s

पुनः कोरिया जान पाउनुपर्ने मागसहित इपिएस कार्यालय घेराउ

Year of Publication: 26 June 2023 | Nagarik

Published by: CESLAM

ललितपुर ग्वार्कोस्थित कोरियन भाषा परीक्षा (इपिएस) कार्यालय घेराउ गरी रोजगारीका लागि कोरिया जाने सुनिश्चिता गर्न युवाहरूले माग गरेका छन्। आइतबार बिहान कोरिया जाने तयारी गरेका युवाहरूले कार्यालयअगाडि नाराबाजीसहित पहिला कोरिया गएर स्वदेश फर्किसकेकाहरू पुनः कोरिया जान पाउनुपर्ने मागसहित नाराबाजी गर्दै कार्यालय घेराउ गरेका हुन्।

कोरियामा काम गरेर फर्किएका नेपालीहरू पुनः स्वदेश फर्केर कोरिया भाषा पास अध्ययन गर्नुको साथै उत्तीर्ण पनि भएका छन् तर उनीहरूलाई कोरिया सरकारले भिसा पठाएको छैन।

वैधानिक रूपमा कोरियाबाट फर्किएकाहरूले लामो समयसम्म महामारीका कारण कम्प्युटर प्रणालीमा दिनुपर्ने परीक्षा दिन पाएका थिएनन्। नियमित परीक्षामा भाग लिएर नाम निकालेपछि पनि पछि आफूहरूको लेबर इग्रिमेन्ट जारी नभएको उनीहरूको भनाइ छ। कोरियामा एकपटक गएर फर्किएका कामदारभन्दा नयाँ कामदारको बढी माग भएपछि उक्त नाराजुलुसमा उत्रिएका युवाहरू आफूहरूमाथि विभेद गरिएको गुनासोसँगै पुनः कोरिया रोजगारिको लागि जान पाउनुपर्ने माग रहेको थियो।

सन् २०२२ को सेप्टेम्बरमा परीक्षा दिएर पास भएकाहरू पनि अझै कोरिया जान नपाएको भन्दै परीक्षार्थीहरू आन्दोलित भएका हुन्। कोरियाका लागि परीक्षा दिई पास भएका जम्मा संख्या १९ हजारमध्ये नयाँ १६ हजार थिए भने पुराना ३ हजार ६ सय रहेको इपिएस शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिए। तर कोरियाको लागि पास भएको नयाँ परीक्षार्थी लगभग पूरैलाई कोरिया जाने स्वीकृति कोरिया सरकाले दिएको छ भने ५ वर्ष कोरियामा नै बसेर आएका पुराना कामदारलाई भने छनोट नगरेको कटुवालले बताए।

‘कोरियामा काम गरी फर्किएका पुराना कामदारलाई विभेद गरिएको भन्दै बिहानै नाराबाजीसहित हाम्रो कार्यलयमा घेराउ गरेका थिए,’ उनले भने, ‘१९ हजार पास भएकामध्ये ३ हजार ६ सयजना एक कार्यकाल कोरिया बसेर फर्किएका थिए।’

परीक्षामा पास भई कोरिया गई फर्किएका पुराना कामदार पुनः परीक्षमा ३ हजार ६ सय जना पास भएका थिए। तीमध्ये ६ सय १३ जना कोरियाली सरकारले भिषा स्वीकृत दिएको तर बाँकी ३ हजार जति नै कोरिया जान नपाइएको युवाहरूको गुनासो थियो।

कोरिया पठाउने प्रक्रिया नेपाल सरकारबाट कोरिया सरकार (जीटुजी) प्रणाली हो। जसले सुरक्षित आप्रवासन सुनिश्चित गर्दछ। ‘कोरिया कामदार पठाउनको लागि सरकारको संलग्नताले काम खोज्नेहरूलाई समयमै, कुशलतापूर्वक, पारदर्शी, भरपर्दो, दिगो, निरन्तर र अर्थव्यवस्था छनोट र प्रस्थान सेवा प्रदान गर्ने इपिएसको कर्तव्य हो,’ निर्देशक कटुवालले भने।

भाषा प्रक्रिया कोरिया सरकारले नै लिने हो। ‘कोरियन भाषा पास भएका युवाहरूले रोजगार आवेदन फारम भर्छन्। इपिएस शाखाले ती भरिएको रोजगार फारम कोरिया पठाउने गर्छ,’ ‘निर्देशक कटुवालले भने, ‘कोरिया सरकारले ती रोजगार आवेदन फारम स्वीकृत गर्दछ। उक्त फारम २ वर्षको लागि रोस्टरमा सूचिकृत गरिन्छ। २ वर्षमा सूचिकृत भएका व्यक्तिहरूलाई कोरिया सरकारले छान्ने हो। त्यसरी युवाहरूलाई छान्ने क्रममा नयाँ परीक्षार्थी बढी भएका हुन्।’

कोरिया रोजगारदाताको पहिलो प्राथमिता कोरियामा काम गरेर फर्किएका कामदारलाइ कोरियामा पास भएका परीक्षार्थीलाई भिषा दिनुपर्ने इपिएस कोरिया शाखाको पनि माग रहेको कटुवालले बताए।

उनी भन्छन्, ‘कोरिया जाने यो खुला कोटा हो। माग गरेको देशको युवाहरूले कोरियन भाषा पढेर नाम निकाली कोरिया जाने प्रक्रिया हो। परीक्षामा पास भएपछि छनोट गर्ने प्रक्रिया कोरियाली सरकारको हुन्छ।’

पुराना कामदारहरूका नगन्य रूपमा कोरिया भिसा आएको हुँँदा श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयमा नाराबाजीमा उत्रिएका युवाहरूको माग पुरा गर्न कोरिया पठाउनको लागि कूटनीतिक पहल चाँडो गर्ने निर्देशक कटुवालले जानकारी दिए।

Published on: 26 June 2023 | Nagarik

Link

Back to list

;