s

पास भएकाहरु सीप परीक्षणपछि मात्र कोरिया जान पाउने

Year of Publication: 29 June 2019 | Nagarik

Published by: CESLAM

रुद्र खड्का

वैदेशिक रोजगार विभाग अन्तर्गतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ। भाषा परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन्। यो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा युवायुवती कोरिया जान नपाउने शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए।

रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि कोरिया पुगेका युवाले आत्महत्या गर्नुको साथै डिप्रेसनमा पर्ने क्रम बढेपछि कोरिया सरकारले पहिलोपटक सीप परीक्षणको व्यवस्था गरेको शाखाले जनाएको छ। ‘भाषा उत्तीर्ण गरेकै भरमा कोरिया पुगेका युवायुवतीले जटिल काम गर्नुपर्ने भएपछि आत्महत्या गर्नुको साथै डिप्रेसनमा पर्ने क्रम बढ्यो,’ भण्डारीले भने, ‘सीप परीक्षणपछि कामदारले कोरियामा गर्नुपर्ने कामको सम्पूर्ण जानकारी होस् भनेर यस्तो व्यवस्था गरिएको हो।’

केही वर्षयता रोजगारीका लागि कोरिया पुगेका युवाले आत्महत्या गर्ने क्रम निकै बढेको छ। शाखाका अनुसार पछिल्लो १० वर्षको अवधिमा रोजगारीका लागि कोरिया पुगेका ८० युवाले १० आत्महत्या गरेका छन्। जबकि पारिश्रमिकको दृष्टिकोणले कोरिया अन्य गन्तव्यको तुलनामा निकै आकर्षक मानिन्छ।

कोरिया सरकारले कामदाकारको न्यूनतम पारश्रमिक साढे एक लाख रुपैयाँ तोकेको छ। शाखाका अनुसार रोजगारीका लागि कोरिया पुगेका अधिकांश श्रमिकले ओभरटाइम सुविधा पाउने गर्छन्। ओभरटाइम सुविधाका कारण कतिपय श्रमिकको मासिक पारिश्रमिक तीन लाख रुपैयाँसम्म पुग्ने शाखाका कर्मचारी बताउँछन्।

पारिश्रमिकको दृष्टिकोणले राम्रो र लागत खर्च न्यून हुँदाहुँदै पनि श्रमिकले आत्महत्या गर्ने क्रम नरोकिएपछि स्वदेशमा काम नगरी केवल सैद्धान्तिक ज्ञान मात्र लिएर भाषा परीक्षा उत्तीर्ण गरिनु मुख्य कारण रहेको विज्ञहरूले निष्कर्ष निकालेका हुन्।

‘घरमा रहँदा किताबी ज्ञान मात्र लिएका र कोरियामा गएपछि थ्रिडी (डेन्जर, डिफिकल्ट र ड्रटी) काम गर्नुपर्दा युवा डिप्रेसनमा पर्ने गरेको धेरैको निष्कर्ष रह्यो,’ भण्डारीले भने, ‘अबदेखि कम्तीमा कोरियामा गर्नुपर्ने कामबारे स्वदेशमै परीक्षण गरिँदा त्यस्तो समस्या नआउला भन्ने अपेक्षा गरेका छौं।’

भाषा परीक्षामा उत्तीर्ण भएकाहरू सन् २०२० देखि रोजगारीका लागि कोरिया जान पाउनेछन्। भण्डारीले भाषा परीक्षामा उत्तीर्ण हुनु भनेको पहिलो चरणको सफलता मात्र हासिल गरेको रूपमा बुझ्नु पर्ने बताए। ‘भाषा परीक्षा उत्तीर्ण भएकाहरूको अर्को महिना आफूले गर्नुपर्ने कामको सीप परीक्षणको साथै स्वास्थ्य परीक्षण हुनेछ,’ उनले भने, ‘त्यसमा पनि सफल भएकाहरूको नाम कोरियाको मानव संशाधन विभागले रोस्टरमा प्रकाशित गरेपछि मात्र रोजगारदाताले कामदार छनोट गर्नेछन्।’

रोस्टरमा नाम प्रकाशित भएको दुई वर्षसम्म रोजगारदाताले नबोलाए त्यस्ता युवायुवती कोरिया जान नपाउने भण्डारीले बताए। ‘त्यसैले कोरियन भाषा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारी पाउने ग्यारेन्टी हुँदैन भन्ने गरेका छौं,’ उनले भने, ‘भाषा परीक्षा उत्तीर्ण गर्नु भनेको पहिलो चरणको सफलता मात्रै हो।’

यस वर्ष कोरियन भाषा परीक्षामा सहभागी हुन ९२ हजार तीन सय ७६ युवायुवतीले फारम भरेकोमा ८४ हजार तीन सय आठ जनाले परीक्षा दिएका थिए। परीक्षा दिएकामध्ये १२ हजार नौ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका हुन्। स्वदेशमा रोजगारीका अवसर सिर्जना हुन नसकेपछि पछिल्लो समयमा युवाको वैदेशिक रोजगारीमा जाने मोह निकै बढेको छ।युवाको वैदेशिक मोह बढेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबभन्दा ठूलो गन्तव्य मलेसिया १३ महिनादेखि रोक्दा कोरिया जस्ता मुलुकप्रति झनै युवाको चासो बढेको छ।

मन्त्रालयका सचिव महेश दाहाल हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने पाँच लाख युवामध्ये साढे एक लाखले मात्र स्वदेशमा रोजगारी पाउने गरेको बताउँछन्। ‘एकातिर स्वदेशमा रोजगारी सिर्जना गर्न र अर्कोतर्फ युवा वर्गको वैदेशिक रोजगारी मोहलाई कम गर्नुपर्ने अवस्था देखिएको छ,’ दाहालले भने।

अघिल्लो वर्ष कोरिया रोजगारीका लागि ८२ हजार दुई सय ३५ ले फारम भरेकोमा सात हहजार नौ सय ९६ उत्तीर्ण भएका थिए। इपिएस सुरु भएयता सन् २००८ देखि भाषा परीक्षा उत्तीर्ण गरेर ६२ हजार दुई सय २६ युवायुवती रोजगारीका लागि कोरिया उडेका छन्।

Published on: 29 June 2019 | Nagarik

Back to list

;