s

नेपालमय बन्यो लन्डनको नेपाली मेला

Year of Publication: 31 August 2022 | Setopati

Published by: CESLAM

फडिन्द्र भट्टराई

लन्डनस्थित केम्पटन पार्क रेसकोर्ष आइतबार दुलहीझैं सिँगारियो। नेपाली समुदायमाँझ लोकप्रिय नेपाली मेलाले अर्को सिंगो नेपाल बेलायतमा देखाएर ‘मिनी नेपाल’को अनुभूति दिलायो।

तमुधिँ यूकेले आयोजना गरेको १३ औं नेपाल मेलामा झण्डै ५ हजार दर्शक सहभागी भए। सो अवसरमा सहभागीहरु आ-आफ्नो मौलिक भेषभूषा र गरगहनामा सजिएका देखिन्थे।

नेपाली दूतावास लन्डनको सहकार्यमा आयोजित मेलामा ३२ वटा नेपाली संघसंस्थाले आ–आफ्नो संस्कृतिमा आधारित झाँकी र १४ वटा संघसंस्थाले नृत्य प्रदर्शन गरेका थिए।

मेलामा सर्वोत्कृष्ट झाँकी र नृत्य प्रस्तुत गर्ने घान्द्रुक समाज यूकेले एम्बासेडर कप प्राप्त गरेको छ। त्यस्तै, गत वर्षको विजेता सिक्लेस पार्चे कम्युनिटी यूके दोस्रो र तमु समाज यूके तेस्रो भए । उनीहरुलाई क्रमशः एक हजार १ सय पाउण्ड, ७ सय पाउण्ड र ५ सय पाउण्ड नगद सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यस्तै, बिजेता घान्द्रुक समाज यूकेले एनआरएनए कप र नगद ३ सय पाउण्ड समेत हात पारेको छ ।

झाँकीतर्फ भने सिक्लेस पार्चे कम्युनिटी यूके प्रथम, घान्द्रुक समाज यूके दोस्रो र किराँत राई यायोक्खा तेस्रो भए। नृत्यतर्फ तमु समाज यूके प्रथम, घान्द्रुक समाज यूके दोस्रो र किरात राई यायोक्खा तेस्रो भएका थिए। उनीहरुलाई क्रमशः ५०० पाउण्ड, ३०० पाउण्ड र २०० पाउण्ड, प्रमाण पत्र र मेडल प्रदान गरियो।

चार भञ्ज्याङ्ग तमु समाज यूके र किराँत थाक्थुङ्ग चुम्लुङ्ग युकेले सान्त्वाना पुरस्कार स्वरुप २००-२०० पाउण्ड नगद र प्रमाण पत्र प्रदान गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले मेलाले नेपाली कला संस्कृति, भाषा, भेषभूषा र रहनसहन संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले लन्डनमा अर्को सिंगो नेपाल देखिएको पनि सुनाए

आयोजक तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरूङले मेला सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

सो अवसरमा मेला संयोजक एवं तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव परशुराम गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए । सूर्य गुरुङ, सिर्जना गुरुङ, योगेश गुरुङ र पुनम गुरुङले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा नेपाली तारा दीपक लिम्बु, भ्वाइस अफ नेपालका उपविजेता तारा श्रीस मगरलगायत कलाकारहरुले विभिन्न गीत र नृत्य प्रस्तुत गरे।मेलामा खानासहित अन्य विभिन्न व्यापारिक र च्यारिटी गरि ३९ वटा स्टल राखिएका थिए।

Published on: 31 August 2022 | Setopati

Link

Back to list

;