s

ओमानबाट नेपाली आप्रवासी श्रमिकलाई स्वदेश फर्किन मौका

Year of Publication: 10 November 2021 | Gorkhapatra

Published by: CESLAM

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २४ गते । ओमान सरकारले ओमानमा कागजातविहीन भएर बसेका नेपाली आप्रवासी श्रमिकलाई बिनाजरिवाना स्वदेश फर्किने मौका दिएको छ ।

ओमानस्थित नेपाली दूतावासले सूचनामार्फत ओमानको श्रम मन्त्रालयको स्वीकृति लिएर डिसेम्बर ३१ सम्म ओमान छोड्ने अवसर दिएकाले कागजविहीन भएर बसेका नेपालीलाई अवसर लिन आग्रह गरेको हो ।

दूतावासका अनुसार यो अवसर सदुपयोग गर्दै स्वदेश फर्किएमा श्रम र भिसासम्बन्धी कुनै पनि जरिवाना लाग्नेछैन ।

ओमानमा विभिन्न समयदेखि भिसा नवीकरण नगरी वा बिनाजानकारी आफ्नो रोजगारदाता छोडेर कागजातविहीन भएर काम गरिरहेका नेपाली श्रमिक बिनाजरिवाना स्वदेश फर्कन सक्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । ओमान सरकारले दिएको यो अवसरको फाइदा लिँदै अहिलेसम्म ५० जना नेपाली स्वदेश फर्किसकेको पनि दूतावासले जनाएको छ ।

दूतावासले सूचनामार्फत ओमानमा विभिन्न कारणले आफ्नो रोजगारदाताको सम्पर्कबाहिर रहेका तथा भिसा र राहदानीको म्याद सकिएकालाई जतिसक्दो छिटो दूतावासको सम्पर्कमा आउन अनुरोध गरेको छ ।

आममाफीमार्फत स्वदेश फर्कन चाहने नेपाली श्रमिकले राहदानीको म्याद सकिएर ट्राभल डकुमेन्ट बनाउनु परे वा आममाफीबारे थप केही बुझ्न परे पनि दूतावासमा सम्पर्क गर्न सकिने तर आपराधिक गतिविधिमा संलग्न भई रोजगारदाताले प्रहरीमा उजुरी गरेकाको हकमा भने यो प्रक्रिया लागू नहुने दूतावासले सूचनामार्फत स्पष्ट पारेको छ ।

Published on: 10 November 2021 | Gorkhapatra

Link

Back to list

;