s

नेपालका तीन महिला चार महिनादेखि दक्षिण अमेरिकी मुलुकमा बन्धक

Year of Publication: 2 August 2023 | Naya Patrika

Published by: CESLAM

नेपाली तीन महिला चार महिनादेखि दक्षिण अमेरिकास्थित क्यारेबियन टापु ट्रिनिडाड एन्ड टोबागोको पियारको अन्तर्राष्ट्रिय विमानस्थलको हिरासतमा रहेका छन् । उनीहरूलाई विमानस्थलको अध्यागमनले नभई क्यारेबियन एयरलाइन्सका सुरक्षाकर्मीले बन्धक बनाएका हुन् ।

वैदेशिक रोजगारको सिलसिलामा अर्को गन्तव्यका लागि हिँडेका मकवानपुरकी ३५ वर्षीया तीर्था लामा वाइबा (पासपोर्ट नम्बर ०७२८७८१०, सिन्धुपाल्चोककी ४४ वर्षीया सेरसाङ लामा (पासपोर्ट नम्बर ०६९०२४००) र सिन्धुपाल्चोककी ४० वर्षीय याङ्जेन शेर्पा (पासपोर्ट नम्बर ०७८२९३७४) ट्रिनिडाड एन्ड टोबागोमा अमानवीय रूपमा बन्धक बनाइएका छन् । चार महिनापछि परिवारसँग अप्रत्यक्ष सम्पर्कमा आए पनि उनीहरूलाई कसैसँग भेट गर्न दिइएको छैन ।

ट्रिनिडाड एन्ड टोबागोमा होटेल व्यवसाय गर्दै आएका काभ्रेका तेज लामाले अप्रिलदेखि तीनजना महिला थुनिएको र उनीहरूलाई बाहिर निकाल्ने प्रयास सफल नभएको जानकारी दिए । ‘उनीहरू अध्यागमनको हिरासतमा रहेको सुनेपछि हामीले पत्ता लगाउने प्रयास गर्‍यौँ । मैले धेरैपटक सम्पर्क गरेर खोजीनीति गरेपछि थाहा भयो कि उनीहरूलाई क्यारेबियन एयरलाइन्सको सुरक्षा टिमले थुनेर राखेको छ,’ लामाले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘एयरपोर्टमै क्यारेबियन एयरलाइन्सको कार्यालय र सुरक्षाकर्मीहरू बस्ने ठाउँमा अमानवीय रूपमा थुनेर राखेको पत्ता लागेको छ ।’

लामाले क्यारेबियन एयरलाइन्सका अधिकारीसँग कुराकानी गरेर नेपालतर्फ डिपोर्ट गर्ने प्रयास गरेको, तर असफल भएको बताए । ‘मैले चासो राख्दा क्यारेबियन एयरलाइन्सको सुरक्षाकर्मीले आफन्त हौँ भनेर सोधे, मैले आफन्त होइन, चिनेकै दाजुभाइ हुँ भन्दा कुरा गर्दैनौँ भने,’ लामाले सुनाए ।

ती महिला ट्रिनिडाड एन्ड टोबागो पुगेर त्यहाँबाट जमैका टापु पुगेका रहेछन् । ‘त्यहाँबाट डिपोर्ट भएर टोबागो ल्याइएको रहेछ । त्यहाँबाट बाहिर निस्कन पाएका छैनन्,’ लामाले भने, ‘उनीहरूले अमेरिका जान यो बाटो प्रयोग गरेको हुन सक्छ । तर, ट्रिनिडाड एन्ड टोबागोबाट अमेरिका जान सजिलो छैन ।’ लामाका अनुसार ट्रिनिडाड एन्ड टोबागोबाट चार महिनाअघि १२ जना नेपाली भागेका रहेछन् । ‘नेपालीहरू भागेपछि अहिले पक्राउ परेका तीनजनालाई कसैसँग सम्पर्क गर्न नदिने गरी राखिएको भन्ने सुनिएको छ । अब परराष्ट्र मन्त्रालयले काठमाडौंबाटै प्रयास नगरी उनीहरू निस्कन मुस्किल छ,’ लामाले भने ।

