s

रेमिट्यान्स निरन्तर घट्दो, मूल्य वृद्धिदर कम

Year of Publication: 19 December 2019 | Kantipur

Published by: CESLAM

गत वर्ष कात्तिकसम्म ३ खर्ब १२ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकामा यस वर्ष ३ खर्ब ४ अर्ब ९७ करोडमा सीमित भएको छ

विदेशमा काम गर्ने नेपालीले घर पठाउने रकम (रेमिट्यान्स) घट्ने क्रम गत कात्तिकमा पनि थामिएन । योसँगै पछिल्ला तीन महिना रेमिट्यान्स लगातार घटेको छ । अघिल्ला महिनामा रेमिट्यान्सको वृद्धि दरमा कमी आउने गर्थ्यो । यसपालि रकमै घटेको हो । खाडी राष्ट्रमा समस्या आएपछि ती राष्ट्रमा जाने नेपाली कामदार घटेको र त्यसको असर नेपालको कुल रेमिट्यान्समा परेको जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकका अनुसात गत कात्तिकसम्म ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यानस २.३ प्रतिशतले घटेको राष्ट्र बैंकको तीन महिनाको प्रतिवेदनले देखाएको छ । ०७५ कात्तिकमा साढे ३६ प्रतिशतको वृद्धि थियो । गत वर्ष कात्तिकसम्म ३ खर्ब १२ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

गत साउनयताका तीन महिना (भदौ, असोज र कात्तिक) रेमिट्यान्स क्रमश: ०.३, ४.६ र २.३ प्रतिशतले घट्यो । असोजको तुलनामा कात्तिकमा रेमिट्यान्स घट्ने दरमा भने कमी आएको छ । यसअघि आर्थिक वर्ष ०७४/७५ कात्तिकमा रेमिट्यान्स वृद्धिदर १.४ प्रतिशतले ऋणात्मक भएको थियो । गत वर्ष भने रेमिट्यान्स आप्रवाहमा बेग्लै परिस्थिति देखियो । सुरुका महिनामा रेमिट्यान्स वृद्धिदर ३७ प्रतिशतसम्म पुग्यो । चौथो/पाँचौं महिनादेखि रेमिट्यान्स वृद्धिदर ओरालो लाग्न थाल्यो । आर्थिक वर्षको अन्त्य (असार) सम्म आइपुग्दा रेमिट्यान्स वृद्धिदर साढे १६ प्रतिशत थियो । चालु आर्थिको वर्षको पहिलो महिनामा रेमिट्यान्स वृद्धिदर एक्कासि घटेर २ प्रतिशतमा सीमित भयो । त्यसपछि वृद्धिदर ऋणात्मक हुन थाल्यो ।

खाडी मुलुकका राष्ट्रमा समस्या आएपछि रेमिट्यान्स पनि घटेको जानकारहरू बताउँछन् । ‘मलेसियामा करिब १५ महिना नयाँ रोजगारी रोकियो, साउदी अरबको सरकारले स्थानीय कामदारलाई बढी प्राथमिकता दिन थालेको छ, नाकाबन्दीको कारण कतारमा नयाँ रोजगारी सिर्जना हुन सकेको छैन,’ नेपाल रेमिटर्स एसोसिएसनका उपाध्यक्ष चन्द्र टण्डनले भने, ‘अझै ४/५ महिना रेमिट्यान्स बढ्ने सम्भावना देखिँदैन ।’ यो अवधिमा अरू राष्ट्रबाट रेमिट्यान्स बढे पनि खाडीबाट आउने धेरै घटेकाले कुल रेमिट्यान्स घटेको उनले बताए ।

