s

नेपालमा फैलँदै चिनियाँको अपराध जालो : सुनदेखि मान्छेसम्म तस्करी, ह्याकिङदेखि अवैध अस्पतालसम्म सञ्चालन

Year of Publication: 3 September 2019 | Naya Patrika

Published by: CESLAM

नवराज मैनाली

बिहेका नाममा नेपाली युवतीलाई चीन तस्करीको आरोपमा चार चिनियाँलाई पक्राउ गरेको दुई दिनपछि एटिएम ह्याकिङमा संलग्न ६ चिनियाँ पक्राउ परे । २० साउनमा चार किलो सुनसहित पक्राउ परेका चिनियाँ हिरासतमै छानबिनमा छन् ।

पछिल्लो एक महिनामा फरक–फरक किसिमको अपराधमा ११ जना चिनियाँ पक्राउ परिसकेका छन् । पछिल्ला यी तीन घटनाले नेपालमा चिनियाँ नागरिकले अपराधको जालो फैलाउँदै गएको देखिन्छ ।

नेपालमा चिनियाँको आगमन बढेसँगै विभिन्न किसिमका अपराधमा पनि उनीहरूको संलग्नता बढेको छ । यो प्रहरीका लागि समेत टाउकोदुखाइ भएको छ । विभिन्न प्रकृतिका अपराधमा चिनियाँको संलग्नता बढ्न थालेपछि नियन्त्रणका लागि त्यहीअनुसार सुरक्षा रणनीति लिइएको प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले बताए । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा विभिन्न घटनामा एक सयभन्दा धेरै चिनियाँ नेपालमा पक्राउ परिसकेका छन् । धेरैजसो डलर तस्करीमा पक्राउ परेका छन् । त्यस्तै सुन, वन्यजन्तुका अंग, जडीबुटी तस्करी, ह्याकिङ तथा अवैध चिकित्सकीय अभ्यासका घटनामा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

०६० को आसपासदेखि नै नेपालमा चिनियाँको अपराधमा संलग्नता देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । त्यतिवेला रक्तचन्दन र वन्यजन्तुका अंगको ओसारपसारमा चिनियाँहरू संलग्न देखिएको पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले बताए । त्यसवेला नेपालका प्रहरीदेखि नेतासम्म मिलाएर चिनियाँसमेतको मिलेमतोमा रक्तचन्दनलगायत जडीबुटीको तस्करी हुने गरेको थियो । ०६५ पछि त्यो क्रममा कमी आएको थियो । त्यसपछि डलर र सुनको अवैध कारोबारमा उनीहरूको संलग्नता बढेको छ । अहिले ह्याकिङदेखि विभिन्न ठगीका घटनामा समेत चिनियाँहरू नेपालमा संलग्न हुन थालेका छन् ।

नेपाली युवतीहरूलाई बिहेको आवरणमा चीनमा लगेर यौनदासी बनाउने गिरोहका चार चिनियाँसहित १० जनालाई पक्राउ गरेर मानव बेचबिखन नियन्त्रण ब्युरोले हाल अनुसन्धान गरिरहेको छ । संगठित रूपमा नै उनीहरूले यस्तो काम गर्दै आएको ब्युरोका एसपी गोविन्द थपलिया बताउँछन् ।

बिजनेस भिसामा नेपाल बस्ने विदेशीहरू चिनियाँहरू पहिलो नम्बरमा छ । व्यापारको आवरणमा धेरैजसो डलरको अवैध कारोबारमा संलग्न रहेको स्रोत बताउँछ । ठमेल क्षेत्रलाई आधार बनाएर चिनियाँहरूले संगठित रूपमा नै आर्थिक अपराधको धन्दा चलाइरहेका छन् ।

सुन ओसार्ने, डलर लैजाने

मुख्यगरी सुन र डलर तस्करीमा उनीहरूको संलग्नता देखिएको छ । नेपालमा आउँदा अवैध सुन लिएर आउने र फर्कँदा डलर लैजाने प्रवृत्ति देखिएको प्रहरी प्रवक्ता जोशी बताउँछन् । पछिल्लो समय नियमित रूपमा सुनसहित चिनियाँहरू पक्राउ पर्दै आएका छन् ।

गत २० साउनमा एक चिनियाँ नागरिक ली निङ्सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार किलो सुनसहित पक्राउ परेका थिए । हङकङबाट कपडाको बेल्टमा लुकाएर उनले नेपालमा सुन तस्करीको प्रयास गरेका थिए ।

१८ भदौ २०७४ मा प्रहरीले ठमेलबाट ८८ केजी सुन बरामद गरेको थियो । सुन तस्करीका मुख्य नाइके चिनियाँ भएको खुल्यो । ती नाइके ठमेलमा काठमाडौं वान नामक होटेल चलाउँदै आएका विई मिङ भएको खुलेको थियो । व्यापारको आवरणमा उनले लामो समयदेखि सुन र डलरको अवैध कारोबार गर्दै आएको खुलेको थियो । सुन बरामद भएलगत्तै फरार भएका ती चिनियाँ हालसम्म पक्राउ परेका छैनन् ।

