s

नेपाली कामदारबाट अर्बौं ठगियो, छानबिन होस्ः मलेसियन सांसद कस्तुरी

Year of Publication: 23 July 2018 | Onlinekhabar

Publication Type: NEWS

Published by: CESLAM

मलेसियाकी डेमोक्रेटिक एक्सन पार्टी (डीएपी)की सांसद कस्तुरी पट्टोले कामदारबाट पाँच अर्ब नेपाली रुपैंयाभन्दा धेरै रकम ठगिएको विषयमा मलेसियाको गृहमन्त्रालयले छानबिन गर्नुपर्ने माग राखेकी छिन् । उनले पाँच वर्षदेखि नेपाली कामदार मलेसिया ल्याउने क्रममा अर्बौं ठगि भएको हुनसक्ने भन्दै त्यसबारेमा छानबिन गर्न मलेसियाको गृहमन्त्रालयलाई आग्रह गरेकी हुन् ।
 
मन्त्रालयले यसरी ठग्ने ‘साढेको सिङमा समातेर नियन्त्रण गर्नुपर्ने’ बताउँदै अध्यागमन विभागबाट सुरु गरेर विश्वव्यापी रुपमा छानबिन गर्नुपर्ने उनले बताइन् । अध्यागमनले गर्नुपर्ने काममा मलेसियाली कम्पनीहरुको माध्यमबाट धेरै पैसा ठगिएको उनले बताइन् । अमेरिकाको बेस्टिनेट एसडिएन बिएचडी कम्पनीसँग आबद्ध भएका नेपाली कम्पनीहरुले भिसा र बायोमेटि्रक जाँचको लागि भन्दै अर्बौं ठगिएको नेपाली सञ्चारमाध्यममा प्रकाशित भएपछि कस्तुरीले यसबारेमा छानबिन गर्नुपर्ने आवाज उठाएकी हुन् ।
 
श्रम मन्त्री गोकर्ण बिष्टले यस्ता सिन्डिकेटधारी संस्था खारेजी घोषणा गर्दै गृहमन्त्रालयमार्फत कारवाही चलाएका छन् । मलेसियन सांसद कस्तुरीले पूर्ववर्ती वारिसान नेसनल पार्टीका नेताहरुको समेत मिलेमतोमा ठगी भएको आरोप लगाएकी छिन् । ‘यस्तै माफियातन्त्रको कारण नेपाल सरकारले उनीहरुको कामदारलाई मलेसिया पठाउन छोडेको हुनसक्छ’ उनले भनिन् ।
 
नेपाल सरकारले दुई महिनाअघि मलेसिया कामदार पठाउने क्रममा चरम ठगी भएको भन्दै मलेसिया कामदार पठाउने प्रक्रिया बन्द गरेको थियो ।
 
Published on: 23 July 2018 | Onlinekhabar

Back to list

;