थविदहरूको दाबी छ । अर्थविद् क्षेत्रीका अनुसार हात मुख जोड्न धौ–धौ भएकाहरु नै बढीजसो कामका लागि विदेश पुगेका छन् । उनीहरुको ठूलो सपना भनेकै परिवारलाई सुखी र खुसी राख्ने हुन्छ । त्यसैले दशैंजस्तो चाडबाडमा विदेशमा बस्नेहरुले केही महिनाकै रकम जम्मा गरेर दशैंको सिजनमै पठाइदिन्छन् ।

Published: 24 September 2019 | Onlinekhabar

Back to list

;