s

नेपालमा तालिम केन्द्र चलाउन एक दर्जन जापानिज कम्पनी इच्छुक

Year of Publication: 9 December 2019 | Naya Patrika

Published by: CESLAM

नेपालमा सीप तथा भाषा तालिम केन्द्र सञ्चालन गर्न एक दर्जन जापानिज कम्पनीहरू इच्छुक देखिएका छन् । जापानका तालिम प्रदायक कम्पनी र रिक्रुट एजेन्सीहरूले तालिम केन्द्र सञ्चालनका लागि रुचि देखाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ ।

कामदारको अभाव चुलिएपछि जापानले नेपाललगायतका विभिन्न मुलुकबाट कामदार लैजाने नीति अगाडि सारेको छ । जापानले पहिलो चरणमा नेपालबाट केयर गिभरका लागि कात्तिकमा भाषा तथा सीप परीक्षा लिएको थियो । तर, सो परीक्षामा नेपाली कामदारको नतिजा उत्साहजनक नदेखिएपछि जापान आफैँले तालिम दिने संस्था सञ्चालन गर्ने इच्छा देखाएको हो ।

स्पष्ट नीतिको अभावमा कम्पनी प्रक्रिया अगाडि बढेन

विदेशी कम्पनीलाई नेपालमा भाषा तालिम सञ्चालनको स्वीकृति दिइँदैन । यो विषयमा दुवै मुलुककोे स्पष्ट खाका नभएकाले पनि कम्पनीहरू अगाडि बढ्न नसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालले बताए । ‘नेपालमा पनि स्पष्ट व्यवस्था छैन । विभिन्न निकायसँग समन्वय गर्नुपर्छ । श्रम मन्त्रालयले मात्रै स्वीकृति दिएर हुँदैन,’ उनले भने ।

१३ हजारमा १ जना मात्रै उत्तीर्ण

जापानले लिएको सीप परीक्षामा एकजना मात्रै उत्तीर्ण भएका छन् । नोभेम्बरमा भएको सीप परीक्षामा ४ सय ९७ जना सहभागी थिए । त्यसमध्ये ५६ जना भाषा परीक्षामा उत्तीर्ण भए पनि सीप परीक्षामा भने १ जना उत्तीर्ण भएका थिए ।

जापानले लिने सीप परीक्षा जटिल भएकाले नेपालीलाई उत्तीर्ण हुन कठिन भएको मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार जापानले रोजगारीको प्रक्रिया जटिल बनाएको छ । यसले जापान नेपाली श्रमिक लैजान इच्छुन नभएकोजस्तो देखिने बताए । ‘यदि साँच्चै नै जापानले नेपालबाट श्रमिक लैजाने हो भने प्रक्रिया झन्झटिलो बनाउनुभएन । आवेदन दिनेदेखि परीक्षाको प्रक्रिया एकदमै जटिल छ,’ उनले भने ।

जापानका लागि रोजगारीको प्रारम्भिक चरणमा १३ हजारले आवेदन दिएका थिए । जसमध्ये चिठा प्रक्रियाबाट १ हजार मात्रै छनोट भएका थिए । छनोट भएकामध्ये पनि जम्मा ६ सयजनाले मात्रै दोस्रो चरणको आवेदन दिएका थिए । तर, भाषा तथा सीप परीक्षामा जम्मा ४ सय ९७ जना सहभागी भएका थिए ।

यसरी लगिनेछ जापानमा कामदार

जापानले विशिष्टीकृत दक्ष मोडल (एसएसडब्लू) बाट नेपाली कामदार लैजानेछ । कामदार छनोट प्रक्रियाका लागि नेपालमा जापानका लागि जापान फाउन्डेसनले काम गर्नेछ । फाउन्डेसन जापानको अर्धसरकारी संस्था हो । कम्प्युटर परीक्षाको जिम्मेवारी भने जापानिज कम्पनी प्रोमोटिक कम्पनीले पाएको छ ।

जापानले भाषा तथा सीप परीक्षामा उत्तीर्ण भएका कामदारलाई मात्रै रोजगारीका लागि लैजानेछ । दुवै परीक्षामा सफल कामदार नेपालको वैदेशिक रोजगार विभागको जापान एकाइमा सूचीकृत हुन्छ । जापानी रोजगारदाता वा रोजगारदाताका एजेन्टले आफ्नो आवश्यकताअनुसार विभागको जापान एकाइमा माग गर्नेछ । विभागले जापानी रोजगारदाताको आवश्यकता र उपलब्ध नेपाली कामदारबीच म्याचिङ गर्नेछ ।

म्याचिङ भएपछि रोजगारदाताले नेपाली कामदारको नाममा योग्यताको प्रमाणपत्र (सिओई) पठाउनेछ । सिओई प्राप्त गरेका कामदार भिसा प्रक्रियाका लागि योग्य हुनेछन् । कामदारले अन्य कागजपत्रसहित जापानिज दूतावासमा भिसाका लागि आवेदन दिन सक्नेछन् । भिसा प्राप्त भएपछि कामदार मेडिकल परीक्षण, बिमा र कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्नेछ । त्यसपछि जापान एकाइ श्रम स्वीकृतिका लागि आवेदन दिन सक्नेछन् । श्रम स्वीकृतिपछि कामदार जापान जान पाउनेछन् ।

जापान जाने अन्य विकल्प

जापान सरकारले नेपालबाट व्यक्तिगत र प्रशिक्षार्थी कामदार प्रक्रियाबाट पनि नेपाली कामदार लैजान सक्छ । व्यक्तिगत प्रक्रियाअन्तर्गत कामदारले व्यक्तिगत रूपमा नै जापानी रोजगारदातासँग सम्पर्क गरी जान सक्नेछन् । यस्तो खालको प्रक्रिया जापानले कुकका लागि बढी नेपाली कामदार लैजाने गरेको छ । त्यस्तै, प्रशिक्षार्थी कामदार (टिआइटिपी) प्रणालीअन्तर्गत जापानले नेपालका म्यानपावर कम्पनीमार्फत नै कामदार लैजाने गरेको छ । यस्तो खालका कामदार प्रशिक्षार्थीका रूपमा जापान जान पाउनेछन् । तर, प्रशिक्षणका क्रममा उनीहरूले पारिश्रमिक सुविधा भने पाउनेछन् ।

Published on: 9 December 2019 | Naya Patrika

Link

Back to list

;