s

नेपाली केयर गिभर खोज्दै जापानी रोजगारदाता

Year of Publication: 22 January 2018 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

रुद्र खड्का

चिनियाँ र भियतनामीको चासो घट्दै गएपछि जापानी रोजगारदाताले नेपालमा केयर गिभर खोज्न थालेका छन् ।

जापानमा वृद्धवृद्धाको संख्या निरन्तर बढिरहेको र उनीहरूलाई रेखदेख गर्ने युवायुवतीको अभाव हुँदा जापानी रोजगारदाता सक्षम केयर गिभर खोज्दै नेपाल आइपुगेका हुन् । जापानी रोजगारदाता टोलीले विभिन्न गन्तव्यमा केयर गिभर पठाउने नेपालका मेनपावर लगायत निकायसँग छलफल सुरु गरेको छ । आइतबार जापानी रोजगारदाता टोली र वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीबीच जापानले खोजिरहेको केयर गिभर र उनीहरूको मापदण्डबारे छलफल भयो ।
 
जापानी रोजगारदाता कम्पनी टुसुवासा ग्रुपका अध्यक्ष कन आम्गासाले पछिल्लो समयमा जापानमा वृद्धवृद्धाको संख्या बढिरहेको र उनीहरूलाई रेखेदेख गर्ने जनशक्तिको आवश्यकता चर्केको बताए । ‘अहिलेसम्म जापानमा चिनियाँ र भियतनामी केयर गिभरबाट वृद्धवृद्धाको रेखदेख हुँदै आइरहेको थियो,’ उनले भने, ‘पछिल्लो समयमा चीन र भियतानामका केयर गिभरको जापानमा काम गर्ने चाहना घट्दै गइरहेको छ ।’
 
चीन र भियतनामबाट जापान पुग्ने केयर गिभरको चासो घट्न थालेपछि जापानी रोजगारदाताको ध्यान नेपालतिर आकर्षित भएको जापानको अर्को रोजगारदाता रिहिनोकितोकी अध्यक्ष मसाको आकामुमाले बताइन् । ‘चिनियाँ र भियतनामी कामदारको चासो घटेपछि जापानी रोजगारदाताले एसियाका फिलिपिन्स, इन्डोनेसिया, भारत जस्ता देशका नागरिक खोज्न पनि सक्थे,’ उनले भनिन्, ‘नेपाली महिला र जापानी महिलाको स्वभावमा कैयौं समानता देखिएकाले जापानी रोजगारदाताको चासो नेपालतिर भएको हो ।’
 
जापानी रोजगारदाताले नेपाली महिलालाई केयर गिभरमा लैजान खोजे पनि कसरी र कुन प्रक्रिया अवलम्बन गर्ने भन्ने यकिन भएको छैन । सन् २००३ देखि जिट्को नामक संस्थामार्फत नेपालबाट प्रशिक्षार्थी कामदार जापान जाने गरे पनि अनेक झन्झटका कारण रोजगारीका लागि जापान जानेको संख्या निकै कम छ । प्रशिक्षार्थी कामदारबाहेक विद्यार्थी भिसामा जापान जानेको संख्या केही बढी रहेको बताइन्छ । विद्यार्थी भिसामा जापान जानेलाई काम गर्न निकै कठिन हुन्छ । हालसम्म नेपालले जापानमा वर्किङ भिसामा कामदार पठाउन सकेको छैन ।
 
आर्थिक समृद्धि र विकासको दृष्टिकोणले निकै प्रगति गरेको जापान जाने प्रयासमा कैयौं युवायुवतीले लाखौं रकम खर्च गर्ने गरेको पाइन्छ । दलालको प्रलोभनमा परेर जापान जान पाइने ठानेका युवायुवती कानुनतः रोजगारीमा जान नसक्ने भएपछि अलपत्र पर्ने घटना बढिरहेको बेला जापानी रोजगारदाता नै कामदार खोज्दै नेपाल आएपछि कतिपयले सकारात्मक रूपमा लिएका छन् ।
 
