s

कतारका जेलमा नेपाली पीडा

Year of Publication: 21 September 2014 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

कतारका जेलहरूमा रहेका नेपालीको सूची लामै छ। सजाय पाएर कैद भुक्तानी गर्नेहरू ४० भन्दा बढी छन्। विभिन्न अभियोग लागेकै भरमा अनुसन्धान जारी भएकाहरूको भने एकिन सूची छैन। नेपाली दूतावासले अभियोग लागेकाहरूमाथि भेटघाट र सोधखोज गर्न थुना केन्द्रमा पुग्न गरेको छैन।

तलब मागेकै भरमा चोरी मुद्दामा लागेका नेपालीहरू ९ महिनादेखि भित्रै रहेको,अदालतले दुई सय रियाल धरौटी माग्दा पनि थुनिनुपरेको जस्ता बन्दीहरू सम्पर्कमा आउने गर्छन्। अभियोग लगेर अनुसन्धानमा बसिरहेकाहरू भन्ने गर्छन्, 'हाम्रो पक्षमा बहस गर्न कि वकिल राख्न दिनुपर्‍यो। होइन भने दूतावासले कतार सरकारलाई भनिदिनुपर्‍यो।'

मोरङ पथरीका सन्तबहादुर लिम्बु केन्द्रीय करागारबाट सरेर सफर -फिर्ती केन्द्र) जेलमा आइपुगेका छन्। इस्लाम धर्मालम्बीको पवित्र पर्व इदको अवसर पारेर दिइएको आममाफीमा पाएपछि उनी फिर्ती केन्द्रमा आइपुगेका हुन्। उनी अब स्वदेश फिर्ने प्रक्रियामा छन्। ३९ वर्षीय लिम्बु लागू औषध मुद्दामा जेल परेका हुन्। कतारी अदातलले उनलाई लागू औषधको मुद्दामा ३ वर्ष जेल र एक लाख रियाल जरिवाना सुनाएको थियो। त्यसमा एक लाख रियाल जरिवाना तिर्न नसक्दा थप ६ महिना सजाय काटे। जेल सकिनु २ महिना बाँकी रहँदा उनले आममाफी पाए। 'अहिले बाघको मुखबाट स्यालको मुखमा आइपुगेको छु', उनले भने।

कतारको साहनियाँमा ८ वर्षदेखि भेडाबाख्राको काम गर्ने उनी आफू 'निर्दोष' भएको दाबी गर्न छाडेका छैनन्। 'मेरो पक्षमा बहस गरिदिने वकिल भएको भए उत्तिखेर नै जेल बस्नुपर्ने थिएन', उनी भन्छन्, 'दूतावासलाई धेरै पटक भनियो। कहिले सुनुवाइ भएन। जसोतसो जेलसजाय पूरा गरेँ।'

उनका अनुसार मालिक लागूऔषध सेवन गर्ने रहेछ। जुन उनको सूचनामा थिएन। एकदिन भेडाबाख्रालाई स्याहारसुसार गरिरहेका बेला एक भ्यान प्रहरी आएर उनलाई हाँसिस -चरेस) माग्यो। 'मैले हासिस भनेको अर्थ बुझिनँ। छैन भनेर ढिपी गरेँ', उनले भने, 'त्यसपछि कुटपिट गर्‍यो। भेडीगोठमा छापा मार्दा पनि भेटेन।' प्रहरीले साथमा लिम्बुका मालिकलाई पनि ल्याएको रहेछ। जुन उनलाई देखाएको थिएन। चरेस नभेटेपछि प्रहरीले मालिकसमक्ष लिएर गयो। त्यहाँ लग्नेबित्तिकै मालिकले लिम्बुलाई भने, 'अस्ति मैले एउटा सानो झोला राख्न दिएको खै। त्यो झोला प्रहरीलाई दिनु।'

लिम्बुले त त्यो झोला गोठमै झुन्ड्याएर राखेका थिए। ढोका छेउमै झुन्ड्याएको त्यो झोला प्रहरीलाई दिए। 'त्यसमा त चरेस पो रहेछ', उनले भने, 'प्रहरीले मलाई पनि समात्यो र चरेस ओसारप्रसारमा मेरो संलग्नता रहेको भन्दै मुद्दा चलायो।' उनका मालिक सुरुमा ५० हजार रियाल धरौटीमा छुटे। पछि अदालतले १० वर्षको सजाय सुनाएपछि जेलमा गए। 'मलाई तीन वर्षको सजाय र एक लाख जरिवानाको सजाय आयो', लिम्बुले भने, 'भेडा चराउने मान्छेका लागि यो जति दुःखादायी के हुन्थ्यो र? मेरो तर्फबाट बोलिदिने कोही थिएन।'