हिरासतमै रहेकामध्ये तीर्था लामाले एकजना स्पेनिसमार्फत लेखेको चिठी तेज लामाकहाँ पुगेको थियो । चिठीमा तीर्थाले ट्रिनिडाड एन्ड टोबागो विमानस्थलमा तीनजना महिलालाई अमानवीय रूपमा राखेको उल्लेख गरेकी छिन् । त्यहाँ भारतीय, पाकिस्तानी र अजरबैजानी नागरिक पनि पुगेको, तर उनीहरू सबैको उद्धार भइसकेको उनले लेखेकी छिन् । तीर्थाले घाम नदेखिने अँध्यारो कोठामा राखेको र यातना दिएको उल्लेख गरेकी छिन् ।

‘सेक्युरिटीले गो ब्याक होम भन्छ । मोबाइल दश मिनेटलाई देऊ टिकट गर्छु भन्दा पनि दिँदैन । हामी तीनजनालाई एकदम हप्काउँछ,’ उनले श्रीमान्को नाममा लेखेको चिठीमा उल्लेख छ, ‘फलामको रड बोकेर ३०–३० मिनेटमा ढोका खोल्छ, धम्की दिन्छ । पहिला त सुपरभाइजर आउँथ्यो । अहिले अरू केटाहरूको रुममा मात्र जान्छ, हामीलाई भेट्न मान्दैन । किन यसो गरेको, हामीले के बिगारेका छौ्रँ भन्दा अध्यागमनले राखेको हो, हामीले होइन भन्छ ।’ सबै कोठामा रिमोट रहेको, तर उनीहरूकोमा नरहेको चिठीमा लेखिएको छ ।

तेजलाई उनीहरूले चार महिनाअघि ट्रिनिडाड एन्ड टोबागोमा भेटेका थिए । ‘हामीसँग घुमघाम गरेपछि उनीहरू सम्पर्कबाहिर गए । म पनि आफ्नै रेस्टुरेन्ट व्यवसायमा व्यस्त भएँ,’ लामाले भने । उनीहरू १ अप्रिलमा त्यहाँ पुगेको र १५ दिन आफूसँगै रहेको लामाले बताएका छन् ।

नेपाल र ट्रिनिडाड एन्ड टोबागोबीच ६ जुन २०२२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यो भेनेजुएलाको पारिपट्टि छ । लामाका अनुसार विगतमा धेरै नेपालीहरू अध्यागमनको हिरासतमा थिए । अहिले तीनजना महिला मात्रै बाँकी छन् । लामाले उनीहरूका आफन्त सम्पर्कमा आएको, तर उद्धारका लागि जाने अवस्था नरहेको बताए । ‘क्यारेबियन एयरलाइन्सका सुरक्षाकर्मी सम्पर्कमै आउँदैनन्, आए पनि कुराकानी गर्दैनन् । त्यहाँबाट डिपोर्ट गरेर नेपाल पठाइदिन पनि मान्दैनन् । किन यस्तो भएको हो म पनि अन्योलमा छु,’ लामाले भने, ‘विगतमा धेरै नेपालीलाई कठिन अवस्थाबाट उद्धार गरेर फर्काइयो । तर यी तीनजना महिलालाई त्यहाँबाट बाहिर निकाल्न सकिएन ।’

युद्धग्रस्त मुलुकको सुरक्षामा नजान परराष्ट्रको आह्वान

परराष्ट्र मन्त्रालयले भारतीय र ब्रिटिस सेनामा बाहेक अन्य मुलुकको सेनामा नेपाली नागरिक भर्ती हुन दिने नेपाल सरकारको नीति नरहेको प्रस्ट पारेको छ । युद्धग्रस्त रुस र युक्रेनको सेनामा नेपाली नागरिक भर्ती भएका विवरण आइरहेका वेला परराष्ट्रले युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजान नेपाली नागरिकहरूलाई आह्वान गरेको छ ।

‘केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चारमाध्यममा नेपाली नागरिकहरू विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ ।’

नेपाल, भारत र बेलायतबीच १९४७ मा भएको त्रिपक्षीय सन्धिअनुसार नेपाली नागरिक बेलायत र भारतको सेनामा भर्ती हुँदै आएका छन् । भारतले अग्निपथ योजना लागू गरेपछि तीन वर्षदेखि भारतीय सेनामा नेपाली नागरिकको भर्ती रोकिएको छ । बेलायतमा भने नेपालीहरूको भर्ती जारी छ । ‘कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजानुहुन सबैमा अनुरोध गरिन्छ,’ परराष्ट्रले भनेको छ, ‘यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहनसमेत सबैमा सूचित गरिन्छ ।’

Published on: 2 August 2023 | Naya Patrika

Link

Back to list

;