s

नेपाली राजदूतावास र कूटनीतिक दृष्टि

Year of Publication: 17 December 2019 | Setopati

Published by: CESLAM

तथ्याङ्कलाई केलाउने हो भने यतिबेला पचास हजारको संख्यामा नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनमा रहेको देखिन्छ।

पछिल्लो वर्ष नेपाली विद्यार्थीले अस्ट्रेलियाको शैक्षिक उद्योगमा एक अर्ब ६० करोड रुपैयाँ खर्चेको स्पष्ट देखिन्छ। यो अस्ट्रेलियाको ३४ बिलियन डलरको शैक्षिक उद्योगमा महत्वपुर्ण हिस्सा पनि हो। अस्ट्रेलियामा अध्ययन गर्न आउने विद्यार्थीको संख्यात्मक हिसावमा चीन र भारतपछि नेपाल तेस्रो नम्वरमा रहेको छ।

नेपाली समुदाय बढ्दै गएको अस्ट्रेलिया र नेपालको कुटनीतिक सम्वन्ध केलाउने हो भने हामी लगभग शून्यतामा रहेको आभास गर्न सक्छौँ। वर्षेनी अस्ट्रेलियाले नेपाललाई गर्ने एउटा सानो सहयोग बाहेक हाम्रो अन्य दौत्य सम्वन्ध खासै उपलब्धीमुलक छैन।

सन् १९६० देखि कुटनीतिक सम्वन्ध स्थापना गरेको नेपालले अष्ट्रेलियन राजधानी क्यानबेरामा सन् २००७ को मार्चमा आफ्नो दूतावास खोलेको हो। दूतावास स्थापनासँगै अस्ट्रेलियामा बस्ने नेपालीले मुलुकसँग प्रत्यक्ष जोडिएको अनुभव गरेका थिए। त्यतिबेला सानो समुदायमा सीमित दूतावास यतिखेर लाखौं नेपालीको आशा र भरोसाको केन्द्रबिन्दु बनेको छ।

भिसा र पासपोर्टमै सीमित हुने हो भने राज्यले वर्षेनी करौडौं खर्च गरेर दूतावास खोल्नुको कुनै औचित्य रहँदैन। देश र दूतावासको क्षेत्राधिकारभित्र रहेका नेपाली नागरिकको हित र आपतविपतमा तुरून्तै पहल कदमी चाल्नु राजदूतावास स्थापनाको मुख्य उद्देश्य पनि हो।

देशको विकास र आर्थिक विस्तारका अलवा दुई देशबीचको आपसी सम्वन्धलाई प्रगाढ बनाउनुका साथै नेपाली मुलका नागरिकलाई देशको हितमा प्रोत्साहन गर्ने कार्य दूतावासको हो। मुलुकको पहिचान उजिल्याउने सवालमा राजदूतावासको भूमिका महत्वपूर्ण रहने गर्दछ।

करिब डेढ लाख नेपाली बस्ने अस्ट्रेलियामा नेपालले राजदूतावास खोलेको एक दशक हुन लागिसकेको छ। पासपोर्ट र भिसासँगै यसले विभिन्न तह र तप्कामा आफ्नो भूमिका निर्वाह गरे पनि विद्यार्थीको सवालमा कुनै सक्रियता अझसम्म देखिएको छैन। उच्च अध्ययनको आकर्षक केन्द्र अष्ट्रेलियामा नेपाली विद्यार्थीको घुइँचो दिनानुदिन बढिरहेको छ। नेपाली समाज फराकिलो बन्दै गर्दा समस्याहरु पनि बढ्न थालेका छन्।

नुबझिकन वा गलत बुझाईमा अस्ट्रेलिया आएर दुःख पाउनेको संख्या प्रशस्तै छ। कोठा, काम र अचाक्ली शैक्षिक शुल्कले मानसिक समस्या थपिँदा विद्यार्थीहरु दुव्र्यसनतिर धकेलिएका उदाहरण प्रशस्तै भेटिन्छन्।


कथा र व्यथाका कोठरी पनि सुनिन थालेका छन्। दूतावासको प्राथमिकतामा स्थापित नेपाली समुदाय भन्दा पीडामा परेका विद्यार्थी पहिलो नम्बरमा हुनुपर्छ। विद्यार्थीका समस्या र गुनासालाई दूतावासले नजिकबाट नियाल्न सक्नुपर्छ। अहिलेको आवश्यकता पनि हो यो। विद्यार्थीको पीडामा मलम लगाउन सकेमात्र दूतावास हाम्रो अनि राम्रो बन्न सक्छ।