गत वर्ष २७ चैतमा पनि तीन चिनियाँलाई करिब साढे तीन किलो सुनसहित विमानस्थल प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले मलद्वारमा लुकाएर सुन तस्करीको प्रयास गरेका थिए ।

जुत्ताभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने चिनियाँलाई ८ पुस २०७४ मा प्रहरीले पक्राउ गरेको थियो । चिनियाँ युवती पुकाओ हुलाईलाई जुत्ताभित्र लुकाएको करिब दुई किलो सुनसहित प्रहरीले विमानस्थलमै पक्राउ गरेको थियो । त्यसको दुई साताअघि अर्की चिनियाँ महिला तीन किलो सुनसहित पक्राउ परेकी थिइन् । २३ वैशाख २०७५ मा ६ चिनियाँ डेढ केजी सुनसहित विमानस्थलमै पक्राउ परेको प्रहरी तथ्यांक छ । त्यस्तै, नेपाली बजारमा अवैध रूपमा साटेर डलर लैजाने क्रममा पटक–पटक चिनियाँहरू पक्राउ परेका छन् ।

१२ कात्तिक २०७५ मा एक लाख २२ हजार चार सय डलरसहित प्रहरीले एक चिनियाँलाई विमानस्थलमा पक्राउ गरेको थियो । नेपालबाट चीनमा डलर तस्करी गर्न खोज्ने क्रममा इरेसा नामक चिनियाँलाई प्रहरीले पक्राउ गरेको थियो । सडकमार्गबाट समेत उनीहरूले डलर तस्करी गर्दै आएका छन् ।

४ असोज २०७४ मा रसुवामा प्रहरीले चिनियाँ नागरिक ली वानलाई ५० हजार अमेरिकी डलरसहित पक्राउ गरेको प्रहरी रेकर्ड छ ।

७ माघ २०७३ मा रसुवाको टिमुरेबाट चिनियाँ नागरिक वाङ चुङ १८ हजार चार सय ३२ अमेरिकी डलरसहित पक्राउ परेका थिए ।

१३ असोज २०७४ मा चिनियाँ महिला यानकुन दुवानलाई ४६ हजार चार सय ८० युएस डलरसहित नेपालबाट भुटान जान खोज्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

३२ जेठ २०७२ मा चिनियाँ महिला याङ होङ ९८ हजार पाँच सय डलरसहित विमानस्थलमै पक्राउ परेकी थिइन् ।

१ माघ २०७३ मा २ लाख ६० हजार अमेरिकन डलर, एक लख १८ हजार यूरो र केही अष्ट्रेलियन डलरसहित रसुवातर्फ जाँदै गरेका तीन चिनियाँलाई प्रहरीले नागढुंगामा पक्राउ गरेको थियो । बा १ य १२३२ नम्बरको गाडीमा उनीहरू रसुवानाका हुँदै चीन जाने क्रममा थिए ।

१० भदौ २०७२ मा विमानस्थलमा एक चिनियाँ दुई करोड २५ लाख बराबरको विदेशी मुद्रासहित पक्राउ परेका थिए । ७४ हजार अमेरिकी डलर,

७६ हजार यूरो, ४८ हजार स्वीस फ्रेङकसहित यी वाङ पक्राउ परेका थिए ।

१० वर्षअघिदेखि नै चिनियाँहरू नेपालबाट अवैध डलरको कारोबारमा संलग्न रहेको प्रहरी तथ्याङकमा देखिन्छ । १८ असोज २०६७ मा चिनियाँ नागरिक कोविन लि ४० हजार डलरसहित भक्तपुरमा पक्राउ परेका थिए ।

२०६८ को पुसमा भक्तपुरको जगातीबाट ९७ हजार दुई सय २३ डलरसहित प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले तातोपानी नाका हुँदै डलर तस्करीको प्रयास गरेका थिए ।

२०६७ कै असोजमा तीन लाख अमेरिकन डलरसहित तीन चिनियाँलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो । त्यतीबेला तातोपानी नाकामा पटक पटक ठूलो परिणाममा डलरसहित चिनियाँहरू पक्राउ परेको प्रहरी अधिकारीहरू बताउँछन् ।

वन्यजन्तुको प्रमुख गन्तव्य

वन्यजन्तु तस्करीको प्रमुख गन्तव्य चीन हुने गरेको छ । यस्तो गिरोहमा पनि चिनियाँहरूको संलग्नता बढ्दो छ । डेढ वर्षअघि अफ्रिकाको कंगोबाट टर्की हुँदै एक सय ६२ केजी सालकको खपटा तस्करीमा समेत दुई चिनियाँको संलग्नता खुलेको थियो । १५ माघ २०७४ मा विमानस्थलबाट सालकको खपटासहित चिनियाँ नागरिकहरू क्वी जिओरोङ र क्वी लिबाओलाई पक्राउ गरेको थियो ।

