s

परदेशको संघर्ष र सम्भावनामाथि मन्थन

Year of Publication: 13 February 2023 | Kantipur

Published by: CESLAM

अर्जुन शाह

धनगढी — खाडीलगायत तेस्रो मुलुक र भारतबाट फर्केकाहरूले परदेशमा बस्दा भोग्नु परेका पीडा र संघर्ष 'सेयर' गर्दै स्वदेशमै केही गर्ने सम्भावना र अवसरबारे सरोकारवालाहरूसँग मन्थन गरेका छन् ।

तेस्रो मुलुकमा कामका लागि जानेहरूको सरकारले तथ्यांक राख्ने गरेको भए पनि भारतमा मजदुरीमा जानेहरूको भने अभिलेख समेत नराख्नु विडम्बना भएको उल्लेख गर्दै उनीहरूले चिन्ता व्यक्त गरे ।

किताब पब्लिसर्सद्वारा शनिबार धनगढीमा आयोजित ‘परदेशको पसिना कसरी लिने प्रतिफल’ विषयक अन्तरक्रियाका सहभागीहरूले स्वदेशमा सरकारले उचित नीति र प्राथमिकताका कार्यक्रम ल्याउन सके परदेशबाट फर्केर स्वदेशमै काम गर्ने तमाम क्षेत्र र सम्भावनाका बारेमा पनि चर्चा गरे ।

‘बाहिरको तुलनामा यहाँ त काम गर्ने क्षेत्रहरू कति छन् कति !,’ ६ वर्ष कोरिया बसेर फर्केका धर्मराज जोशीले भने ‘तर हाम्रो देशको नीति निर्माण तह र राज्य संयन्त्रलाई समस्याहरू बुझ्ने र वातावरण बनाउनेतर्फ कुनै वास्ता नै छैन ।’

स्वदेश फर्केर आफूले सुरु गरेको व्यवसायबाट एक सयभन्दा बढी संख्यामा रोजगारी सिजर्ना गरेको भए पनि सरकारी संयन्त्रले भने अपनत्व लिने भन्दा लखेट्ने व्यवहार गरिरहेको तितो अनुभव पनि उनले सुनाए ।

कुबेतबाट फर्केर स्वदेशमै केही गर्न कस्सिएकी लक्ष्मी आचार्यले परदेशमा बस्दाका जोखिमहरू सुनाइन् । ‘बाहिर राम्रो ठाउँमा परियो भने कमाइ नहुने होइन तर हरपल जोखिमको सामना भने गरिरहनै पर्ने हुन्छ,’ उनले भनिन् ।

कतारबाट फर्केर कैलालीमै कृषि व्यवसाय गर्दै आएका अमृत शाहीले तेस्रो मुुलुकमा वैदेशिक रोजगारीमा जाँदा सिप र भाषाको सबैभन्दा ठूलो कठिनाइ बेहोर्नुपर्ने अनुुभव सुनाए । उनले भारतसँगको खुुला सीमाका कारण हरेक कृषि व्यवसायीका लागि टिक्नै नसक्ने अवस्था रहेको बताए । ‘हाम्रा उत्पादनलाई सीमापारिबाट अवैध रुपमा भित्रिने कृषि उपजले टिक्नै नदिने अवस्था छ र यहाँको मार्केट अवैध उपजको कब्जामा छ,’ शाहीले भने ‘स्वदेशी उद्यमीहरू हरेक वर्ष टाट पल्टिरहेका छन् ।’

अन्तरक्रियामा भारतमा रोजारीमा जानेलाई नेपालको ऐन कानुनले वैदेशिक रोजगारीको मान्यता समेत नदिएकाले त्यहाँ जानेहरूलाई हेयको दृष्टिले हेरिने र जोखिमको मूल्य नै नहुने अवस्था रहेकोमा सहभागीहरूले जोड दिएका थिए । भारतमा मजदुुरीका लागि जानेहरूका बारेमा लामो समयदेखि अध्ययन गर्दै आएका प्रकाशचन्द्र मडैंले राज्यको नीति विभेद्‍ तथा खोटपूर्ण रहेको औंल्याए ।