त्यसो त गत वर्षमा रोजगारीका लागि बिदेसिने नेपालीका संख्या घटेको थियो । तर, यो वर्ष यस्तो संख्या पनि बढ्दो छ । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत कात्तिकमा ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो । यस्तै पुन: श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो । गत वर्ष रेमिट्यान्स आप्रवाह वृद्धिदर उच्च हुनु (बेस इफेक्ट), रोजगारीमा मलेसिया जाने नेपालीको संख्यामा कमी आउनुलगायत कारण यो वर्ष रेमिट्यान्स घटे पनि बिस्तारै बढ्न थालेका राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘यो वर्ष रोजगारीमा जाने संख्या बढ्दो छ,’ उनले भने, ‘असोजको तुलनामा कात्तिकमा रेमिट्यान्स घट्ने दर कम हुनुले त्यो पुष्टि गर्छ ।’

शोधनान्तर बचत २७ अर्ब २९ करोड

अघिल्लो वर्षको सबै महिना घाटामा रहेको शोधनान्तर स्थिति यो वर्षको सुरुदेखि नै बचतमा छ । प्रत्यक्ष वैदेशी लगानी बढेको, आयात वृद्धिदर घटेको, निर्यात वृद्धिदर बढेकोलगायत कारण शोधनान्तर बचतमा रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत कात्तिकसम्म शोधनान्तर स्थिति २७ अर्ब २९ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा यो ५७ अर्ब ३३ करोड रुपैयाँले घाटामा थियो ।

यो अवधिमा आयात घटेको, निर्यात बढेको, पर्यटन आय बढेको, पर्यटन खर्च घटेको बिजुलीको आयातलगायतका कारण शोधनान्तर बचत बढ्न थालेको अनुसन्धान विभाग प्रमुख भट्टले बताए । ‘स्वदेशमा विद्युत् उत्पादन बढेपछि चार महिना बिजुली आयात घटेको छ,’ उनले भने, ‘गत कात्तिकसम्म ३ अर्ब रुपैयाँको बिजुली आयात भएको छ । गत वर्षको सोही अवधिमा ५ अर्बको आयात भएको थियो ।’

शोधनान्तर स्थिति बचतमा रहे पनि चालु खाता अझै ऋणात्मक छ । गत कात्तिकसम्म चालु खाता घाटा ३७ अर्ब ३० करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८८ अर्ब ४३ करोड रुपैयाँ थियो । चार महिनाको अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९२ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब २४ करोड रुपैयाँ रहेको तथ्यांक छ ।

मूल्य वृद्धिदर कम

अघिल्लो महिनाको तुलानमा गत कात्तिकमा उपभोग्य वस्तुको बजार भाउमा सुधार देखिएको छ । राष्ट्र बैंकका अनुसार गत कात्तिकमा उपभोग्य वस्तुको बजार भाउ ५.७६ प्रतिशतले बढ्यो । अघिल्लो महिनाभन्दा यो केही कम हो । तर, अघिल्लो वर्षको चार महिनाको तुलनामा बढी हो । ०७५ कात्तिकमा यस्तो वृद्धिदर ४.१५ प्रतिशत थियो ।

चार महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च छ । गैरखाद्य तथा सेवा समूहतर्फ घरायसी उपयोगिताका वस्तु एवं सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि केही बढी छ । यही कारण समग्र मूल्य वृद्धिदर करिब पौने ६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

क्षेत्रगत रूपमा हेर्दा काठमाडौं उपत्यकामा मूल्य वृद्धि सबैभन्दा बढी ६.५० प्रतिशत छ । यस्तै तराईमा ६.०४ प्रतिशत, पहाडमा ४.५६ प्रतिशत र हिमालमा ४.०१ प्रतिशत रहेको प्रतिवेदनले देखएको छ । ०७५ कात्तिकमा काठमाडौं उपत्यकामा ४.५० प्रतिशत, तराईमा ३.७९ प्रतिशत, पहाडमा ४.३१ प्रतिशत र हिमालमा ४.६२ प्रतिशत मूल्य वृद्धिदर थियो ।

Published on: 19 December 2019 | Kantipur

Link

Back to list

;