४ भदौ २०७५ मा समुद्री घोडा तथा बाघको छालासहित तीन जना चिनियाँ नागरीकलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ । काठमाडौं वान होटलका सञ्चालक चिनियाँ नागरिक चेन क्आङलाई काठमाडौंको ठमेलस्थित उनकै होटलबाट परीसरबाट खटिएको टोलीले पक्राउ गरेको थियो । उनको साथबाट समुद्री घोडा ३०० ग्राम यार्सागुम्बा ९० ग्राम सुनाखरी ३३० ग्राम तथा विभिन्न जडीबुटी साढे ६ केजी बरामद भएको छ ।

त्यस्तै उनकै सहयोगीहरू बाघको हड्डीसहित १८ वर्षीय जिन वाई तथा वर्ष १९ को झाङ यु ताईनलाई परिसरले पक्राउ गरेको हो । आठ जेठ २०६७ मै चिनियाँ नागरिकसहितको एक समूह ४६ किलो सालकको खपटासहित पक्राउ परेको थियो । चिनियाँ नागरिक जुजी याङबालाई जिल्ला अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो । उनी चार वर्षअघि जेलबाट भागेकोमा हालसम्म पक्राउ परेका छैनन् । गत बैशाखमा मात्र रसुवामा चिनियाँ नागरिक याङ चलाई घोरलको मासुसहित पक्राउ परेका थिए । ‘वन्यजन्तुका अंगको विश्वमा मुख्य बजार नै चीन हो,’ नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्,‘८÷१० वर्ष पहिले नै यस्ता अपराधमा चिनियाँको संलग्नता देखिदै आएको छ ।’ चीनमै वन्यजन्तुका अंग तस्करीका लागि अन्तराष्ट्रिय गिरोहले समेत नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएको प्रहरी अधिकारीहरू बताउँछन् ।

अवैध अस्पताल सञ्चालन

चिकित्सा क्षेत्रमा समेत चिनियाँहहरूको अपराध गरेको खुलेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले १६ फागुन २०७४ मा १३ जना चिकित्सकलाई पक्राउ गरेको थियो । नेपालमा अनुमतिबिना नै चिकित्सकी कार्य गरेको भन्दै ठमेलको एपोलो इन्टरनेशनल पोलिक्लिननिक, बौद्धको चाइना ग्रेट वाल हेल्थ सेन्टर, चाइनाज् पिपल्स हस्पिटल र चाइना डेन्टल अस्पतालमा कार्यरत चिकित्सकहरू पक्राउ परेका थिए । अहिले पनि कतिपय चिनियाँहरू अनाधिकृत रूपमा अस्पताल सञ्चालन गरेर बसेको उजुरीमा सिआईबीले अनुसन्धान गरिरहेको छ ।

लागूऔषधमा पनि

लागूऔषध कारोबारमा समेत नेपालमा केही चिनियाँ पक्राउ परेका छन् । अवैध रूपमा नेपाल मेडिकल प्राक्टिस गरेको आरोपमा कतिपय चिनियाँ पक्राउ परेका थिए ।

१५ जेठ २०७३ मा लागूऔषध नियन्त्रण ब्यूरोले तीन केजी कोकिनसहित चिनियाँ नागरिक चुन म्यानलाई पक्राउ गरेको थियो । जसमा संलग्न केही व्यक्तिहरू चीनमै रहेको खुलेको थियो । नेपालबाट चीनमा चरेश तस्करीका घटना समेत देखिएको लागूऔषध नियन्त्रण ब्यूरोको अनुसन्धानमा खुलेको थियो ।

अतिथिको आवरणमा अपराध

नेपालमा विदेशीलाई अतिथिको रूपमा सम्मान गर्ने चलन छ । त्यहीकारण विदेशीहरूलाई निगरानी गर्ने संयन्त्र समेत बनेको छैन । जसको फाइदा उठाउँदै अतिथिको भेषमा अपराध बढेको छ ।

नेपालमा चिनियाँहरूको आगमन बढेसँगै अपराध पनि बढेको हो । भारतपछि नेपाल आउने विदेशीमा चिनियाँहरू पहिलोस्थानमा छन् । चिनियाँ नागरिकलाई त सरकारले भिसा शुल्क समेत नलिने गरेको छ । चिनियाँ पर्यटकलाई नेपालमा आकर्षित गर्न यो भिसा शुल्क नलिने निर्णय गरिए हो । जसले पर्यटकसँगै अपराध पनि भित्रन थालेको छ ।

अध्यागमन विभागले विदेशी पर्यटकका गतिविधि निगरानीका लागि गत वर्ष कार्यविधि बनाएको थियो । तर, कान्र्यान्वायन भने हुन सकेको छैन । विदेशी पर्यटकलाई निगरानी गर्ने संयन्त्र नहुँदा नै यसरी अपराधमा चिनियाँहरूको संलग्नता बढेको पूर्व एआईजी भण्डारीको विश्लेषण छ । ‘अध्यागमन बायोमेट्रिक प्रणाली छैन, पर्यटकहरूलाई निगरानीको संयन्त्र छैन,’ उनी भन्छन्,‘अर्काे कुरा हाम्रो देशमा प्रयोग भएका फायरवालहरूमा कमजोर प्रविधि छ, जसकारण ह्याकिङजस्ता घटना बढेका हुनसक्छन् ।’

Published: 3 September 2019 | Naya Patrika

Back to list

;