s

नेपालीको शव डेढ वर्षदेखि इराकमा

Year of Publication: 25 November 2019 | Kantipur

Published by: CESLAM

जनकराज सापकोटा

इराकको बग्दादस्थित एक अस्पतालमा २४ वर्षीया सविना राईको शव राखेको करिब डेढ वर्ष भइसक्यो । ०७५ असारतिर संखुवासभा दिदिङकी सविना मानव तस्करको फन्दामा परेर बग्दाद पुगेकी थिइन् । उनी ०७५ साउन ३ मा काम गरिरहेकै घरको सिलिङमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । घरेलु कामदारको हैसियतमा काम गरिरहेकी उनको मृत्युलाई आत्महत्या मान्न आफन्त तयार छैनन् । नेपाल सरकारले चासो नदिँदा अहिलेसम्म न उनको मृत्युको कारण पुष्टि हुन सकेको छ न शव ल्याउन सकिएको छ ।

सविनाकी दिदी ग्रीष्मा काठमाडौंकै एक निजी कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत छिन् । सानैमा आमा बितेपछि र बाबुले छाडेपछि दिदीबहिनी आफन्तको संरक्षणमा हुर्किंदै थिए । सविना बेलाबेला परिवारको सम्पर्कबाट हराउँथिन् । ‘बहिनीलाई कसले कसरी इराक पुर्‍यायो भन्ने पनि थाहा भएन, मृत्युको दुई सातापछि मात्रै हामीले त्यस्तो खबर पायौं,’ ग्रीष्माले सुनाइन् । घरधनी कामको सिलसिलामा टर्की गएका बेला सिलिङमा झुन्डिएको अवस्थामा फेला परेको सविनाको शव नेपाल ल्याउने प्रयास गरिरहेका ताइवाननिवासी नेपाली आङकामी शेर्पा बताउँछन् । सविनाको मृत्यु आत्महत्या नभएर कर्तव्य ज्यान हुन सक्ने भए पनि पुष्टि गर्न नसकिएको उनको भनाइ छ । ‘सविनालाई लैजाने एजेन्टले पनि बारम्बार शव नेपाल झिकाइदिन्छु भन्दै झुलाइरहेको छ,’ उनले भने ।

बग्दादस्थित टुब अलादी अस्पतालमा रहेको बहिनीको शव कसरी नेपाल ल्याउने ? त्यसमा लाग्ने खर्च कसले बेहोर्ने भन्नेबारे ग्रीष्मालाई उति धेरै थाहा छैन । ८ कक्षा मात्रै पढेकी सविनालाई कसले प्रलोभनमा पारेर त्यहाँ पुर्‍यायो भन्ने प्रश्नको उत्तर पनि उनीसँग छैन । उनलाई अहिले शव ल्याउन पाए विधि पुर्‍याएर दाहसंस्कार गर्न हुन्थ्यो भन्ने लागेको छ ।

कान्तिपुरलाई प्राप्त केही अडियो प्रमाणमा सविनालाई इराक पुर्‍याउने एजेन्टका रूपमा गणेश कटवाल जोडिएको देखिन्छ । ०७३ मा ६ जनालाई अवैध रूपमा इराक पुर्‍याएर अलपत्र पारेको घटनाको अनुसन्धानमा उनी तानिएका थिए । गणेशले सविनाको शव आफूले नै नेपाल ल्याइदिने आश्वासन दिइरहेका छन् । सविनाका केही आफन्तले दिल्लीमा रहेको बताउने गणेशसँग बारम्बार ताकेता गरेको देखिन्छ ।

ग्रीष्माले बहिनीको शव स्वदेश झिकाउन परराष्ट्र मन्त्रालयको कन्सुलर शाखादेखि नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोलाई समेत गुहारिसकेकी छन् । ‘सबैले हुन्छ भन्छन्, तर यतिका समय भइसक्यो शव ल्याउन कुनै पहल भएको छैन ।’ इराकमा नेपालको कूटनीतिक उपस्थिति नभएका कारण कुवेतस्थित दूतावासले इराक मामिला हेर्दै आएको छ । सविनाको शव झिकाउने विषयमा ०७५ भदौ २० मा कुवेतस्थित नेपाली दूतावासमा पत्राचार गरिएको कन्सुलर विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए । ‘यस विषयमा भएको प्रगतिबारे फेरि पनि ताकेता गर्नेछौं,’ उनले भने । तर कुवेतस्थित दूतावासले सविनाको शव ल्याउन पर्याप्त पहल नगरेको इराकस्थित नेपालीहरू बताउँछन् ।

कुवेतस्थित दूतावासले सविनाको शव ल्याउने विषयमा २०१८ सेप्टेम्बर ५ मा परराष्ट्र मन्त्रालयलाई समेत पत्राचार गरेको थियो । तर त्यसपछिका महिनामा उल्लेख्य प्रयत्न भएको देखिँदैन । अहिलेसम्म सविनाको शव इराकमै रहेको कुवेतस्थित दूतावासकी द्वितीय सचिव जानकी ओझाले बताइन् । ‘शव नेपाल पठाउन स्पोन्सरको कागज र मेडिकल शुल्क तिर्नुपर्छ । तर कति तिर्नुपर्ने हो, त्यसबारे हामीले जानकारी पाएका छैनौं,’ उनले भनिन् । सविनाको शव राखिएको अस्पतालमा सेवा शुल्कबापत मात्रै ४२ सय अमेरिकी डलर (करिब ५० हजार रुपैयाँ) को बिल उठिसकेको आङकामी बताउँछन् । सविनाको शव झिकाउन इराकी सरकारी निकायलाई पत्राचार गरिसकिएको ओझाले बताइन् ।

प्रतिबन्धित देशमा नेपालीको भीड

०६१ भदौमा वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपालीको नृशंस हत्या भएलगत्तै सरकारले ०६१ भदौ १६ मा इराक जान प्रतिबन्ध लगायो । पछि ०६७ साउन १२ मा श्रम मन्त्रालयले इराकमाथिको प्रतिबन्ध फुकुवा गरे पनि केही समयपछि फेरि प्रतिबन्ध लगायो । तर एजेन्टहरूले भारत र अन्य देशको अवैध बाटो हुँदै इराक पुर्‍याउने क्रम रोकिएको छैन ।

गत वर्ष माघ १६ मा मात्रै भारतीय प्रहरीले म्यानमारको सीमा क्षेत्र टेङनेपलबाट १ सय ४७ महिलासहित एक सय ७९ नेपालीलाई उद्धार गरी नेपाल पठाएको थियो । उद्धार गरिएकामध्ये ५७ जनाको गन्तव्य इराक देखिएको थियो, जसमा ४१ महिला थिए । यो तथ्यांकले प्रतिबन्धित इराक जान खोज्नेहरूको लस्कर कति ठूलो छ र त्यसमा महिलाको हिस्सा कस्तो छ भन्ने देखाउँछ ।

Published on: 25 November 2019 | Kantipur

Link

Back to list

;