s

कतारमा पतिको मृत्युपछि गर्भवती पत्नीद्वारा आत्महत्या

Year of Publication: 15 August 2019 | Kantipur

Published by: CESLAM

रोजगारीका लागि कतारमा रहेका पतिको पौडी खेल्ने क्रममा समुद्रको छालले बगाएर ज्यान गएको खबर आएपछि ७ महिनाकी गर्भवती पत्नीले आत्महत्या गरेकी छन् । गत आइतबार इदको बिदा थियो । धनकुटाको साँगुरीगढी–३ का ३३ वर्षीय ललितबहादुर लिम्बू बिदा उपयोग गर्दै अलखेर समुद्र किनारमा पौडी खेल्न गएका थिए । उनको त्यहाँ मृत्यु भएको धनकुटा सेवा समाज कतारका महासचिव रविन मगरले बताए । १३ जना साथीसँगै पौडी खेल्ने क्रममा तीन जनालाई छालले बगाएको थियो । दुईजना सकुशल बाहिर आउन सफल भएका थिए ।

घटनाको एक घण्टापछि प्रहरीले उद्धार गरे पनि अस्पताल पुर्‍याउँदा लिम्बूको मृत्यु भइसकेको चिकित्सकले बताएका थिए । साथमा रहेका साथीहरूलाई प्रहरीले सोधपुछ गरेर राति ८ बजे छाडेको समाजले जारी गरेको विज्ञप्तिमा छ ।

लिम्बू समाजका निवर्तमान अध्यक्ष थिए । उक्त घटना फोनबाट जानकारी पाएपछि मोरङको सुन्दरहरैचा–५ सिद्धार्थ टोल बस्दै आएकी पत्नी ३१ वर्षीया टीकाकुमारी थापा लिम्बूले आत्महत्या गरेको प्रहरीले जनाएको छ । सात महिनाको गर्भवती उनले सोमबार साँझ ६ बजे बाथरुममा झुन्डिएर आत्महत्या गरेकी हुन् । पतिको मृत्यु भएको खबरपछि विक्षिप्त बनेकी उनले नुहाउन भनेर बाथरुम पसेर आत्महत्या गरेको ससुरा हर्कराज लिम्बूले बताए ।

बाथरुममा पसेर टीकामायाले पोखरामा रहेका भाइलाई मोबाइलमा आफूले आत्महत्या गर्ने म्यासेज पठाएकी थिइन् । भाइले तत्काल प्रहरी र आफन्तलाई खबर गरेका थिए । बाथरुमको ढोका फुटाएर हेर्दा उनको मृत्यु भइसकेको पाइएको हर्कराजले बताए । छोराबुहारीको मृत्युले ७० वर्षीय हर्कराज र ५९ वर्षीया हर्करानी शोकाकुल छन् ।

Published on: 15 August 2019 | Kantipur

Back to list

;