s

पोर्चुगलमा ५५ सय नेपाली राहदानीविहीन

Year of Publication: 3 February 2023 | Nagarik

Published by: CESLAM

दिलीप पौडेल

मनग्य पैसा कमाउने सपना बोकेर बागलुङका योगेन्द्र थापा क्रोसिया, रोमानिया, साइप्रस हुँदै युरोपेली मुलुक पोर्चुगल पुगे। थापा पोर्चुगल पुग्दा बीचबाटोमै राहदानी हरायो। जेनतेन पोर्चुगल त पुगे तर अहिले नेपाली राहदानी नहुँदा थापाले काम पाउन सकेका छैनन्। ‘बीचबाटोमा अर्कोलाई राख्न दिएको राहदानी हरायो,’ थापाले पोर्चुगलबाट नागरिकसँग भने, ‘अहिले राहदानी नहुँदा काम पाइएको छैन।’ राहदानी नहुँदा पोर्चुगलमा उनले बैंक खाता खोल्न र काम गर्न अनुमति नपाएका हुन्।

थापा मात्र होइन पोर्चुगल पुगेकी दोलखाकी निमा शेर्पाको साथमा पनि राहदानी छैन। राहदानी नहुँदा पोर्चुगल बस्नका लागि कानुनी प्रक्रिया सुरु गर्न पाएकी छैनन्। राहदानी बनाउन शेर्पा पटक–पटक पोर्चुगलमा रहेको अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालय पुग्छिन्। शेर्पाले राहदानी बनाउन पाएकी छैनन्।

विभिन्न बाटोबाट पोर्चुगल पुगेका नेपालीलाई त्यहाँको वैधानिक बसाइका लागि राहदानी आवश्यक पर्छ। राहदानी बनाउन नपाउँदा त्यहाँको सामाजिक र आर्थिक अधिकार प्राप्त गर्न सकेका छैनन्। थापा र शेर्पा जस्ता हजारौं नेपाली राहदानीविहीन छन्।

पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालयमा अनुसार करिब ५५ सय नेपाली राहदानी बनाउन प्रतीक्षा गरेर बसेका छन्। नयाँ राहदानी बनाउन र नवीकरणको पर्खाइमा रहेका रहेका नेपालीको संख्या करिब ५५ सय रहेको अनुमान गरिएको पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालयमा कार्यरत छविलाल बगालेले बताए। ‘नयाँ राहदानी बनाउन र नवीकरण गर्न आउनेको संख्या ठूलो छ,’ बगालेले नागरिकसँग टेलिफोनमा भने, ‘राहदानी नहुँदा धेरै नेपाली समस्यामा परेका छन्।’

राहदानी बनाउनका लागि दैनिकजसो पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालयमा सयौंको संख्यामा नेपालीहरूको भीड लाग्ने गरेको छ।

पोर्चुगलमा रहेको महाबाणिज्यदूतको कार्यालयले समन्वय र सहजीकरण गरे पनि राहदानी दिने जिम्मेवारी फ्रान्समा रहेको नेपाली राजदूतावासको हो । सरकारले विद्युतीय राहदानी जारी गर्न सुरु गरेपछि यन्त्रबाचक राहदानी पूर्ण रूपमा बन्द भएको छ। यसले गर्दा धेरै नेपालीको राहदानी नवीकरण गर्नुपर्ने अवस्था छ। कति नेपालीको राहदानी हराएको छ। महावाणिज्य दूतावासका अनुसार १५ सय बढीको राहदानीको म्याद सकिएको छ।

त्यहाँ पुगेका नेपालीलाई राहदानी वितरणका लागि फ्रान्सको दूतावाससँग समन्वय गरिररहेको पोर्चुगलका लागि अवैतनिक नेपाली महाबाणिज्यदूत मकर हमालले बताउँदै आएका छन्। ‘राहदानीको समस्याबारे राजदूतावासमा जानकारी गराइएको छ,’ हमालले भने, ‘छिट्टै राहदानी वितरणको काम अघि बढ्ने विश्वास लिएका छौं।’

नेपाल सरकारले यन्त्रबाचक राहदानी (एमआरपी’) लाई स्थगन गरी विद्युतीय राहदानी (इ–पासपोर्ट) जारी गर्न सुरु गरेपछि पोर्चुगल पुगेका नेपाली समस्यामा परेका हुन्। पोर्चुगलमा करिब ३० हजार बढी नेपाली बसोबास गरिरहेको अनुमान गरिएको छ। युरोपेली मुलुक नेपालीका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। गैरकानुनी बाटो हुँदै त्यहाँ पुगे पनि वैधानिक रूपमा बस्न पाउने र सजिलोसँग आवासीय भिषा पाउने भएपछि पोर्चुगल धेरै नेपालीको रोजाइमा परेको हो।

