s

प्रधानमन्त्री पत्नीलाई उन्मुक्ति, नेपाललाई कारबाही !

Year of Publication: 21 October 2022 | Kantipur

Published by: CESLAM

काठमाडौँ — एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीमा जान निःशुल्क भिसा, टिकट र तालिम पाइने अभिव्यक्ति दिएकामा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

रौतहट–१ का उम्मेदवार नेपालले आफूले चुनाव जिते युवालाई देशबाहिर रोजगारीको अवसर दिने आश्वासन बाँडेर आचारसंहिता उल्लंघन गरेको उल्लेख गर्दै आयोगले बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले नेपाललाई सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंबाट निर्वाचनको निष्पक्षता र स्वच्छतालाई प्रभावित गर्ने गरी फ्रि भिसा फ्रि टिकटमा युवालाई विदेश पठाउने भनी अभिव्यक्ति दिने कार्य निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएकाले तपार्इंलाई निर्वाचन आयोग ऐनअनुसार कारबाही किन गर्नु नपर्ने हो ? यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नु हुन निर्णयअनुसार जानकारी गराइन्छ ।’ आयोगले अध्यक्ष नेपालबाट स्पष्टीकरण नबुझ्दै निर्वाचन कसुर र सजाय ऐनको दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन बिहीबारै जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठाइसकेको छ ।

स्पष्टीकरण सोधेको पत्र लिएर आयोगका कर्मचारी एकीकृत समाजवादीको पार्टी कार्यालयमा गएका थिए । पार्टी कार्यालयले पत्र नबुझी फिर्ता पठाइदिएको छ । आयोगले प्रहरीलाई पठाएको पत्रअनुसार कारबाही अघि बढाउने हो भने नेपाललाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने हुन्छ । मुद्दा अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले प्रमाणका आधारमा कसुरमा संलग्न रहेको शंका लागेको व्यक्तिलाई पक्राउ गर्न आदेश दिन सक्छ । कानुनअनुसार हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भए अनुसन्धान अधिकारीले बाटोको म्यादबाहेक चौबीस घण्टाभित्र अदालतसमक्ष उपस्थित गराई हिरासतमा राख्नुपर्ने हुन्छ । सरकारी वकिलको कार्यालयले मुद्दा चल्ने/नचल्ने निर्णय गर्छ ।

नेपालले मतदातालाई लोभ लालच देखाएको र आर्थिक प्रलोभनमा पारेको आयोगको आरोप छ । यो आरोप पुष्टि हुने हो भने एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुनेछ । निर्वाचन आयोग भने नेता नेपाललाई निर्वाचन कसुरमा अनुसन्धान गर्न मात्र भनेको, कारबाही गर्न नभनिएको भन्दै पन्छिएको छ । ‘हामीले अभिव्यक्तिलाई कसुर दाबी गर्न मिल्ने नमिल्ने अनुसन्धान गर्न भनेका हौं, पक्राउ गर्न भनिएको होइन,’ आयोगका कानुन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले भने ।

अध्यक्ष नेपालले आफूले आचारसंहिताविपरीत अभिव्यक्ति कतै पनि नदिएको दाबी गरे । ‘सरकारले गरेको राम्रा कामको जानकारी जनतालाई सुनाएको हुँ, आचारसंहिताविपरीत कुनै कुरा बोलेको छैन, पैसा बाँडेको छैन, प्रलोभन दिएको छैन, भोज खुवाएको छैन, मतदाताको साथमा छु,’ उनले कान्तिपुरसँग भने, ‘जनताको पीडा पनि बोल्न नपाउने हो भने कसरी भाषण गर्ने हो, सिकाइदेओस् ।’

प्रधानमन्त्री पत्नी आरजु राणाले असोज २३ मा डडेलधुराको कार्यक्रममा युवालाई ‘फ्रि भिसा फ्रि टिकट’ मा विदेश पठाउने आश्वासन दिएकी थिइन् । उनले कैलालीका बेरोजगार चार सयभन्दा बढी युवालाई निःशुल्क भिसा र टिकटमा विदेश पठाएको समेत सुनाएकी थिइन् । राणाले स्थानीय तह निर्वाचनका बेला कैलाली पुगेर युवालाई वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिएकी थिइन् । आयोगले उनलाई भने स्पष्टीकरण सोधेन ।

‘प्रधानमन्त्री पत्नीले फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउँछु भन्दा पत्र पनि काट्न नसक्ने आयोगले मुलुकमा भएको व्यवस्थाको व्याख्या गर्दा स्पष्टीकरणसँगै कारबाही गर्न प्रहरीलाई पत्र पठाएको छ,’ समाजवादीका एक नेताले भने ।

‘फ्रि भिसा, फ्रि टिकट’ मा विदेश पठाइदिने भन्दै मतदातालाई आश्वासन बाँडेको आरोपमा बारा–४ का एकीकृत समाजवादीका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई पनि निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । श्रेष्ठलाई आयोगमा वा उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।

Published on: 21 October 2022 | Kantipur

Link

Back to list

;