s

कतारमा सिंगो मुलुक

Year of Publication: 28 July 2013 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

होम कार्की

१५ जुलाई २०१२ तिर कतार एयरवेज हुँदै मध्यरात दोहामा पाइला टेक्दा विमानस्थल गेटैमा भेटिएका सहकर्मी दिनेश रेग्मी, राजेश्वर ढकाल र पंकज शर्माले उखरमाउलो गर्मीका विषयमा अत्ताइदिएका थिए । खाडीका यूएई, ओमन र लेबनानतिर स्थलगत रिपोर्टिङ गरिए पनि खाडीको वास्तविक 'ताप' सँग त्यति परिचित थिइनँ ।

छिनभरमै बाफ र तापबाट आएको रापिलो हावाको फरक गन्ध लिँदा यहाँको वातावरणमा आफूलाई ढाल्न गाह्रो पर्छ कि भन्ने थियो । कतार आएको दोस्रो दिनमै कवि विमल निभाको जस्तो अमेरिकामा बनेको ब्रान्डेड जुत्ता घामबाट पग्लनुपरेन । कहिले जमेलियाको गार्डेनतिर, कहिले उपरसाइडतिरका जुनेली कवि, कहिले वीरबहादुर र यामनाथहरूको कुटीतिर, कहिले अल्खोरियाको घाँसे मैदानतिरदेखि सनैयाका क्याम्मभित्र जिउ, खुट्टा नचलेर कम्पनीविरुद्ध आफ्नो क्षतिपूर्तिका लागि लडिरहेका विमल रामदामहरू त, कहिले हमाद अस्पताल बेडहरूमा सुतिरहेका गोरखा रुम्चाका कालु गुरुङ, डोलिया अधिकारी, रुकुमका मनोज केसीहरूको दिनचर्या बुझ्न दैलो चहार्दै एक वर्ष पुगेको पत्तै भएन ।

मुलुकबाहिर पारिवारिक बिछोड भईकन पनि रातदिन कडा परिश्रममा तल्लीन नेपालीको सुखदुःख नजिकबाट बुझ्न, देख्न र भोग्न पाइयो । सबैले 'बाध्यता' ठान्दै जस्तोसुकै परिवेशमा पनि आफूलाई अडिग र निडर भई कठिन काम सरल रूपमा गर्न सक्नु नै यहाँ नेपालीलाई 'मिहिनेती, इमानदार, लगनशील र सोझा' का रूपमा दर्ज गरिएको रहेछ ।

चार लाख हाराहारीमा कतारमा सबैका स्तरअनुसारका आफ्नै कथा छन् । उच्च सुखमा रम्ने नेपाली पनि बढ्दो छन् । जसलाई यहाँको गर्मी कस्तो हुन्छ भन्ने पनि राम्रोसँग अनुभव छैन । तर, पसिना बगेपछि नुन चाट्दै र पानी पिउँदै शक्ति सञ्चय गरी दैनिक १२ घन्टासम्म निरन्तर कडा परिश्रम गर्दा पनि खानका लागि पैसा नदिने, बास नदिने, वषौर्ंैसम्म गैरकानुनी हैसियतमा काममा लगाउने, घर जानुपरेमा 'सर्च एन्ड फलो डिपार्टमेन्ट' जानुपर्ने, वर्षभरिको हजारौं कमाइ माया मारेर जानुपर्ने सल्यानका मित्रलाल दमाईं, चितवनका कुलदीप थपोलिया, धादिङका भूपेन्द्र मल्लहरू, गोरखाका अर्जुन थापा, गोरखाकै गुनीराम मगरहरूले यो प्रवासमा आफ्नो राज्यको दरिलो उपस्थितिको अनुभव गर्न नपाउँदाको  हैरानीको हिसाबकिताब छैन ।

गोरखाकै मानबहादुर थापा, मोरङका गंगाराम राईजस्ता कामदार कम्पनीका बदमासी,  छलकपटका कारण ७ वर्षदेखि घर फिर्न नसकेकाको छुट्टै काहनी छ । ५ खर्ब १७ अर्बको बजेट पेस गर्ने देशको कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने खाडीमा पसिना बगाउने कामदारको श्रम पसिनाको रक्षा गर्ने कूटनीति छैन । हरेक आइतबारजसो हाम्रो दूतावासमा पुग्दा ओठ सुकेका, आँखा रसाएका, सबै सपना भत्किएका, हेपिएका, ठगिएका, पिटिएकाको ठेलमठेल हुँदा उनीहरूलाई राम्रोसँग बुझाउने, एकछिन शीतल प्रदान गर्ने, भरोसा दिने आफ्नो राज्य भेट्दैनन् ।

कतारभित्र सिंगो नेपाल रहेको भेटियो । यहाँ हरेक गाउँ, वडा र टोलका बासिन्दासँग प्रत्यक्ष छलफल गर्दा मुलुक बाहिरबाट देशको वास्तविक चरित्र र अवस्था पहिचान गर्न सकिएको स्थिति छ । जोसुकैले देशप्रतिको चासो, चिन्ता र माया दर्साउँदा आधुनिक नेपाली चित्रकलाका पहिलो अन्तर्राष्ट्रिय मास्टर लैनसिंह बाङ्देलकी पत्नी मानुले लेखेका हरफ यादकर छन्, 'मुलुकबाहिर हुँदा मेरा पतिको एक मूल मन्त्र थियो, आफ्नो देशलाई हरेक नेपालीले केही गर्नुपर्छ ।'

प्रवासमा घरपरिवार, गाउँ, देशको चिन्ता त छँदै छ । यताको कठिन वस्तुस्थितिमा अनेक परिबन्द परे पनि घरतिर नपुर्‍याउने प्रवासीको मन देख्न पाउनु अर्को अचम्म लागिरहेछ । त्यही भएर होला, आफूलाई पनि गत हप्ता इशुदिन मियाँ 'इशु' ले एउटा साहित्यिक कार्यक्रममा प्रस्तुत

'मेरो चिन्ता नमान आमा' कविताको सम्झना आउँछ,-

'यहाँ त्यहाँ जस्ता सेता हिमाल, हरिया वनपाखा र निला नदी छैनन्

त्यहाँका जस्ता सुनौला बिहनी र रमाइला दिनहरू पनि छैनन्

तर ती बिहानी, हरिया वनपाखा र निला नदीभन्दा पनि सुन्दर

यहाँ जैद्धापार्क छ, तरबार गेट छ आमा

जहाँ पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको एकता झल्किन्छ

नेपालीले नेपालीलाई दिने आत्मसम्मान मैले यहीं आएर भेटेको छु .........।

Published on: 28 July 2013 | Kantipur

Back to list

;