नेपालीहरू साइप्रस, कतार, दुवई, मलेसया, क्रोसिया, रोमानिया लगायतका मुलुक हुँदै त्यहाँ पुग्ने गरेका छन्। त्यहाँ जाने नेपालीले बाटोमा राहदानी फालेर गैर कानुनी रूपमा प्रवेश गर्छन्। त्यहाँ पुगेपछि वैधानिक रूपमा बस्नका लागि राहदानी आवश्यक पर्छ।

त्यहाँ पुग्ने नेपालीले कृषि, होटल, रेष्टुरेन्टमा काम गर्ने गरेका छन्। नेपालीले न्यूनतम तलब ७ सय ५० देखि १५ सय युरो कमाउने गरेका छन्। बुधबार १ युरोको नेपाली सटही दर १ सय ४३ रूपैयाँ ८१ पैसा छ। यसले हिसाब गर्दा नेपालीले सरदर मासिक १ लाख रूपैयाँदेखि करिब २ लाख १५ हजार रूपैयाँसम्म कमाउँछन्। त्यहाँ व्यवसाय गर्नेको संख्या पनि बढिरहेको छ। पोर्चुगल प्रवेश गरेर कानुनी प्रक्रिया सुरु गरेपछि ६ महिनादेखि डेढ वर्षको अवधिमा अस्थाइ बसोबास अनुमति पत्र र करिब पाँच वर्षमा स्थायी बसोबास अनुमति पत्र पाउँछन्। यो प्रक्रिया सुरु गर्न पनि राहदानी आवश्यक पर्छ।

फ्रान्समा रहेको नेपाली दूतावास गैरजिम्मेवार बनेको गैरआवासीय नेपाली संघ पोर्चुगलका एक पदाधिकारीले बताए। ‘राहदानीको समस्याका बारेमा फ्रान्समा रहेका राजदूतलाई पटक–पटक जानकारी गराएका छौं,’ ती पदाधिकारीले भने, ‘नेपालीको समस्यामा खेलवाड गर्ने काम भएको छ।’ पहिलो चरणमा हराएका, म्याद नाघेका रहादानी र दोस्रो चरणमा म्याद सकिन लागेका राहदानी नवीकरण गर्न आवश्यक रहेको ती पदाधिकारीले बताए। राहदानी वितरण गर्न दूतावासको टोली त्यहाँ पुगेर फोटो र विवरण लिनुपर्छ। फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी विगत एक वर्षयता एक पटक पनि पोर्चुगल नपुगेको ती पदाधिकारीले बताए। ‘दूतावासमा थोरै कर्मचारी भएको बहाना बनाएर दूतावासका कर्मचारी पोर्चुगल आएका छैनन्,’ उनले भने, ‘दूतावासको हेलचेक्रयाइँले धेरै नेपाली समस्यामा परेका छन्।’

राहदानी मात्र नभएर सम्बन्ध विच्छेद, अनधिकृत वारेसनामा, यात्रा अनुमति पत्रलगायतका समस्या पनि दूतावासले सुल्झाउनु पर्छ। एक वर्षदेखि दूतावासका कर्मचारी त्यहाँ नगएकाले त्यहाँ रहेको नेपाली कानूनी समस्यामा उल्झेका छन्।

कन्सुलेटको कार्यालयलाई सम्बन्धविच्छेद र अधिकृत वारेसनामाको समस्या समाधान गर्ने अधिकार छैन। कन्सुलेट कार्यालयले कागजात प्रमाणीकरण, सामान्य मन्जुरीनामा लगायतका काम मात्रै गर्दै आएको छ। आफ्नो अधिकार क्षेत्रको काम गर्दै आएको कन्सुलेट कार्यालयको दाबी छ। आफूले चाहेर पनि काम गर्न नसकेको कन्सुलेट कार्यालयमा आवद्ध अधिकारी बताउँछन्। परराष्ट्र मन्त्रालयले पोर्चुगल पुगेर राहदानी वितरण गर्न निर्देशन दिएको जनाएको छ।

Published on: 3 February 2023 | Nagarik

Link

Back to list

;