‘भारतमा जानेहरूलाई पनि वैदेशिक रोजगारीको मान्यता दिएको भए त उनीहरूको सुरक्षा र सम्मानको सवाल पनि उठ्थ्यो नि,’ उनले भने ‘अहिले त न तथ्यांक छ, न भारतमा नेपालीहरूको गुमाइरहेको ज्यानको कुनै लेखाजोखा ।’ भारतमा श्रम गर्न जानेहरूले घरबाट निस्केदेखि फर्कँदासम्म अनेक कष्ट र पीडाहरूको चक्र बेहोर्नुु परिरहेको उनको भनाइ थियो । कतिपय परिवार त भारतमै हराउने गरेको उल्लेख गर्दै जीवनबिमा अनिवार्य गर्दा विद्यमान असुरक्षाको अवस्थामा केही सुधार हुने उनले सुझाव दिए ।

उक्त अन्तरक्रियामा वैदेशिक रोजगारीको अवस्थाका जानकार पत्रकार होम कार्कीले अन्य प्रदेशको तुुलनामा सुदूरपश्चिमबाट तेस्रो मुुलुकमा जानेको संख्या न्यून रहेको बताए । ‘यहाँका अधिकांश भारतमै जान्छन् । भारत जाने परिचक्रलाई राज्यले व्यवस्थित गर्नुका साथै उनीहरूको सुुरक्षामा ख्याल गर्नुपर्ने खाँचो छ,’ उनले भने ।

धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले आफू निर्वाचित भएर आएको एक वर्षमा वैदेशिक रोजगारीबाट फर्केकाहरूले कुनै औपचारिक प्रस्ताव नै नगरेको बताए । तर पनि संघ, प्रदेश र स्थानीय तहद्वारा एकीकृत रुपमा यसका लागि ठोस योजना निर्माण गर्न सकिने अवस्था रहेको उनको भनाइ थियो । ‘अलग अलग होइन, तीनवटै सरकारले एकीकृत रुपमा काम गर्न सक्यौं भने प्रतिफल प्राप्त हुने देख्छु,’ उनले भने ।

सुदूरपश्चिमेलीहरूको रोजगारीको मुख्य थलो भारत भए पनि कति नेपाली श्रमिक भारतमा छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन । सामाजिक विकास मन्त्रालयले चार वर्षअघि गरेको एक अध्ययन प्रतिवेदन अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न ठाउँमा ६ महिनाभन्दा बढी समयका लागि जानेको संख्या प्रत्येक वर्ष २ लाख ६ हजार छ । प्रतिवेदन अनुसार सुदूरपश्चिमबाट जीवनको उर्जावान (१७ देखि ४५ वर्ष) उमेर समूहका युवा रोजगारीका लागि भारत जाने गरेका छन् । भारत जानेमध्ये १९ प्रतिशत महिला र ८१ प्रतिशत पुरुष रहेका छन् ।

मुम्बइमा काम गर्दै आएका सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका कोषाध्यमा भुवनप्रसाद भट्ट भारतका विभिन्न सहरमा १० लाखको हाराहारीमा सुदूरपश्चिमेलीहरू कार्यरत रहेको बताउँछन् ।

मन्त्रालयको अध्ययन प्रतिवेदनअनुसार भारतमा जानेहरूमध्ये ६० प्रतिशतले स्वदेशमा काम नपाएर जाने गरेको उल्लेख छ । त्यहाँ गएकामध्ये पनि १४ प्रतिशतको आम्दानी औषत रहेको प्रतिवेदनमा उल्लेख छ । १९ प्रतिशत गाउँमा खेतीपाती लगाएर ६ महिनाका लागि जाने गरेका छन् । तीन वर्षभन्दा माथि लगातार भारतमा बस्नेहरूको संख्या १४ प्रतिशत रहेको छ ।

सुदूरपश्चिमेलीहरूका लागि भारतका मुम्बई, नयाँ दिल्ली, पञ्जाब, हैदरावाद, सिमलालगायत ठाउँ प्रमुख गन्तव्य मानिएका छन् । भारत गएकाहरूमध्ये ५५ प्रतिशतले मासिक १० देखि १५ हजार भारु बचत गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । १७ प्रतिशतले मासिक ३२ हजार भारु बचत गर्ने गरेका छन् ।

९२ प्रतिशतले भारतमा कमाएको रकम घर खर्चमा उपयोग गर्ने गरेको बताएका छन् । दुई प्रतिशतले ऋण तिर्न र चार प्रतिशतले सम्पत्ति जोड्न खर्चिने गरेको अध्ययनले देखाएको छ ।

Published on: 13 February 2023 | Kantipur

Link

Back to list

;