s
Year of Publication: 14 January 2021 | Nagarik
Published by: CESLAM
कोरोना महामारीअघिको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहेको बेला रेमिटेन्स वृद्धिको क्रम जारी छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिरसम्म) मा रोजगारीमा विभिन्न मुलुक गएका नेपालीले चार खर्ब १६ अर्ब रूपैयाँ रेमिटेन्स पठाएका छन्। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशतले बढी हो।
केरोना महामारीका कारण गत वर्ष चैतदेखि नै वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहेको छ। रेमिटेन्स भने त्यसयता निरन्तर बढिरहेको छ। कोरोना महामारी सुरु हुनुअघि रोजगारीका लागि त्रिभुवन विमानस्थल हुँदै दैनिक १२–१५ सय युवा विदेश जाने गरेकोमा अचेल दैनिक दुई–तीन सय उड्ने गरेका छन्। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको हालसम्म श्रम स्वीकृति लिएर करिब ४० हजार वैदेशिक रोजगारीमा गएका छन्।
कोरोना महामारीले समग्र अर्थतन्त्रमा नकारात्मक असर परिरहेको बेला रेमिटेन्स वृद्धि भइरहँदा सरकारलाई सहज भइरहेको छ। बढेको रेमिटेन्सले अर्थतन्त्रका अन्य सूचक सकारात्मक भइरहन सघाइरहेको छ। विभागले असोजयता श्रम स्वीकृति दिन थालेपछि वैदेशिक रोजगारी सुचारु भएको हो। केही महिनायता वैदेशिक रोजगारी सुचारु भए पनि कोरोना महामारीअघिको तुलनामा बिदेसिनेको संख्या बढ्न सकेको छैन।
तर निरन्तर रेमिटेन्स वृद्धि भरहनुलाई धेरैले आश्चर्य मानेका छन्। वैदेशिक रोजगारीलाई सूक्ष्म रूपमा नियालिरहेका विज्ञहरू नौ महिनादेखि विदेश जानेको संख्या घटिरहँदा पनि रेमिटेन्स वृद्धि भइरहनुले विगतमा हुन्डीमार्फत ठूलो रकम भित्रिने गरेको पुष्टि हुने बताउँछन्। महामारीपछि हुन्डी कारोबार फस्टाउन नपाउँदा रेमिटेन्स बैंकिङ च्यानलमार्फत आएको सम्बद्ध अधिकारीको भनाइ छ।
कोरोना महामाीपछि गन्तव्य मुलुकबाट समस्यामा परी ठूलो संख्यामा युवा फर्कने र जसले गर्दा रेमिटेन्समा उल्लेख्य गिरावट आउने धेरैको अनुमान थियो। त्यस्तो अनुमानविपरीत अहिलेसम्म न ठूलो संख्यामा कामदार फर्किका छन्, न रेमिटेन्समा गिरावट आएको छ। विभागका अनुसार कोराना महामारीपछि वैदेशिक रोजगारीमा गएकामध्ये करिब दुई लाख घर फर्किएका छन्। घर फर्किएकामध्ये कति रोजगारी गुमाएर र कति नियमित प्रक्रियाअन्तर्गत फर्किएका हुन् भन्ने यकिन छैन। समीक्षा अवधिमा श्रम स्वीकृति लिनेको संख्या भने ७७.९ प्रतिशतले घटेको छ। त्यस्तै पुनः श्रमस्वीकृति लिएर जाने नेपालीको संख्या ६९.४ प्रतिशतले घटेको छ।
शोधनान्तर स्थिति एक सय ६ अर्बले बचतमा
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म शोधनान्तर स्थिति एक सय ६ अर्ब ४८ करोड रूपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोड रूपैयाँले बचतमा थियो।
समीक्षा अवधिमा चालु खाता २१ अर्ब ३२ करोड रूपैयाँले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोड रूपैयाँले घाटामा थियो। त्यस्तै सोही अवधिमा विदेशी विनिमय सञ्चिति ५.२ प्रतिशतले वृद्धि भई १४ खर्ब ७४ अर्ब ३४ करोड रूपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब एक अर्ब ८४ करोड रूपैयाँ थियो। पाँच महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति करिब साढे १४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। समीक्षा अवधिमा पाँच खर्ब २५ अर्ब ५० करोड रूपैयाँको विभिन्न वस्तु आयात भएको छ भने ५० अर्ब ६ करोड रूपैयाँको निर्यात भएको छ।
Published on: 14 January 2021 | Nagarik
GET IN TOUCH