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले आर्थिक रूपमा समुन्नत रहेको जापानका रोजगारदाताले कामदारको माग गर्नु सकारात्मक रहेको उल्लेख गर्दै सरकारले सहजीकरण गर्नुपर्ने बेला आएको बताए । ‘नेपालले अहिलेका गन्तव्य मुलुक फेरबदल गर्नुपर्ने आवाज उठिरहेको बेला कामदारलाई जापान पठाउने सवालमा सरकार गम्भीर देखिएको छैन,’ उनले भने, ‘अब पनि सरकार गम्भीर नहुने हो भने जापानको रोजगारी गुम्न सक्ने खतरा छ ।’
 
जापानी रोजगारदाताले नेपालबाट केयर गिभर लैजान खोजे पनि अहिले नै जापानी ऐन, कानुन भने परिवर्तन नहुने बताएका छन् । केयर गिभरका लागि कामदार लगिए पनि उनीहरूलाई प्रशिक्षार्थी कामदारको हैसियत नै प्रदान गरिने जापानी रोजगारदाताको भनाइ छ । जापानी रोजगारदाता अकामुमाका अनुसार हाल चीन र भियतनामबाट एक वर्षमा दुई लाख २० हजार जति कामदार जापान जाने गर्छन् ।
 
ती कामदारलाई पनि जापानले प्रशिक्षार्थी कामदारको पहिचान दिने गरेको र मासिक पारिश्रमिक सरदर एक लाख ५० हजार रुपैयाँ हुने गरेको बताइन्छ । चीन र भियतनामका कामदारले रोजगारदाताबाट प्राप्त गर्ने पारिश्रमिक वृद्धि हुन नसकेका कारण जापानको रोजगारीप्रति चासो घटउँदै लिएको बताइन्छ । संघका पूर्व महासचिव तथा जापानमा कामदार पठाउँदै आएका मेनपावर व्यवसायी कमल तामाङले जापानमा कामदार पठाउने प्रक्रिया निकै झन्झिटलो भएकाले नेपालबाट जापान जाने कामदारको संख्या वृद्धि हुन नसकेको बताए ।
 
नेपालले हालसम्म इजरायलमा मात्र केयर गिभरका लागि कामदार पठाउने गर्छ । दुई वर्षभित्र तीन सय केयर गिभरका लागि पठाउने तयारी गरिए पनि वैदेशिक रोजगार विभागको ढिलासुस्तीले एक सय जना मात्र इजरायल जान पाएका छन् । इजरायलको केयर गिभर युवायुवतीले मन पराएको बेला जापानको केयर गिभर पनि त्यस्तै आकर्षक हुने व्यवसायीले अपेक्षा गरेका छन् ।
 
जापानी रोजगारदाता अम्गासाले जापानको केयर गिभरका लागि वृद्धवृद्धाको रेखदेख गर्ने सामान्य तालिम लिएका र दश जोड दुई उत्तीर्ण गरेका महिला भए पुग्ने बताए । केयर गिभरका लागि जापान जान जापानीज भाषामा भने एन–४ अंक अनिवार्य प्राप्त गर्नुपर्ने र जापान पुगेको एक वर्षभित्र भाषामा सुधार गरी एन–३ अंक ल्याउनु पर्ने उनको भनाइ छ ।
 
म्यानपावर व्यवसायीले जापानले कामदार लैजाने प्रक्रियालाई सहज बनाउने हो भने जापानमा आवश्यक सबै केयर गिभर नेपालबाट पठाउन सकिने बताए । जापानका शिक्षण संस्था र रोजगारदाता कम्पनीलाई आवश्यक पर्ने कामदारबारे सहजीकरण गरिरहेकी नेपालस्थित जापानी राजदूतावासकी पूर्व कर्मचारी योको इतोले जापानको रोजगारी मलेसिया र खाडीको जस्तो नभएकाले सीप र दक्षतामा जोड दिनुपर्ने बताइन् ।
 
अध्ययनका लागि जापान पुगेका कैयन विद्यार्थी लुकेर बस्ने क्रम बढेकाले नेपालले त्यसमा ध्यान दिनुपर्ने इतोको भनाइ छ । जापानी रोजगारदाता अकामुमाले चीन र भियतनामले जापानमा कामदार पठाउँदा कुनै समस्या नभएको उल्लेख गर्दै नेपालले पनि जापानी कानुनलाई स्वीकार गर्दै सहमति अनुसार काम गर्ने हो भने  तुरुन्तै केयर गिभर लैजान रोजगारदाता र जापानका स्थानीय आतुर रहेको बताइन् ।
 
Published on: 22 January 2018 | Nagarik

Back to list

;