अकालमा मृत्युवरण गरेका नेपाली युवाहरुको लागि काँध बन्नुपर्छ, अनि पीडा र अभावमा छटपटाउनेहरुका लागि साथ बन्नसक्नुपर्छ दूतावास। सानो घेरा र क्षेत्रीयतामा गम्ने होइन, देशको फराकिलो नाममा रम्ने हुनुपर्छ।

राज्यले करौडौं खर्च गरेर स्थापना गरेको दूतावास व्यक्तिगत हितभन्दा देश र मुलुकको हितमा हुनुपर्छ। हामीले दूतावाससँग खोजेको यति मात्रै हो।

अस्ट्रेलियाले एशियाका केही देश र युरोप अनि दक्षिण अमेरिकी देशहरुलाई वर्किङ होलिडे मेकर वा डब्ल्युएचएम नामक भिसा जारी गर्ने गर्दछ। पर्यटकको रूपमा अस्ट्रेलियाका ग्रामीण र दुर्गम स्थान जानेहरूलाई काम गर्न र दाम कमाउन एक वर्षको भिसा दिने प्रावधान छ।

पहिलो वर्ष भिसाका सर्त पूरा गरिए दोस्रो वर्षको लागि पनि भिसा बढाइने गर्दछ। स्कट मरिसनको सरकारले अहिले तेह्र राष्ट्रहरूसँग दुवै राष्ट्रलाई फाइदा हुने गरी उक्त भिसा व्यवस्थालाई अगाडि बढाउने प्रयास गरिरहेको छ, यस्तो मौका नेपालले पनि प्राप्त गर्न सक्छ, प्रयास गर्ने हो भने।

दोस्रो वर्षको लागि आफ्नो वार्किङ होलिडे मेकर भिसा बढाउने विदेशीहरूको सङ्ख्यामा वृद्धि हुनु सकारात्मक रहेको अध्यागमन मन्त्री डेभिड कोलम्यानले बताएका छन्। कोलम्यान नेपाली समुदायसँग निकै चिरपरिचित व्यक्तित्व पनि हुन्। उनले पछिल्लो निर्वाचनमा आफ्नो दलले जिते नेपाली सामुदायिक भवन बनाउन दश लाख डलर दिने घोषणा समेत गरेका थिए। उनले वार्किङ होलिडे मेकर भिसामा देशहरुको संख्या बढेको आफूले हेर्न चाहेको अभिव्यक्ति समेत दिएका छन्। हाल ४४ राष्ट्रहरूसँग यस विषयमा अस्ट्रेलियाको सहमति बनेको छ।

ग्रामीण क्षेत्रमा घुम्ने र काम गर्न पनि पाउने भिसामा आउनेहरूको सूचीमा नेपाल पर्नसक्छ, तर यसको लागि कुटनीतिक प्रयासको जरुरी छ। खाडी देशमा महिनाको तीस चालीस हजारमा पसिना बगाउने नेपालीको लागि अस्ट्रेलियाको दुई वर्षे वर्किङ होलिडे भिसा साँच्चिकै उपलब्धीमुलक बन्न सक्छ। अस्ट्रेलियामा मेहनत गर्नेले महिनामा दुई–तीन लाख कमाउन सक्ने भएकाले यसले हाम्रो जस्तो मुलुकलाई निकै फाइदा पुग्न सक्छ।

यतिखेर ४३ हजार विदेशीले अस्ट्रेलियामा वर्किङ होलिडे भिसा अन्तर्गत काम गरिरहेका छन्। ग्रामीण अस्ट्रेलियामा रहेको गम्भीर श्रमिक अभावको समस्या समाधानका लागि थप योजनाहरू ल्याइनु पर्नेमा जोड दिइरहेको सरकारी योजना भित्र नेपालजस्तो मुलुकले आफूलाई पार्न सके मात्र हाम्रो कुटनीतिको सम्वन्धले सार्थकता पाउने थियो। अन्यथा भिसा, पासपोर्ट, भत्ता अनि सत्ताको सीमितताभित्रै घुमिरहने हाम्रो कुटनीतिबाट न राज्यलाई फाइदा हुनेछ, न त प्रवासी नेपालीलाई नै।

Published on: 17 December 2019 | Setopati

Link

Back to list

;