s

फर्कन मानेनन् सिरियाका ‘हाउसमेड’

Year of Publication: 19 April 2018 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

होम कार्की

हिंसात्मक द्वन्द्वमा फसेको सिरियामा रहेका नेपाली महिला घरेलु कामदार (हाउसमेड) ले स्वदेश फर्कन अनिच्छा देखाएका छन् । सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार खोजी क्रममा सम्पर्कमा आएका उनीहरूले तत्काल स्वदेश फर्कन नचाहेका हुन् ।

सिरियाली द्वन्द्व हिंसात्मक बन्न थालेपछि परिवारजनको अनुरोधमा उनीहरूको उद्धार गर्न कन्सुलर विभागले इजिप्टस्थित नेपाली दूतावासलाई २० जनाको विवरणसहित नामावली पठाएको थियो । ‘उद्धार गर्न भनिएका महिलालाई सम्पर्क गरेका थियौं तर उनीहरूले आफूलाई समस्या नभएको भन्दै फर्किन मन गरेनन्,’ दूतावासका प्रवक्ता सुजन बिडारीले भने, ‘उनीहरू आफ्नो काममा खुसी देखिन्छन् ।’
 
विभागले सिरियामा कार्यरत अन्जना सुब्बा, ज्योति गुरुङ, सावित्री राजबाहक, केवला केसी, सम्झना तामाङ, दीपा, विनीता तामाङ, दीपा बस्नेत, गीता न्यौपाने, पार्वती चन्द, विमला रानामगर, रेखा शाह, पुनम बडुवाल, रिमा विक, विमला एरी, सुकु थापा, मीना बुढा, शान्ति नेपाली, कल्पना दर्जी र पासाङ डोल्पालाई उद्धार गर्न दूतावासलाई पत्र पठाएको थियो । सिरहाकी ललिता बर्देवाले भने आफू समस्यामा परेको भन्दै उद्धार गर्न दूतावासलाई अनुरोध गरेकी छन् ।
 
मानव तस्करले दुबई पुगेका नेपाली युवतीलाई सिरिया पठाइरहेका छन् । दूतावासका अनुसार अधिकांश महिला सिरियाबारे अनभिज्ञ छन् । ‘लेबनान र कुवेत भन्दै दलालले सिरिया पुर्‍याइरहेका छन्,’ इजिप्टका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्यालले कान्तिपुरसँग भने, ‘उनीहरूलाई सिरियाबारे थाहै छैन ।’
 
अर्यालले सिरियामा कम्तीमा पाँच सय नेपाली महिला पुगिसके पनि सबै जना दूतावासको सम्पर्कमा नरहेको जानकारी दिए । ‘हामीले चाहेको बखत महिला र तिनका घरभेटीसँग सम्पर्क स्थापित हुन कठिन छ,’ उनले भने, ‘घरबाट भागेर निस्किएका घरेलु कामदार झन् जोखिममा छन् ।’
 
तेजीको शव ल्याउन सकिएन 
 
एक महिनाअघि सिरियामा मृत्यु भएकी सिरहाकी तेजी देवीको शव नेपाल ल्याउने प्रयास अझै सफल भएको छैन । देवीको मृत्यु कसरी भयो भन्ने जानकारी दूतावासले पाएको छैन । ‘हामीलाई विस्तृत सूचना दिइएको छैन । तेजीको मृत्युसम्बन्धी फाइल अदालतमा पेस भएको छ,’ अर्यालले भने, ‘उनको शव नेपाल पठाउन सकिएको छैन । सिरियामा सञ्चार सम्पर्क गर्न नै जटिल छ ।’
 
Published on: 19 April 2018 | Kantipur

Back to list

;