s

एनआरएनएको प्राथमिकता वैदेशिक रोजगार

Year of Publication: 17 October 2019 | Annapurna Post

Published by: CESLAM

तुलसी सुवेदी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वले सुरक्षित वैदेशिक रोजगारीलाई प्राथमिकता दिने भएको छ। आगामी दुई वर्षका लागि चयन हुने नेतृत्वले सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीलाई प्राथमिकता दिनेछ। एनआरएनए वैदेशिक रोजगारीमा गएकाको बाहुल्यता छ। केही वैदेशिक रोजगार छोडेर आफ्नै लगानीमा व्यवसाय गर्नेको जमात पनि बढ्दै गएको छ। विभिन्न देशका दुई हजार आठ सय प्रतिनिधि छन्। त्यसमध्ये दुई हजार चार सयले मात्रै मतदान गर्ने छन्। सर्वसम्मत निर्वाचित मध्यपूर्व क्षेत्रीय संयोजक प्रवीण गुरुङले खाडी मुलुकमा रहेका कामदारको सुरक्षा र हकहितमा ध्यान दिने बताए। अधिकांश नेपाली खाडी मुलुकमै केन्द्रित छन्। गैरआवासीय नेपाली संघका प्रतिनिधिले समस्यामा परेका नेपालीको उद्धारमा पहल गर्ने, उनीहरूको हितका लागि पहल तथा समन्वय गर्ने गुरुङले बताए। ‘जेलमा परेका नेपालीको उद्धार गर्न हाम्रो प्राथमिकता हुनेछ’, उनले भने,‘पैसा संकलन गरेर भए पनि हामी समस्यामा परेको उत्थान गर्नेछौं।’

मलेसियाका व्यवसायी सन्तोष कार्कीले श्रमिकका पीडा सम्बोधन गर्न सक्ने नेतृत्व आउनुपर्ने बताए। ‘अब निर्वाचित नेतृत्वले वैदेशिक रोजगारीका क्रममा दुःख पाएका श्रमिकको हितलाई पहिलो प्राथमिकता दिनुपर्छ’, उनले भने। साउदी अरबमा कार्यरत मध्यपूर्वका उपसंयोजक राजेन्द्र अर्यालले सामाजिक सुरक्षासहितको वैदेशिक रोजगारीलाई प्राथिमकता दिने बताए। दुई वर्षे कार्यकालमा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने गरी योजना ल्याउने योजना रहेको उनले सुनाए। यूएई निवासी मध्यपूर्व उपसंयोजक निर्वाचित मनोजकुमार श्रेष्ठले मध्यपूर्वी क्षेत्रका विभिन्न देशमा वैदेशिक रोजगारीमा आउने कामदारलाई पहिलो प्राथमिकता दिइ काम गर्ने बताए। गैरआवसीय नेपाली संघको प्रतिनिधि हुन १० हजार शुल्क तिर्नुपर्छ। केही उम्मेदवारले प्रतिनिधि खरिद गरी मतदान जित्ने गरेका छन्। कतिपय उम्मेदवारले प्रतिनिधि निःशुल्क बनाउने चुनावी नारा बनाएका छन्। संघका प्रतिनिधि डीबी क्षेत्रले वैदेशिक रोजगारीका समस्या समाधान गर्न नयाँ नेतृत्वले पहिलो प्राथमिकता दिने बताए। गैरआवासीय नेपालीले स्वदेशमा लगानीको वातावरण बन्दै गएको भन्दै विभिन्न क्षेत्रमा लगानी गर्ने योजना बनाएको बताए।

Published on: 17 October 2019 | Annapurna Post

Link

Back to list

;