s

ओमानमा खोपका लागि नाम दर्ता गर्न नेपाली कामदारलाई अनुरोध

Year of Publication: 4 June 2021 | Kantipur

Published by: CESLAM

कान्तिपुर संवाददाता

काठमाडौँ — ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लब (एनआरएन)ले कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि नाम दर्ता गर्नको लागि ओमानमा कार्यरत नेपाली कामदारलाई आग्रह गरेको छ ।

ओमानमा व्यक्तिगत रुपमा सिधै अस्पतालमा गई खोप लगाउन नपाउने भएपछि सोसल क्लबले खोप लगाउनका लागि ओमान सरकारसँग सहजीकरण गरेको हो । कम्पनी वा घरमा काम लगाउने रोजगारदाताले खोप नलगाइदिएका कामदारलाई तुरुन्तै क्लबको सम्र्पकमा आउन अनुरोध गरिएको क्लबका अध्यक्ष विकल झाले बताए ।

‘व्यक्तिगत रुपमा कामदार आफै अस्पताल जाँदा खोप पाउने अवस्था छैन । रोजगारदातामार्फत खोप लगाउनुपर्ने अवस्था छ । जसको रोजगारदाताले खोप लगाउन प्रबन्ध गरेको छैन । उहाँहरु क्लबको सम्र्पकमा आउन अनुरोध गरिएको छ’, झाले कान्तिपुरसँग भने,‘विशेषगरी घरेलु कामदारहरु खोप पाउनबाट वञ्चित छन् ।’

क्लबले खोप लगाउनुपर्ने कामदारको सूची दिएको आधारमा ओमान सरकारले अस्पतालमा खोप लगाइदिने झाले बताए । ‘हामीले खोप लगाउनुपर्ने कामदारको नाम यहाँको निकायमा दिनेछौं । त्यस निकायले सूचीअनुसार तोकिएको अस्पतालमा खोप पठाइदिन्छ । त्यहा गएर खोप लगाउनुपर्नेछ,’ उनले भने ।

ओमानले कामदारका लागि खोप नि:शुल्क ब्यवस्था गरिएको छैन । कामदार आफैले खोपको रकम भुक्तानी गर्नुपर्नेछ । जसमा अस्पतालमा भर्नाबापत ३ र खोपबापत २० रियाल गरी २३ रियाल (झन्डै ७ हजार रुपैयाँ) भुक्तानी गर्नुपर्नेछ । ओमानमा करिब १५ हजार नेपाली कामदार कार्यरत छन् ।

Published on: 4 June 2021 | Kantipur

Link

Back to list

;