s

पुनः श्रमस्वीकृतिमा कडाइ, भिसामा उल्लेखभन्दा फरक काम गर्नेलाई इजाजत नदिइने

Year of Publication: 11 November 2019 | Kantipur

Published by: CESLAM

होम कार्की

वैदेशिक रोजगार विभागले भिसामा उल्लेख भएको पेसाभन्दा फरक काम गरिरहेका नेपाली कामदारलाई पुनः श्रम स्वीकृति नदिने भएको छ । अब बिदामा आएर पुनः सोही कम्पनीमा फर्कन चाहने कामदारले भिसामा उल्लेखित पेसा र गरिरहेको काम समान भएको कागजात देखाउनुपर्नेछ ।

ड्राइभर, अपरेटरलगायत प्राविधक भिसामा गएका नेपाली विभागको यो निर्णयबाट बढी प्रभावित हुने छन् ।

रोजगारदाताले भिसामा उल्लेख पेसा/पदअनुसार काम नदिँदा नेपाली कामदारले स्थानीय कानुनअनुसार पाउने सेवा–सुविधा गुमाइरहेको भन्दै विभागले कडाइ गरेको हो । यसबारे खाडी तथा मलेसियास्थित नेपाली दूतावासलाई विभागले जानकारी दिइसकेको छ । खाडीमा कार्यरत नेपाली कामदारले भने विभागको निर्णय ‘अव्यावहारिक’ भएको प्रतिक्रिया दिएका छन् ।

‘कतिपय कामदार सम्बन्धित कम्पनीमा अन्य पेसामा काम गर्ने तर भिसामा भने ड्राइभर, अपरेटर जस्ता खास सीप आवश्यक पर्ने प्राविधिक पेसा उल्लेख भएबाट निजको प्राविधिक दक्षता तथा सीप प्रमाणीकरण गर्ने कागजात अभावमा पुनः श्रमस्वीकृति दिन असम्भव देखिन्छ,’ विभागले कात्तिक १९ मा गरेको निर्णयमा भनिएको छ ।

नेपाली कामदारको हितका लागि यस्तो व्यवस्था लागू गरिएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले बताए । ‘नेपालबाट एउटा काम, तलब र कम्पनी भनेर पठाउने तर गन्तव्य मुलुकमा पुगेपछि भनेको तलब नपाइएको, अर्कै काममा लगाएको वा अर्कै कम्पनीमा पठाएको भनेर विभागमा आउने उजुरीको संख्या निकै ठूलो छ,’ उनले भने, ‘विवरण फरक परेकाको हकमा यो गल्ती सच्याउने अवसर हो । यसले अधिकारका लागि लड्न कानुनी आधार तयार हुन्छ ।’

वैदेशिक रोजगार ऐनको दफा १४ र १९ मा स्पष्ट काम, तलब, कम्पनीलगायत विवरण पूर्वस्वीकृति र अन्तिम स्वीकृतिमा एउटै हुनुपर्ने उल्लेख छ । दफा ५५ मा एउटा कम्पनी भनेर अर्को कम्पनी, एउटा काम भनेर अर्को वैदेशिक रोजगारीमा पठाउने वैदेशिक रोजगार व्यवसायीलाई कडा दण्डको व्यवस्था गरेको छ । यही व्यवस्थालाई विभागले कडाइपूर्वक लागू गरेको भुसालले बताए ।

‘अहिले हामीले तत्कालको समस्या हेरेर भविष्यमा श्रम सम्झौताका लागि एउटा कागजात पेस गर्ने, गन्तव्य मुलुकमा अर्कै करारनामामा काम गर्न बाध्य हुनुपर्ने र कामदार शोषित हुने अवस्था निम्त्याउने ढोका खोल्नुहुँदैन’, उनले भने, ‘गल्तीबाट नसिक्ने हो भने हामीले कहिल्यै सुधार गर्न सक्दैनौं ।’ खाडीमा कार्यरत कामदारले यो निर्णयको प्रभावकारी कार्यान्वयन भए आफूहरूको रोजगारी धरापमा पर्ने बताएका छन् । ‘मजस्ता लाखौं नेपालीले प्रवासमा आएर आफ्नो पेसा सिर्जना गरेका छौं ।

कम्पनीको पदमा स्वास्थ्य, सुरक्षा तथा वातावरण अधिकृत भए पनि भिसामा अहिलेसम्म टेक्निसियन नै छ,’ कतारमा १० वर्षदेखि काम गरिरहेका काभ्रेका नन्द ढुंगानाले भने । कतार स्टार अफ सर्भिसमा कार्यरत सिद्धार्थ मिश्रले आफूसँग कतारी चालक अनुमति नहुँदा पुनः श्रमस्वीकृति रोकिएको बताए ।

बिदामा नेपाल आइसकेका कामदारको हकमा वैकल्पिक व्यवस्था गरिएको महानिर्देशक भुसालले बताए । ‘उहाँ कार्यरत कम्पनीले जुन पदमा काममा लगाइरहेको थियो, कामदार कम्पनीमा पुगेपछि सोही पदमा करारपत्र र भिसालगायत कागजात अद्यावधिक गरिदिने प्रतिबद्धतापत्र विभागको आधिकारिक इमेलमा पठाएमा त्यसका आधारमा पुनः श्रमस्वीकृति दिइनेछ,’ उनले भने ।

Published on: 11 November 2019 | Kantipur

Link

Back to list

;