पाखापनी ९, रोल्पाका ३० वर्षीय झक्कुप्रसाद ओलीको भने भिन्न मुद्दा छ। केन्द्रीय करागारबाट सबैभन्दा बढी सम्पर्कमा आउने कैदी हुन्। जो एउटी बालिकालाई छोएको अभियोगमा तीन वर्षका लागि थुनिएका छन्। जुन २१ मा तल्लो अदालतले सजाय सुनाएपछि सनैया जेलबाट केन्द्रीय जेलमा सरुवा हुन पुगेको छ। उनले तल्लो अदालतको फैसाला चित्त नबुझेपछि अपिल गर्न पुनरावेदनमा पुगेका छन्। 'म एउटा निर्दोष मान्छे। ममाथि अन्याय भएको छ,' उनको सधैं एउटै कुरो हुन्छु, 'वकिल भइदिए मैले मुद्दा जित्छु।' वकिल आफै राख्न सक्ने अवस्था छैन। कम्पनीले साथ दिएको छैन। आशा भरोसा भनेको नेपाली दूतावास र नेपाली समुदाय मात्रै हो।

वली ११ फेब्रुअरी २०१४ मा सेल्सम्यानको काम गर्न शिखर म्यानपावरलाई ९० हजार बुझाएर यता आइपुगेका हुन्। काम थालेको एक महिना नपुग्दै मार्च १६ मा पक्राउ हुनुपर्‍यो। 'दिउँसोतिर मार्केटमा काम गर्दै थिए। स्थानीय महिला बच्चासहित आइन्। तेल मागिन्। दिएँ। त्यसपछि बेसार मागिन्। त्यो झिक्ने क्रममा बच्चाको कम्मरमुनि लाग्यो', उनले भने, 'बच्चा मेरो पछाडि थियो।'

स्थानीय महिलाले भने जानीजानी बच्चा छोएको भन्दै प्रहरीमा उजुरी हालिन्। त्योभन्दा अघि वलीले महिलाको चप्पल र झापड भने गतिलोसँग भेटे। '३ मिनेटभन्दा बढी एकोहोरो स्थानीय भाषामा गालीगलौज भयो। मेरो पोसाक च्यातिदिइन्', उनले भने। पिटिसकेपछि प्रहरी बोलाएर जिम्मा लगाएको ओलीले बताए। कम्पनीले सहयोग गर्छ भन्नेमा वली ढुक्क थिए। कम्पनी पछाडि हट्यो। त्यसपछि दूतावास समक्ष गुहार मागे। दूतावास पनि समयमा पुग्न सकेन। 'अहिले पनि दूतावास मात्रै हो मेरा लागि', उनी भन्दै थिए, 'दूतावासबाट सहयोग हुन्छ कि भन्नेमा आशा गरिरहेको छु।'

पौवागौडा १, स्याङ्जाका कुशल कार्की मृत्युदण्ड पाएका कैदी हुन्। जलेश्वर १३, महोत्तरीका मोहम्मद इर्साद अन्सारीको हत्या गरेको मुद्दामा उनलाई यहाँको अदालतले गत ३१ मार्चमा मृत्युदण्डको सजाय सुनाएको हो। कार्कीलाई काममा लगाउने, तलब दिने काम अन्सारीले गर्दारहेछन्। उनले कारवासको काम थालेको ३ महिना मात्रै भएको थियो। काम गर्दा लगाउने पोसाक हराएको विस्तारित रूप हत्या हुन पुग्यो। 'पोसाक हराएपछि तलब रोकियो। विवाद भयो। पछि काम दिन पनि बन्द भयो,' उनले भने, 'एकदिन ड्युटी जबरजस्ती जान लाग्दा गाडी चढ्न दिएनन्। त्यो झोकमा भित्र गएर चक्कु ल्याएर उनीमाथि प्रहार गरें।'

आफ्नो क्याम्पअगाडि नै उनले अन्सारीको हत्या गरेका थिए। 'मबाट गल्ती हुन पुग्यो। यस्तोसम्म हुन्छ भन्ने सोचेको थिइनँ,' २५ वर्षीय अविवाहित कार्कीले भने, 'यसप्रति मेरो पश्चात्ताप छ।' कार्कीले हत्या स्वीकार गरेकाले अदालतले पनि फैसला ढिलाइ गरेन। यसमा छिट्टै कार्यान्वयन हुने डरले दूतावासबाटै अपिल गर्न कार्कीलाई लगाएको रहेछ।

कतारका जेलमा विभिन्न अभियोग लागेकाहरू छन्। त्यसमध्ये चोरी मुद्दामा बढी छन्। श्रम विवादमा परेर घर फिर्न खोज्ने पनि त्यस्ता मुद्दामा फसेका छन्। उनीहरू दूतावासमार्फत कानुनी लडाइँ लड्न चाहन्छन्। तर, जनशक्ति अभावमा दोहाको दूतावास चाहेर पनि उनीहरूलाई समय दिन सक्ने अवस्थामा छैन।

Published on: 21 September 2014 | Kantipur

Back to list

;