s

राजदूत लक्की शेर्पा सिआइबीको छानबिनमा

Year of Publication: 10 January 2019 । Naya Patrika

Publication Type: NEWS

Published by: CESLAM

नवराज मैनाली

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सात महिनादेखि अनुसन्धानको दायरामा राखेको खुलेको छ । अस्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोपमा सिआइबीबाट पक्राउ परेकी एक महिलाले राजदूत शेर्पासँगै मिलेर आफूले पैसा उठाएको बयान दिएपछि उनी अनुसन्धानको दायरामा तानिएकी हुन् । 

२ जेठमा पक्राउ परेकी सोलुखुम्बु गोरखानी गाउँपालिका–२ घर भएकी ३० वर्षीया फुल्हम शेर्पाले राजदूत शेर्पासँगै मिलेर आफूले अस्ट्रेलिया पठाउन व्यक्तिहरूसँग पैसा उठाएको बयान दिएकी थिइन् । फुल्हम राजदूत शेर्पाका पूर्वचालक ओङछु शेर्पाकी श्रीमती हुन् । फुल्हमविरुद्ध ठगी आरोपमा सिआइबीले पक्राउ गरी अनुसन्धान गरेपछि श्रीमान् ओङछु र राजदूत लक्कीको समेत मिलेमतो रहेको बताएकी थिइन् । 
 
सिआइबीले फुल्हम र ओङछुविरुद्ध २० लाख ६० हजार रुपैयाँ ठगीको आरोपमा जेठको अन्तिम साता मुद्दा दायर गरेको थियो । ओङछुलाई फरार अभियुक्त बनाएर मुद्दा दायर गरिएको छ । उनी हालसम्म अस्ट्रेलियामै छन् । उनलाई नेपाल ल्याउन प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरिसकेको छ । ‘चालक ओङछुलाई पक्राउ गर्न नसक्दा हामी राजदूतसम्म पुग्न सकेनौँ,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले भने, ‘नेपालबाट तीनजना लैजाने क्रममा राजदूत शेर्पा र चालक ओङछुबीच विवाद भएको देखिन्छ । दुईजनाको विवादकै कारण ती तीनजना जान नसकेको जस्तो देखिन्छ ।’ राजदूतले भान्छे, चालक तथा सहयोगीका रूपमा केही कर्मचारी लैजाने सक्ने प्रावधान छ । 
 
राजदूत शेर्पाले भनेपछि तीनजनासँग पैसा उठाएको फुल्हमको बयान
 
सिआइबीका अनुसार फुल्हम शेर्पाविरुद्ध तासी ल्यामु शेर्पा, निमदावा शेर्पा र निम्बुटी शेर्पाले जाहेरी दिएका थिए । तासीसँग चार लाख, निमदावासँग आठ लाख र निम्बुटीसँग १२ लाख रुपैयाँ उठाएको खुलेको छ । उनीहरू सबैलाई राजदूतको सहयोगीका रूपमा लैजाने भनेर पैसा उठाइएको थियो । राजदूत शेर्पाले आफूले तीनजना व्यक्ति कामदारका रूपमा दूतावासमा ल्याउन पाउने र त्यसका लागि पैसा उठाउन भनेको फुल्हमले बयान दिएकी छिन् ।
 
निमदावा शेर्पासँग लिएको ८ लाख आफ्नो श्रीमान्ले राजदूतलाई दिइसकेको उनको भनाइ थियो । उठाएको २० लाख ६० हजारबाट राजदूत लक्कीका श्रीमान् डवाङ सोनाम शेर्पाले आफूलाई एक लाख रुपैयाँ दिएको फुल्हमले बताएकी थिइन् । तर, त्यसको कुनै प्रमाण नभेटेपछि प्रहरीले डवाङलाई अनुसन्धानमा तान्न सकेन । राजदूत शेर्पाका पूर्वचालक ओङछु पक्राउ परेपछि मात्र यसमा उनको मिलेमतो रहेको–नरहेको प्रस्ट हुने सिआइबीका अधिकारी बताउँछन् । 
 
Published on: 10 January 2019 । Naya Patrika

Back to list

;